सेमिफाइनलमा सिंगापुरसँग भिड्ने

काठमाडौं, २८ वैशाख । मलेसियाविरुद्ध नाटकीय जित हात पार्दै नेपाल एसियाली क्रिकेट काउन्सिल (एसिसी) यु–१६ एलिट कप प्रतियोगितामा समूहविजेता भएर सेमिफाइनल प्रवेश गरेको छ । अन्तिम विकेटका लागि ५२ रनको साझेदारी गरेको नेपालले बुधबार मलेसियाविरुद्ध एक विकेटले विजयी भएर समूहचरणमा शतप्रतिशत नतिजा आफ्नो पक्षमा पारेको छ ।
नेपाललाई रोमाञ्चक जित दिलाउने क्रममा अलराउन्डर आकाश विष्ट नायक बने । नेपाली टोलीका लागि सर्वाधिक ५५ रनको इनिङ खेलेका उनले १०आंै विकेटका लागि अनुप न्यौपाने (१३) सँग अद्र्धशतकीय साझेदारी गरेपछि नेपालले १४० रनको लक्ष्य एक बल बाँकी छँदा पूरा गरेको हो ।
सुरुका सात ब्याट्सम्यान निजी तवरमा दोहोरो अंक नजोडी आउट भएपछि १०.२ ओभरमा ४१–७ को स्थितिमा पुगेको नेपाललाई आकाशले पछिल्ला क्रमका ब्याट्सम्यानसँग मिलेर उद्धार गरेका थिए । उनले आठांै विकेटका लागि रूपेश बास्तोला (१८) सँग २९ र कालीचरण यादव (११) सँग नवौं विकेटका लागि १८ रनको साझेदारी गरेका थिए । जारी प्रतियोगितामा अद्र्धशतक प्रहार गर्ने चौथो नेपाली खेलाडी हुने क्रममा उनले ९३ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए । यसअघिका अन्य म्याचमा जगदीश चन्द, दीपेन्द्र चन्द र अदिल खानले अद्र्धशतक प्रहार गरेका थिए ।
जारी प्रतियोगितामा यसअघिसम्म निकै प्रभावशाली देखिएको नेपालका सुरुआती तथा मध्यक्रमका खेलाडी मलेसियाविरुद्ध भने जम्न सकेनन् । दीपेन्द्र ५, नुरध्वज सेन ९, आसिफ शेख १, शशि मिश्र ५ र अदिल ६ रन बनाई आउट भए भने रोविन गुप्ता र जगदीशले खाता खोल्न सकेनन् ।
यसअघि टस जिती पहिला ब्याटिङमा उत्रिएको मलेसिया ३७.१ बलमा १३९ रनमा अलआउट भएको थियो । पाँच खेलाडी रनआउट भएको मलेसियाको इनिङमा आकाशले दुई विकेट लिए । पहिलो विकेटका लागि १६ रनको साझेदारी गरेको मलेसियाका दुवै प्रारम्भिक ब्याट्सम्यान रनआउट भएका थिए । आकाशले दुई खेलाडीलाई रनआउट गरे । नेपालका लागि कालीचरण यादव, रूपेश बास्तोला र दीपेन्द्र चन्दले पनि एक/एक विकेट लिए । जारी प्रतियोगितामा आकाशको विकेट संख्या १२ पुग्यो भने कालीचरणको ११ । प्रतियोगिताकै एक रोमाञ्चक खेल हुन पुगेको यसमा आकाश ‘प्लेयर अफ द म्याच’ भए ।
समूह ‘ए’ को समीकरण भने रोमाञ्चक रहयो । समूहका सबै खेलको समाप्तिमा शीर्ष तीन टोलीको समान चार अंक रहयो र रनरेटमा अगाडि रहँदै ओमान समूहविजेता र सिंगापुर समूह उपविजेता भयो । बुधबार पहिला ब्याटिङ गरेको थाइल्यान्डलाई
९४ रनमा समेटेर चार विकेटले विजयी हँुदै ओमान दुई स्थान माथि उक्लियो । थाइल्यान्ड भने दुई स्थान तल झरेर तेस्रोमा पुगेको हो ।
समूह ‘बी’ मा चार खेलबाट नेपालको आठ अंक भयो । नेपालविरुद्ध हार व्यहोर्नुबाहेक सबै खेलमा विजयी भएको मलेसिया
६ अंकसहित समूह उपविजेता भयो ।
नेपालले फाइनल प्रवेशका लागि शुक्रबार साविक विजेता सिंगापुरविरुद्ध खेल्नेछ । समूह ‘ए’ को रोमाञ्चक समीकरणमा सिंगापुर समान अंक भएको थाइल्यान्डलाई रनरेटमा पछि पारेर समूह उपविजेता भएको हो । अर्को सेमिफाइनलमा ओमान र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया