‘तराईको भूगोल अन्य भूगोलमा नमिसाउ’

काठमाडौं, २६ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्वायत्त मधेस प्रदेशको अडानलाई दोहराएको छ ।
मधेसी मोर्चाको आज सिंहदरबारमा बसेको बैठकले समग्र तराईको भूगोललाई स्वायत्त मधेस प्रदेशका रुपमा उपलब्ध गराउनुपर्ने निर्णय गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले जानकारी दिए ।
उनले भने, ‘तराईको भूगोललाई अन्य भूगोलमा मिसाएर बनाईने संघीय राज्य मधेसी मोर्चाले नमान्ने सहमति भएको छ ।’
मधेसी मोर्चाले तराईको भूगोललाई अन्य भूगोलमा नमिसाउन पनि दलहरुलाई आग्रह गरेको छ ।
मधेसी मोर्चाले नयाँ संविधान तोकिएकै समय जेठ–१४ गते भित्र जारी गर्नु पर्ने भन्दै विवादित विषयमा छिटो सहमति खोज्नपनि आग्रह गरेको छ ।
लोकतान्त्रिक फोरमका महासचिव देवका अनुसार विवादित विषयमा छिटो सहमति खोज्नुपर्ने अन्यथा समय अत्यन्तै कम रहेको निष्कर्ष मधेसी मोर्चा छ ।
मधेसी मोर्चाले प्रमुख दलहरुका वीच भएको पाँच बुँदे सहमति अनुसार सरकारमा सहभागी हुन एमालेलाई आह्वान गरेको छ ।
मधेसी मोर्चाले सहमति बाहिर नजान एमालेलाई आग्रह गर्दै सरकारमा सहभागी भई सहमतिको वातावरण निर्माण गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया