जीवनदाता युवा

रगतको रङ रातो हुन्छ । बैंकमा करोडौँ रुपियाँ राखेर गोजीमा एटिएम खाँदेर हिँड्ने मान्छे अनि दिनभरि ज्याला गरेर ५०/६० रुपियाँ कमाउनेको पनि रगत रातै । समानताको वकालत गर्नेहरूलाई रगतको रङ राम्रै विम्ब बनेको छ । तर, त्यो प्रचारित र प्रचलित विम्बभन्दा पनि माथि उठेर मानवताको दृष्टिले रगतलाई हेर्नेहरू पनि छन् केही । तिनैमध्ये पर्छन् ती युवा, जो रगतका मामिलामा जुर्मुराएरै सक्रिय हुन्छन् ।
केही समयअघि पूर्वमा रगतको भाउ ह्वात्तै बढ्यो । बिरामीहरूले महँगो सेवाशुल्क तिरेर रगत किन्न पर्ने भयो । रगतजस्तो संवेदनशील कुरामा पेट्रोलमा जसरी मूल्य बढाउनु शोभनीय लागेन विराटनगरछेउछाउका युवालाई । अनि धर्ना कसे । ‘रगतमा बढाइएको सेवा शुल्क घटाऊ’ –उनीहरूको एउटै माग । हजारौँ मान्छे धरानमा जम्मा भएर हस्ताक्षर गरे । विभिन्न दबाब र आन्दोलन चलाए युवाले । अन्तत: रगत प्रदान गरेबापत लिइने मूल्य एक हजार दुई सय २० बाट आइपुग्यो सात सय ४० रुपियाँमा ।
विराटनगरका २२ वर्षे सरोज कार्कीलाई अहिले विराटनगर र आसपासका क्षेत्रबाट थुप्रै फोन आउँछ, रगत मिलाइदिनुपर्‍यो भन्दै । फेसबुक चलाउन बस्यो, रगतकै कुरा । इमेल चलायो, त्यहाँ पनि रगतकै माग । नहोस् पनि किन ? जोसिला तन्नेरीहरू मिलेर ‘युथ फर ब्लड’ नामको समूह नै बनाएका छन् । पूर्वतिरै हजारौँको समर्थन र सहभागिता छ, त्यस समूहमा अहिले ।
रगतका लागि यतिको सक्रियता किन त यी युवामा ? सरोज कार्कीले कारण खोले– ‘पहिला रहरका लागि गरियो, अब बाध्यता बनिसक्यो ।’ एकपटक उनका एक साथीलाई रगत चाहिएछ । उनले फेसबुकमार्फत रगत खोजे । पाए पनि । पछि रहर लागेरै फेसबुकमा ‘युथ फर ब्लड’ नामको ग्रुप बनाए । त्यसमा धेरै साथी बने र हुँदाहुँदा अभियानकै रूप लियो । यस ग्रुपले अहिलेसम्म दुई सय जनालाई ताजा रगत प्रदान गरेर ज्यान बचाइसकेको छ । अभियानले चार सय पिन्ट रगत त दान नै गरिसक्यो ।
रक्तदान गर्न युवालाई हौस्याउने काममा पनि अभियान उत्तिकै सक्रिय छ । कलेज–कलेजमा जागरण अभियान चलेकै छ । रक्तदानका लागि जुटेको जनसमर्थन र स्वयंसेवकलाई उनीहरूले अन्य सामाजिक क्षेत्रमा पनि प्रयोग गरिरहेका छन् । विराटनगरका युवा रञ्जन कर्माचार्य, नतासा शर्मा, निर्मल शर्मा, उमा दाहाल, सबिन चिमोरिया, विकास क्षत्रीहरूलाई अहिले यसमा भ्याइनभ्याइ छ । विराटनगरबाट सुरु भएको अभियान पूर्वका विभिन्न स्थान हुँदै काठमाडौंसम्म पनि भित्रिसकेछ । काठमाडौंमा उपासना अधिकारी यसका लागि कस्सिएकी छिन् ।
जुनसुकै बेला ‘रगत चाहियो’ भन्दै फोन आउन सक्छ । उनीहरू आवश्यक ग्रुपको रगत खोज्न थालिहाल्छन् । खर्च पनि अलिअलि हुन्छ । कसरी जुटाउलान् यी युवाले ? ‘सबै काम स्वयंसेवी तवरले नै हुने हो, कसैको सहयोग छैन,’ सरोज कार्की भन्दै थिए । आवश्यक पर्ने रकमको जोरजाम पनि उनीहरू रोचक तरिकाले गर्दारहेछन् । बैठकमा कोही ढिलो पुगेमा उसले एउटा एक रुपियाँ पर्ने चकलेट खानुपर्ने हुन्छ र त्यसबापत पाँच रुपियाँ तिर्नुपर्ने हुन्छ । नाफास्वरूप संकलित हुने त्यही चार–चार रुपियाँको कोषबाटै आवश्यक खर्चको जोहो हुन्छ रे । त्यसबाहेक टिसर्ट बेचेर पनि उनीहरू खर्च जुटाउँदा रहेछन् । रगत चाहिँदा तुरुन्तै पत्ता लागोस् र इच्छा भएकाले सजिलै दान गर्न सकोस् भनेर इन्टरनेट अभियान नै चलाएका छन् यी युवाले । लिस्ट डट युथ फर ब्लड डट ओआरजीमा गएर जोसुकैले आफ्नो रगतको ग्रुप र ठेगाना दर्ता गराउन सकिने व्यवस्था गरेका छन् ।
पहँुच हुनेले रगतसँग पनि साइनो गाँस्न सक्छ । पहँुचवाला र जानेबुझेकाले चाहिएका बेला रगत तुरुन्तै भेट्टाउँछन् । तर, रगत नपाएर जीवन र मृत्युको दोसाँधमा पर्ने कैयौँ गरिब र निमुखा पनि हुन्छन् । यो अभियानले ती सबैको पहुँच जोडिदिएको छ रगतसँग । रगत अभावमा जीवनको भीख मागिरहेकाको उद्धार भएको छ । त्यसै कारण अर्काको रगतले आफ्नो शरीरमा जीवन बगाइरहेकाहरू आत्मैदेखि अनुगृहीत हुन्छन् उनीहरूसँग । रगत पाएर बाँचेकाहरूको ओठमा छचल्किएको मुस्कान देख्दा सन्तुष्टि मान्छन् रक्तदाताहरू । ‘मैले जम्माजम्मी ६ पटक रगत दान गरेँ, पाँचपटकको रगतले मान्छे बचायो तर एकपटक भने असफल भइयो,’ रक्तदाता २६ वर्षीय कृष्णप्रसाद धिताल भन्दै थिए । ‘कतिपय बिरामीलाई बचाउने प्रयास असफल हुँदा भने खिन्न होइन्छ,’ सरोज कार्कीले विगत सम्झिए ।
अभियानको सहयोगका लागि सरकार पनि गुहारिएछ । ‘हेलो सरकार †’ भन्दै सिंहदरबारमा कैयौँ घन्टी पनि गए । ‘सुनुवाइ नै नहुने रहेछ, प्रधानमन्त्रीको इमेल एड्रेसमा हाम्रा कैयौँ मेल सेन्ट भएका थिए, रिप्लाई खै ?’ सरोज प्रश्न गर्छन् । एउटा तथ्यांकअनुसार अस्पतालमा आउने प्रति १० बिरामीमध्ये एक जनालाई रगत चाहिएको हुन्छ । ती एक–एक मिलेर बनेका हजारौँ बिरामी अस्पतालमा छटपटाइरहेका हुन्छन् । तिनलाई बचाउनु यी युवाको चुनौती बनेको छ । त्यसैले त युवावयमै यसलाई ‘कर्म’ बनाएका छन् उनीहरूले ।

प्रतिक्रिया