मन्दीप र हसीसामु डेक्कनको आत्मसमर्पण

हैदराबाद, २८ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग सिजन पाँचअन्तर्गत मंगलबार राति भएको खेलमा किङ्स इलेभन पन्जाबले डेक्कन चार्जर्सलाई २५ रनले सहजै पराजित गर्‍यो । १७१ रनको विजयलक्ष्य पाएको डेक्कन निर्धारित २० ओभरको खेल सकिंदा आठ विकेट गुमाएर केवल १४२ रनमा सीमित हुँदै हार स्वीकार्न बाध्य भएको हो ।
बुधबार नै भएको पहिलो खेलमा राजस्थान रोयल्सले पुणे वारियर्सलाई सात विकेटले पराजित गरेको थियो । यसले गर्दा अंकतालिकामा तेस्रो र चौथो स्थानमा रहने टोली को–को हुने भन्नेमा चर्को प्रतिस्पर्धा हुने देखिएको छ । प्रथम दुई स्थानमा कोलकाता नाइट राइडर्स र दिल्ली डेयरडेभिल्स रहने निश्चितजस्तै भइसकेको छ ।
दोस्रो ओभरमै टिमस्कोर १० हुँदा ओपनर शिखर धवन (८) लाई गुमाएको डेक्कनले पाँचौं ओभरमा पार्थिव पटेल (१७) लाई गुमाएको थियो । ११औं ओभरमा टिमस्कोर ७० हुँदा अर्का ओपनर डयानियल हयारिस (३०) लाई गुमाएको डेक्कनका महत्त्वपूर्ण थप दुई विकेट क्यामरुन ह्वाइट (८) र कुमारा सांगाकारा (४) टिमस्कोर ७५ पुग्दैमा पेभेलियन फर्किएका थिए । त्यसपछि डेक्कनका अन्य खेलाडीले चुनौतीपूर्ण स्कोर खडा गर्न सक्ने सम्भावना पातलिएको थियो ।
आशीष रेड्डी (२४) र ए झुनझुनवाला (१९) ले छैटौं विकेटका लागि ४३ रनको साझेदारी गर्दै डेक्कनको इनिङलाई ‘रन चेज’ तर्फ अगाडि बढाएको भए पनि स्कोर १२१ मा सातौं विकेटको रूपमा झुनझुनवाला आउट भएपछि डेक्कनको कुनै जितको सुदूर सम्भावनासमेत समाप्त भएको थियो ।
टस जितेर फिल्डिङ रोजेको डेक्कन चार्जर्सका लागि हयारिसले बनाएको ३० रन नै सबैभन्दा बढी रहयो । सो टोलीका कुनै पनि ब्याट्सम्यान विजय–लक्ष्य पछयाइरहेको अवस्थामा देखा परेनन् । त्यसको प्रमुख कारण पन्जाबका बलरहरूको कसिकसाउ बलिङ र फिल्डरहरूको चुस्त क्षेत्ररक्षण थियो । पन्जाबका डेभिड हसीले एक ओभरमा दुई रन खर्चेर दुई विकेट लिए भने परविन्दर अवाना र प्रवीणकुमारले पनि दुई–दुई र पीयूष चावलाले एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पन्जाबका लागि ओपनर मन्दीप सिंहले फेरि एकपटक प्रभावशाली ब्याटिङ गर्दै ४८ बलमा ३ छक्का र ८ चौकासहित ७५ रनको उत्कृष्ट इनिङ खेले । उनले अर्का ओपनर सन मार्स (२२) सातौं ओभरमा पहिलो विकेटको रूपमा आउट हुनुअघि ५५ रनको साझेदारी गरेका थिए । अन्य ब्याट्सम्यानमा डेभिड हसी १६, अजर महमुद १४ र डेभिड मिलरले नटआउट २८ रन बनाए । डेक्कनका लागि ए आशीष रेड्डीले दुई तथा विपी सिंह र शिखर धवनले एक–एक विकेट लिए । जारी सिजनमा पन्जाबका लागि निरन्तर प्रभावशाली प्रदर्शन गरिरहेका मन्दीप सिंह ‘प्लेयर अफ द म्याच’ भए । पिटिआई

प्रतिक्रिया