प्रहरी माथि आक्रमण पछि नवलपरासी तनावमा

नवलपरासी, २७ वैशाख । दर्जन घाईते हुने गरी दिनभर तनावमा रहेको नवलपरासी पाँच बुँदे सहमतिसँगै सामान्य बनेको छ । प्रदर्शनकारीले डण्डामा प्रहरी टोली माथि आकस्मिक रुपमा आक्रमण गरेपछि तनाव उत्पन्न भएको प्रहरीले जनाएको छ ।
संयुक्त थरुहट संघर्ष समिति नवलपरासीले आव्हान गरेको नवलपरासी वन्द अपरान्ह चार बजेदेखि फिर्ता भएको छ । थारु प्रदर्शनकारीले मंगलबार थारु संग्राहलयमा आक्रमण भएको भन्दै डाण्डा र कावासोतीमा स्थानीय व्राम्हण समुदाय माथि आक्रमण सुरु गरेपछि सो स्थानमा सुरक्षाका लागि प्रहरी टोली पुगेको थियो ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्ठ र आन्दोलनरत पक्षबीच भएको बार्तामा पाँच बुँदे सहमति भएपछि सम्बन्धित पक्षले बन्दका कार्यक्रम फिर्ता लिएका हुन् ।
ईलाका प्रहरी कार्यालय कावासोतीमा भएको पाँच बुँदे सहमति पछि वन्द फिर्ता भएको संयुक्त थरुहट संघर्ष समितिका सदस्य नरेश चौधरीले जानकारी दिए ।
मंगलबार डण्डामा भएको घटनाको छानविन गर्न ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीको संयोजकत्वमा थारु समुदाय र ब्राम्हण क्षेत्री समुदायबाट प्रतिनिधित्व रहने गरी छानविन समिति गठन गरेपछि बार्ता सफल भएको थियो ।
प्रहरीसँग भएको झडपमा घाईते भएकाहरुलाई उपचार खर्च व्यहोर्ने, विगतमा जस्तै जातीय सदभाव कायम राख्ने, घटनाको छानविन पछि आउने प्रतिवेदन अनुसार संग्राहलयमा भएको क्षतिको क्षतिपूर्ति दिने सहमति पाँच बुँदेमा रहेको छ ।
सहमतिसँगै वन्द राजमार्ग सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।
बन्द खुलेपछि विहानैदेखि महेन्द्र राजमार्गमा अलपत्र परेका यात्रु र सवारी साधनहरु गन्तव्य तर्फ लागेका छन् ।
उता, दिनैभरी कावासोती र डण्डामा आन्दोलनकारी र प्रहरीबीच पटक पटक झडप भएको थियो ।
कावासोतिमा भएको झडपमा प्रहरीले १५ राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो । डण्डामा भएको झडपमा करिब ५ राउण्ड हवाई फायर भएको छ ।
झडपमा प्रर्दशनकारीहरुमध्य ५० वर्षीय धन बहादुर थनेत, २३ वर्षीय विशाल महतो, तारा बहादुर थनेत र १९ वर्षीय महेन्द्र आले मगरलाई गोली लागेको प्रहरीले जनाएको छ ।
घाइते उनीहरुको कालिगण्डकी अस्पतालमा सामान्य उपचार पछि चितवन मेडिकल कलेज भरतपुर लगिएको छ ।
झडपमा प्रहरी निरीक्षक उमेश लम्साल लगायत १२ तथा सशस्त्र प्रहरीतर्फ ५ जना प्रहरी कर्मचारीहरु घाइते भएका छन् ।
आन्दोलनकारीहरुलाई तितर बितर गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तर्फबाट हवाई फायर गरीस्थितिलाई नियन्त्रणमा लिइएको प्रहरी भनाई छ ।
आन्दोलनकारीहरुले सडकमा रहेका ४, ५ वटा गाडीहरु र नम्बर नखुलेको एक एम्बुलेन्स समेत तोडफोड गरेका छन् ।
अघ्र्यौली–१ स्थित डण्डा बजारमा थारु आन्दोलनकारीहरुले एक्कासी प्रहरी निरीक्षक डिल्ली नारायण पाण्डेको नेतृत्वमा रहेको २० जनाको टोलीमाथि आक्रमण गर्दा झडप भएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीको आक्रमणबाट प्रहरी निरीक्षक पाण्डे, प्रहरी नायव निरीक्षक कृष्ण खनाल घाइते भएका छन् । उनीहरुको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको छ । घाईते दुबैको अवस्था मध्यम रहेको छ ।

उता, कञ्चनपुरमा अखण्ड सुदूरपश्चिमको माग गर्दै आएका आन्दोलनकारी र भीमदत्तनगर बजारमा प्रदर्शन गरी फिर्ता हुँदै गरेका थरुहटका आन्दोलनकारीहरूबीच गएराति कञ्चनपुरको झलारी बजारमा झडप भएको छ । झडपमा थरुहटतर्फका दुई दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् ।

झडपमा घाइते भएका प्रदर्शनकारीहरूको स्थानीय मेडिकलहरूमा उपचार भइरहेको छ । प्रहरीका अनुसार थरुहटका कार्यकर्ताले झलारी बजारमा रहेका पसलहरूमा व्यापकरूपमा तोडफोडसमेत गरेका छन् ।

आन्दोलनकारीहरूले पसल नजिकै पार्किङ गरी राखिएका तीन वटा मोटरसाइकल र आधादर्र्जन बढी घरका सिसा फुटाइदिएका छन् ।

आन्दोलनकारीहरूले झलारी बजारमा ट्र्याक्टर रोकेर पसलहरूमा तोडफोड गर्दासमेत जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिलीपकुमार चौधरीको नेतृत्वमा आएको प्रहरी टोली रमिते बनेर बसेको स्थानीय व्यापारीले आरोप लगाएका छन् ।

अखण्ड नेपाल अविभाज्य सुदूरपश्चिम सङ्घर्ष समितिले पसलमा तोडफोड गर्ने समूह र प्रहरी उपरीक्षक चौधरीमाथि कार्बाहीको माग गरेका छन् ।

प्रतिक्रिया