बन्दका क्रममा कहाँ के भयो…

काठमाडौं, २८ वैशाख । नेपाल बन्दका क्रममा प्रहरीले आज राजधानी लगायत मुलुकभरीबाट ८३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
ब्राम्हण क्षेत्री समाजको बन्दका क्रममा काठमाडौंबाट ६० जना, ललितपुरबाट ११, मोरङबाट १, हेटौंडाबाट २, सुनसरीबाट २ र कास्कीबाट ७ जना गरी जम्मा ८३ जनालाई पक्राउ गरेको प्रहरी बुलेटिनमा उल्लेख छ ।
बन्दका क्रममा २ ट्याक्सी, ७ बस, ३ मोटरसाइकलहरुमा तेडफोड भएको प्रहरी भनाई छ ।
तमुवानको बोर्ड हटाउन खोज्दा झड
उता, पोखरा उपमहानगरपालिका–९, पृथ्वीचोकस्थित तमुवानको बोर्ड हटाउन खोज्ने ७ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस क्रममा बन्द समर्थक र प्रहरीवीच केही समय झडप समेत भएको थियो । बोर्ड हटाउन खोज्ने क्रममा प्रहरीले रोक्न खोज्दा बन्दकर्ताहरुले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाएको छ । झडपमा ४ जना प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् ।
बन्दकर्तालाई खुकुरी देखाउने पक्राउ
काठमाडौंको गोंगबुस्थित तरकारी बजारभित्र बन्दकर्ताहरुले बन्द गराउने क्रममा खुकुरी देखाउने सामाखुशीका १८ वर्षीय निखिल शेरचनलाई प्रहरीले पक्राउ गरेको छ । आन्दोलनकारीलाई खुकुरी देखाएर ज्यानमार्ने धम्की आएको उजुरीका आधारमा प्रहरीले शेरचनलाई पक्राउ गरेको जनाएको छ ।
शेरचनलाई पक्राउ गर्नेक्रममा गोंगवु तरकारी बजारस्थित नत्यु जेस्वर कलुवारको घरको सटरमा सामान्य क्षति पुगेको छ ।
चिया पसलमा झडप
यसैवीच, पोखरा उपमहानगरपालिका–१७, छोरेपाटनमा चिया पसल खुलेको बिषयमा बन्दकर्ता र स्थानीयबासीबीच झडप भएको छ । झडपमा १ जना बन्दकर्ता सामान्य घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । कुटपिटमा संग्लन ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसै गरेर सुनसरीको ईनरुवा–६ स्थित गुदरी बजारमा मुस्लिम समुदायका बन्दकर्ताहरुले स्थानीय ५० वर्षीया गोयत्री पोदारलाई कुटपिट गरेर घाईते बनाएका छन् । पोदारको टाउकोमा चोट लागेको छ । प्रहरी उनको उद्धार गरेर स्थानीय मेडिकलमा उपचार गराएको छ ।

कुटपिटका क्रममा मुस्लिम समुदायले स्थानीय रामजानकी मन्दिरको बाँसको बेरा भत्काउनुका साथै व्यापारीहरुलाई धम्की दिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न मध्ये २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य केही फरार भएका छन् ।
यता, हेटौडा नगरपालिका–४, भुटनदेबी मोड नजिक चुरेमाई–१ बस्ने २५ वर्षीय मोहनलाल भोलन र २९ वर्षीय कुमार लामाले बन्दकर्तालाई कुटपिट गरेका छन् ।
कुटपिट पछि बन्दकर्ताले ना. २० प ८८५३, ना.१८ प ४०१४ र ग.४ प ७२९ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् । कुटपिटमा संग्लन २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बस र ट्याक्सीमा तोडफोड
उता, काठमाडौं बन्द गर्ने क्रममा ना.३ ख ६०६९ नम्बरको बसमा ढुंगा प्रहार गर्ने सीतापाईलाका बिनोद राई, शिव थापा र थानकोट–६ का समिर खड्गीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुले मादक पदार्थ सेवन गरी ढुंगा हानेर बसमा क्षती पुराएको प्रहरी भनाई छ ।
बालाजु ब्याट्री कारखानास्थित प्रदीप बिक्रम राणाले बा.१ ज २९०९ र वा.१ ज ८२३३ नम्बरका ट्याक्सीमा तोडफोड गरेका छन् । तोडफोडबाट ट्याक्सीको अगाडि र पछाडीका शिशाहरु फुटेका छन् । उनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया