पुलिस प्रेसिडेन्ट कपबाट बाहिरियो

काठमाडौं, २६ वैशाख । नेपाल पुलिस क्लब एएफसी प्रेसिडेन्ट्स कप फुटबल प्रतियोगिता–२०१२ मा छनोट हुन असफल भएको छ । सोमबार सम्पन्न छनोट प्रतियोगिताको दोस्रो खेलमा कम्बोडियाको नोम्पेन्ह क्राउन एफसीले पुलिस क्लबलाई १–० ले पराजित गर्‍यो । सोमबारको खेलपछि नोम्पेन्ह क्राउन र दुईपटकको विजेता डोरडोई बिस्केक अन्तिमचरणमा प्रवेश गरे । अर्को खेलमा डोरडोई बिस्केकले भुटानमा एजडिन एफसीलाई ११–२ ले पराजित गर्‍यो । पहिलो खेलमा डोरडोईले पुलिस क्लबलाई ५–१ ले पराजित गरेको थियो भने नोम्पेन्हले एजडिनलाई ८–० ले हराएको थियो ।
पहिलो खेलमा फराकिलो जित हात पारेर उत्साहित कम्बोडियाली टोलीले अधिक समय नेपाली टोलीलाई दबाबमा राखेको थियो । २१आंै मिनेटमा खिम बोरीले नेपाली रक्षक रविन श्रेष्ठ र सुमन सुवेदीलाई कुनै अवसर नै नदिई गोल गरे । डोरडोई बिस्केकसँगको खेलमा निष्प्रभावी रहेपछि प्रतिस्थापन गराइएका जुमनु राई सोमबारको खेलमा सुरुदेखि नै मैदानमा थिएनन् । दिलिप राईले पूरा समय खेले भने सोमबार पनि कमजोर रहेका रमेश कटुवाललाई प्रतिस्थापन गर्दै ३४आंै मिनेटमा भेट्रान रक्षक राकेश श्रेष्ठ मैदान प्रवेश गरेका थिए ।
राकेशको उपस्थितिपछि रविनले लेफ्ट फ्लान्कबाट केही सुन्दर क्रस गरे पनि उनी आफैले पाएको एउटा राम्रो अवसर उपयोग गर्न नसकेपछि पुलिस क्लब पराजय स्वीकार गर्न बाध्य भयो । ३६औं मिनेटमा रविनले गोलको राम्रो अवसर गुमाएको एक मिनेटपछि नै योगेशका लागि परफेक्ट क्रस गरिदिएका थिए । उनको प्रहार सिधै विपक्षी गोलरक्षकको हातैमा परेको थियो । रविनको अर्को त्यत्तिकै राम्रो क्रसलाई पनि नोम्पेन्हका गोलरक्षक योर्कले मुस्किलले बचाए ।
राकेशका लागि सोमबारको दिन सुखद् रहेन । खेल सकिन सात मिनेट बाँकी रहँदा ६ यार्ड बक्समा पाएको सुन्दर अवसरलाई पनि उनले उपयोग गर्न सकेनन् । योगेश श्रेष्ठले प्रहार गरेको कर्नर सुमनले फ्लिक गरेर राकेशलाई मिलाइदिए पनि उनले बल बाहिर प्रहार गरेका थिए । यसभन्दा ठीक अगाडि पर्वत पाण्डेलाई लडाएपछि प्राप्त फ्रिकिक योगेशले उत्कृष्ट प्रहार गरे पनि विपक्षी गोलरक्षक योर्कले मुस्किलले बचाए । खिम बोरीले अन्तिम मिनेटमा वानभर्सेस वानमा पनि बाहिर नफालेको भए खेलको परिणाम अझ फराकिलो हुन सक्थ्यो ।
५५औं मिनेटमा काउचले पुलिस क्लबको रक्षापंक्ति बिट गरे पनि उनको प्रहार साइडबारमा लागेको थियो । पहिलो हाफमै काउचको त्यत्तिकै सुन्दर प्रहार पुलिसका गोलरक्ष्क रितेश थापाले बचाएका थिए । पहिलो खेलको तुलनामा पुलिस क्लबले दोस्रो खेलमा धेरै सुधारिएको प्रदर्शन गरेको थियो ।
डोरडोईको फराकिलो जितमा पुलिस क्लबसँग हयाट्रिक गरेका मुराजेभले नै चार गोल गरे । एन्डरसन विलियम्सले दुई गोल गरे । सारिपोभ, अस्कारोभ, डेविड टेटेक, क्लाउड इमेस्ट र सादीप नुर्कालले गोल गरे । भुटानी टोलीका लागि चेन्चे र पासाङ वाङडीले गोल गरे । पुलिस क्लबसँग सुरुआती १४ मिनेटमा तीन गोल गर्न भ्याइसकेको डोरडोईले भुटानी टोलीसँग खाता खोल्न भने १८ मिनेट कुरेको थियो । १८आंै मिनेटमा मुराजेभको पहिलो गोलमा अघि बढेको डोरडोईका लागि २६आंै मिनेटमा उनैले दोहोरो अग्रता बनाए । ३९आंै मिनेटमा अस्कारोभले तेस्रो गोल गरे पनि ४०आंै मिनेटमा चेन्चोले गोल गर्दै भुटानी टोलीको फराकिलो अन्तरको हार टर्ने सम्भावना देखाएका थिए । डेविडले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेपछि मध्यान्तरसम्म किर्गिस्तानको टिम ४–१ ले अघि थियो ।
दोस्रो हाफमा सात गोल गरेको टोलीका लागि ५९आंै क्लोड तथा ६२आंै मिनेटमा मुराजेभले गोल गरे । ब्राजिलियन खेलाडी एन्डरसन विलियम्सले ६४आंै र ७०आंै मिनेटमा गोल गरे भने ८१आंै मिनेटमा मुराजेभले व्यक्तिगत चौथो गोल गरे । ८७आंै मिनेटमा सारिपोभ र इन्जुरी समयको पहिलो मिनेटमा नुर्केलले गोल गरे । इन्जुरी समयको अन्तिम मिनेटमा पासाङले एजडिनका लागि गोल गरे ।

प्रतिक्रिया