लिभरपुलद्वारा चेल्सी पराजित


लन्डन, २८ वैशाख । एफए कपको फाइनलमा गत साता भोगेको चोटलाई भुल्दै लिभरपुलले मंगलबार राति चिरप्रतिद्वन्द्वी चेल्सीलाई ४–१ ले पराजित गरेको छ ।
इङलिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो ३७आंै खेलमा घरेलु मैदानलाई सदुपयोग गर्दै लिभरपुल सानदाररूपमा विजयी भएको हो । चेल्सीका माइकल इसेनले आत्मघाती गोल गर्नुअघि लुइस सौरेजले लिभरपुलललाई पहिलो अग्रता दिलाएका थिए । स्टुवार्ट डाउनिङले पेनाल्टी खेर फाले पनि डयानियल एगरले हेड गोल गरे । दोस्रो हाफमा रेमिरेजले गोल गर्दै भ्रमणकारी चेल्सीको आशा जगाए पनि थप गोल हुन सकेन ।
दुवै टोलीले एफए कपको फाइनलमा भन्दा कमजोर प्रदर्शन गरेका थिए । एफए कपमा भन्दा चार खेलाडी परिवर्तन गरेको लिभरपुलले फ्रान्क लाम्पार्ड, हुवा माटा र एस्ली कोललाई बेन्चमा राखेर कप्तान स्टिफन जेरार्डसहित म्याक्सी रोड्रिगेज र एन्ड्रयु क्यारोललाई उतारेको थियो । पराजयपछि टोटनहयामलाई पछि धकेल्दै शीर्ष चार स्थानभित्र पर्दै च्याम्पियन्स लिग फुटबल खेल्ने चेल्सीको अभियानमा धक्का लागेको छ ।
एक खेल बाँकी रहँदा म्यानचेस्टर सिटी र युनाइटेडको समान ८६ अंक छ भने आर्सनलको ६७ र टोटनहयामको ६६ अंक छ । यी दुईमध्ये कुनै एकलाई बाहिर पठाउँदै च्याम्पियन्स लिग खेल्ने सम्भावना बोकेको टोलीमा न्युक्यासल युनाइटेड मात्र रहेको छ । न्युक्यासलको ६५ अंक छ । ६१ अंकमा सीमित रहेको चेल्सीले च्याम्पियन्स लिग उपाधि जितेमा मात्र प्ले अफ खेल्न पाउनेछ ।
सातांै स्थानमा रहेको एभरटनको ५३ तथा आठौं स्थानमा लिभरपुलको ५२ अंक छ । अन्तिम खेलबाट उपाधिको टुंगो लाग्नेछ भने उल्भ्स र ब्ल्याकबर्न रेलिगेसनमा परिसकेका छन् । पुछारबाट तेस्रोमा रहेको बोल्टनको ३५ तथा चौथोमा रहेको क्विन्सपार्क रेन्जर्सको ३७ अंक छ । पुछारबाट पाँचौंमा रहेको एस्टन भिल्लाको ३८ अंक छ । यी तीन टोलीमध्ये एक रेलिगेसनमा पर्नेछन् । एजेन्सी

प्रतिक्रिया