एट्लेटिको म्याड्रिड च्याम्पियन

बुखारेस्ट (रोमानिया), २९ वैशाख । घरेलु प्रतिद्वन्द्वी एथलेटिको बिल्बाओलाई ३–० ले पराजित गरी स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले पछिल्ला तीन वर्षमा दोस्रोपटक युरोपा लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
राडामेल फाल्काओको दुई तथा डिएगोले म्याड्रिडका लागि गोल गरे । फाल्काओले सात र ३४आंै मिनेटमा गोल गरेका थिए । उनले पछिल्ला दुई सिजनको यस प्रतियोगितामा २९ खेलमा २९ गोल गरेका छन् ।
कोलम्बियन स्ट्राइकर फाल्काओले गत संस्करणको फाइनलमा पोर्चुगलको एफसी पोर्टोका लागि विजयी गोल गरेका थिए । १२ गोलसहित उनी यस प्रतियोगिताका ‘हाइएस्ट स्कोरर’ भए ।
युरोपस्तरको दोस्रो ठूलो यस प्रतियोगिताको फाइनलमा यसपटक दुवै टोली स्पेनका थिए । युरोपको सबैभन्दा ठूलो प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको फाइनल भने १९ मेमा हुँदै छ । इङलिस क्लब चेल्सी र जर्मनी क्लब बायर्न म्युनिख यसको उपाधिका लागि भिड्दै छन् । दुई वर्षअघिको संस्करणमा फुल्हयामलाई पराजित गरी उपाधि जितेको एट्लेटिको म्याड्रिडले यस संस्करणका पछिल्ला १२ खेलमा सबैमा जित हात पारेको थियो ।
करिब ५२ हजार स्पेनिस फ्यानको उपस्थिति रहेको यस खेलमा एट्लेटिकोले अधिकांश समय नियन्त्रण कायम गरेको थियो ।
एट्लेटिकोका अर्जेन्टिनी प्रशिक्षक डिएगो सिमोन युरोपियन क्लब फुटबल उपाधि (युरोपा लिग र युरोपियन च्याम्पियन्स लिग) जित्ने युरोपबाहिरका चौथो प्रशिक्षक बने ।
युरोपबाहिरका अन्य तीन प्रशिक्षकले मात्र युरोपस्तरीय क्लब प्रतियोगिता जितेका छन् । उनीहरूमध्ये अर्जेन्टिनाका लुइस कार्निग्लिआले रियल म्याड्रिड, हेलेनिओ हेरेराले इन्टरमिलान र अलफ्रेडो डाइ स्टिफानोले भ्यालेन्सियालाई युरोपस्तरीय क्लब फुटबल प्रतियोगितामा उपाधि दिलाएका थिए ।
खेलाडी र प्रशिक्षकका रूपमा युरोपा लिग जित्ने भने सिमोन तेस्रो व्यक्ति भए । यसअघि सिमोनले सन् १९९८ मा इटालियन क्लब इन्टरमिलानमा खेलाडीका रूपमा युरोपा लिग (तत्कालीन युइएफए कप) जितेका थिए । डिनो जोफले सन् १९७७ मा युभेन्ट्सलाई खेलाडीका रूपमा र सन् १९९० मा युभेन्ट्सलाई नै प्रशिक्षकका रूपमा उपाधि दिलाएका थिए । उनीपछि हुब स्टेभेन्सले पनि यो उपलब्धि हात पारेका थिए । एपी

प्रतिक्रिया