सहवागको पाँचौ अर्धशतक बलिङमा नेगी चम्किए


दिल्ली, २१  वैशाख । पवन नेगीको कसिलो बलिङसँगै वीरेन्द्र सहवागले लगातार पाँचांै खेलमा पनि अद्र्धशतक बनाएपछि दिल्ली डेयरडेभिल्स मंगलबार राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरी शीर्षस्थानमा कायम रहयो ।
२८ बल बाँकी छँदै दिल्लीले हात पारेको यो जित जारी संस्करणमा लगातार उसको चौथो हो । दिल्लीले १० खेलबाट १६ अंक जोडेको छ भने त्यति नै खेलबाट १३ अंक जोडेको कोलकाता नाइट राइडर्स दोस्रो स्थानमा छ । अझै ६ खेल खेल्न बाँकी रहेको दिल्लीले अब मात्र एउटा जित हात पारे पनि कम्तीमा प्ले अफ खेल्ने अवसर पाउनेछ । दुई दिनअघि मात्र यी दुई टोलीबीच भएको खेलमा दिल्ली एक रनले विजयी भएको थियो ।
उत्कृष्ट सुरुआत गरेको राजस्थान नेगी घातक बलिङ सुरु गर्नुअघिसम्म ७१–० को स्थितिमा थियो । अजित अगरकरलाई विस्थापित गर्दै राजस्थानविरुद्ध टोलीमा परेका नेगीले नवौं ओभरमा अजिन्क्या रहानेलाई आउट गर्दै राजस्थानको भरपर्दो ब्याटिङ लाइन–पतन सुरुआत गरेका थिए । राजस्थान छैटौं ओभरसम्म ५६–० को स्थितिमा रहँदा आफ्नो स्पेल थालेका नेगीले सुरुआती पाँचमध्ये चार खेलाडीलाई आउट गरी १३ ओभरमा राजस्थानलाई ९५–५ मा पुर्‍याएका थिए र यससँगै राजस्थानले निर्धारित २० ओभरमा १ सय ४१ रन मात्र जोड्न सक्यो । नेगीले ४ ओभरमा १८ रन खर्चिएर चार विकेट लिएका हुन् ।
१ सय ४२ रन लक्ष्य पछयाउने क्रममा पहिलो ओभरमै माहेला जयावद्र्धने शून्यमै आउट भए पनि सहवागले पुन: अर्को सानदार इनिङ खेल्दै दिल्लीलाई सम्हालेका हुन् । सहवागले ७२ रनको योगदान गरे । उनले ३८ बलमा १२ चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै केभिन पिटरसनले ३६ रन जोडे । सहवाग र पिटरसनबीच दोस्रो विकेटका लागि ९५ रनको साझेदारी भएको थियो ।
यसअघि राजस्थानलाई गतिलो सुरुआत दिलाउने क्रममा प्रारम्भिक ब्याट्सम्यानद्वय राहुल द्रविडले ५८ र रहानेले ४२ रन बनाएका थिए । राजस्थानलाई दबाबमा राख्ने क्रममा मर्न मर्केलले पनि एक विकेट लिए ।
स्मिथ फेरि मुम्बईमा
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट क्लब मुम्बई इन्डियन्सले वेस्टइन्डिजका ड्वाइन स्मिथलाई अनुबन्धन गरेको छ । यसअघि उनले सन् २००८ मा मुम्बईकै लागि खेलेका थिए ।
बिहीबार मुम्बई टोलीका लागि उत्रन सक्ने बताइएका स्मिथले चोटग्रस्त मिचेल जोनसनको स्थान लिनेछन् । यसअघि चोटका कारण जोनसन यस प्रतियोगिताबाट बाहिरिइसकेका छन् । गत वर्षको नोभेम्बरमा दक्षिण अफ्रिकाविरुद्ध टेस्ट म्याच खेल्ने क्रममा अस्ट्रेलियाका तीव्र गतिका बलर जोनसन घाइते भएका थिए ।
स्मिथलाई टी–ट्वान्टी क्रिकेटमा राम्रो खेलाडीका रूपमा लिइन्छ । क्यारेवियन टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा तेस्रो सर्वाधिक रनकर्ता हुन् । उनले १३६.३६ को स्ट्राइक रेटमा १ सय ६५ रन जोडेका थिए । बंगलादेश प्रिमियर लिग क्रिकेट प्रतियोगितामा खुल्ना रोयल बंगाल्सका लागि खेल्ने क्रममा १३७.३ को स्ट्राइक रेटमा ३ सय ४६ रन जोडेका थिए ।
सन् २००८ को आइपिएल संस्करणमा खेल्ने क्रममा स्मिथले मुम्बईका लागि ४५ रन जोड्नुका साथै पाँच विकेट लिएका थिए । सन् २००९ मा डेक्कन चार्जर्सका लागि खेलेका उनले आठ खेलमा २ सय १५ रन जोडेका थिए भने एक विकेट पनि लिएका थिए ।
यस सिजन मुम्बईलाई चोटले सताएको छ । यसैकारण सचिन तेन्दुलकरले सुरुका चार खेलमा सहभागिता जनाउन सकेनन् । त्यस्तै ढाड दुख्ने समस्याका कारण तीव्र गतिका बलर लासिथ मालिंगा पनि स्वदेश फर्किसकेका छन् यद्यपि पाँच खेलमा जित र चारमा हार व्यहोरेको मुम्बई अहिले १० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया