रोमाञ्चक जितपछि बैंगलोरको आशा कायमै

एजेन्सी
बैंगलोर, २६ वैशाख । डेक्कन चार्जर्सलाई आइतबार पाँच विकेटले पराजित गरी रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताको फाइनल पुग्ने आशा कायमै राखेको छ । तिलकरत्ने दिल्सान र एबिडी भिलियर्सको उत्कृष्ट ब्याटिङले विजयी भएको बैंगलोर ११ खेलबाट ११ अंक जोड्दै अंकतालिकामा पाँचांै स्थानमा उक्लियो । बैंगलोर पछिल्ला दुई खेलमा पराजित भएको थियो ।
प्रारम्भिक ब्याट्सम्यान दिल्सानले ७१ र मध्यक्रमका भिलियर्सले विस्फोटक इनिङ खेल्ने क्रममा ४७ रन जोडे । जितका लागि प्राप्त १ सय ८२ रनको लक्ष्य बैंगलोरले १८.५ ओभरमा पूरा गर्‍यो ।
प्रताप सिंहको बलमा बोल्ड हुनुअघि श्रीलंकन दिल्सानले ५४ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि क्रिस गेलसँग ९१ रनको साझेदारी गर्दै विशाल लक्ष्य पछयाएको बैंगलोरलाई सानदार सुरुआत दिलाएका थिए । आनन्द राजनको बलमा बोल्ड हुनुपूर्व गेलले २२ बलमा एक चौका र दुई छक्का गरी २६ रन जोडे । १०२ रन जोड्दा दुवै प्रारम्भिक ब्याट्सम्यानलाई गुमाएको बंैगलोरका त्यसपछिका विराट कोहली र आसाद पठान भने दोहोरो अंकमा रन नजोडी पवेलियन फर्किए ।
१५.२ ओभरमा ११७–४ को स्थितिमा पुगेको बैंगलोरलाई यसपछि भिलियर्स र मायांक अग्रवालले खेलमा फर्काएका थिए । नटआउट खेल्ने क्रममा १७ बल मात्र सामना गरेका दक्षिण अफ्रिकी यी ब्याट्सम्यानले पाँच चौका र तीन छक्का प्रहार गरे । त्यस्तै आशीष रेड्डीको बलमा एलबिडब्लु धरापमा पर्नुअघि मायांकले ६७ बलमा एक चौका र दुई छक्का प्रहार गरेका थिए ।
१८आंै ओभरमा भिलियर्सले खेललाई बैंगलोरतर्फ ढल्काएका थिए । बैंगलोरको इनिङमा अन्तिम ११ बल आफैले स्ट्राइक लिएका भिलियर्सले त्यस अवधिमा ४२ रन जोडेका थिए । १८आंै ओभरमा डेल स्टेयनलाई दुई छक्का र दुई चौकासहित २३ रन प्रहार गरेका भिलियर्सले १९आंै ओभरमा आनन्द राजनलाई पाँच बलमा १९ रन प्रहार गरेका हुन् । सो ओभरमा राजनलाई उनले तीन चौका र एक छक्का प्रहार गरे ।
टस जिती ब्याटिङ गरेको डेक्कनले प्रारम्भिक ब्याट्सम्यानद्वय रायन हयारिस र शिखर धावनको सानदार इनिङमा चुनौतीपूर्ण योगफल तयार पारेको थियो । हयारिसले ४७ र धावनले ७३ रनको योगदान गरेका थिए । पहिलो विकेटका लागि ११.५ ओभरमा ८६ रनको साझेदारी गरी डेक्कनले बलियो सुरुआत गर्‍यो । धावनले ५२ बलमा १० चौका र एक छक्का प्रहार गरे भने हयारिसले ४१ बलमा दुई चौका र चार छक्का । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका क्यामरन ह्वाइटले पनि २४ बलमा दुई चौका र तीन छक्का प्रहार गरी ४५ रन जोडेका थिए । हारपछि ११ खेलबाट पाँच अंकसहित डेक्कन अंकतालिकाको पुछारमा रहेको छ ।
अंक तालिकामा १६ अंकसहित दिल्ली डेयरडेभिल्स शीर्षस्थानमा रहेको छ । दिल्लीलाई कोलकत्ता नाइट राइडर्सले पछ्याइरहेको छ । मुम्बई इन्डियन्स तेस्रो र चेन्नाई सुपरकिङ्स चौथो स्थानमा रहेका छन् । यस सिजनमा दिल्लीलाई शीर्षस्थानमा राख्ने क्रममा ओपनर विरेन्द्र सहवागले सानदार ब्याटिङ गरिरहेका छन् ।
यसैगरी कोलकत्ताका लागि ज्याक्स कालिसले अलराउन्ड प्रदर्शन गरिरहेका छन् । कालिस बल र ब्याट दुवैमा जमेपछि कोलकोत्ताको अवस्था सहज भएको हो । यस्तै राजस्थानका अंकित रहाने यस सत्रमा अस्वभाविक फर्ममा रहेका छन् । चेन्नाईलाई शीर्ष चारमा राख्ने क्रममा दक्षिण अफ्रिकी ओपनर एफडी प्लेसिसले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् ।
यसैगरी दिल्लीका बलर मोर्ने मोर्केलले सबैभन्दा धेरै विकेट लिएर टोलीको जितलाई अगाडि बढाउन महत्त्पूर्ण भूमिका निभाइरहेका छन् । डेकनका बलर डेल स्टेनले राम्रो बलिङ गरे पनि उनकै कारणले मात्रै टोलीको अवस्था राम्रो हुन सकेको छैन ।

प्रतिक्रिया