एओसीद्वारा गोप्य छनोटको बचाउ

एजेन्सी
सिडनी, २४ वैशाख । सहकर्मीमाथि आक्रमण गरेको अभियोगमा जरिबाना तिर्दै टाट पल्टिएका पौडीबाज निक डि’आर्कीलाई लन्डन ओलम्पिकका लागि अस्ट्रेलियाली राष्ट्रिय टोलीमा गोप्यरूपमा राखिएको आरोपको यहाँका ओलम्पिक कमिटी (एओसी) अध्यक्ष जोन कोएटसले खण्डन गरेका छन् ।
सन् २००८ को मार्चमा सिडनीस्थित एक बारमा पूर्वपौडीबाज सिमोन कोउलेमाथि आक्रमण गरेको अभियोगमा उनले सोही वर्ष चीनको बेइजिङमा सम्पन्न ओलम्पिक र त्यसको एक वर्षपछि इटालीको रोममा सम्पन्न विश्वच्याम्पियनसिप गुमाएका थिए ।
कोउलेलाई आक्रमण गरेको अभियोगमा निकलाई तीन लाख ७० हजार अमेरिकी डलर जरिबाना गरिएको थियो र यसलगत्तै उनी टाट पल्टिएका थिए ।
निकको आक्रमणबाट शल्यक्रिया गर्नुपर्ने स्थितिमा पुगेका कोउलेले यसै साता केही स्थानीय अखबारमा अन्तर्वार्ता दिंदै अस्ट्रेलियाली स्विमिङले निकलाई ओलम्पिक टोलीमा राख्न गोप्य सम्झौता गरेको दाबी गरेका थिए । नैतिकतालाई बिर्सिएर निकलाई टोलीमा राखिएको कोउलेको आरोप छ ।
‘मेरो जानकारीमा भएसम्म अहिलेसम्म कसैसँग सम्झौता भएको छैन ।’ अस्ट्रेलियाली स्विमिङ संघका अध्यक्ष डेभिड उक्र्वुहार्टले भने, ‘यदि कुनै सम्झौता भएको थियो भने त्यो संघको बोर्डमा आउनुपथ्र्यो तर अहिलेसम्म त्यसो भएको छैन ।’
यता कोएटसले एओसी छनोट समितिले यस विषयमा कानुनी परामर्श लिएर काम गरेको बताए । ‘निकलाई टोलीमा राख्नुअघि टाट पल्टिएको खेलाडीलाई छनोट गर्न मिल्छ कि मिल्दैन भनेर कानुनी सल्लाह लिइएको थियो, जानकारहरूले मिल्छ भने ।’
निकले गल्ती स्विकारेको र उक्त घटनाबाट पाठ लिएको बताउँदै उनले एओसी यस विषयमा सन्तुष्ट रहेको बताए । ‘उसले अहिले धेरै कुरा सिकेको छ जसले गर्दा हामी सन्तुष्ट छौं, उसलाई थाहा छ टिममा रहन कुन–कुन मापदण्ड पूरा गर्नुपर्छ,’ कोएटसले भने ।
ओलम्पिक छनोटका लागि उनलाई गत मार्चमा लिइएको थियो । एडिलैडमा भएको छनोटमा उनले २ सय मिटर बटरफ्लाईमा १ मिनेट ५४ दशमलव ७१ सेकेन्डको समय निकालेका थिए तर उनले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान पनि तोड्न सकेनन् यद्यपि उनले निकालेको समय आफ्नै सर्वाधिक छिटो समय तोड्न असफल रहे पनि बेइजिङ ओलम्पिकमा आठ स्वर्ण जितेका अमेरिकी माइकल फ्लेप्सको भन्दा अगाडि नै रहयो ।
यस स्पर्धामा फ्लेप्सको समय १ मिनेट ५५ दशमलव ४३ सेकेन्ड रहेको छ । निकले ओलम्पिक ट्रायलका क्रममा निकालेको सो समय सन् २०१२ कै सबैभन्दा छिटो समयका रूपमा रहेको छ । अहिलेसम्म ओलिम्पिकमा सहभागी नभएका निकलाई बेइजिङ ओलम्पिकमै पदकको दाबेदार मानिएको थियो ।

प्रतिक्रिया