डेक्कनको दोस्रो जित

दिल्ली, १९ वैशाख । इन्डियन प्रिमियर लिगअन्तर्गत मंगलबार भएको खेलमा डेक्कन चार्जर्सले पुणे वारियर्सलाई १३ रनले पराजित गर्‍यो । डेक्कनको यस सत्रको आइपिएलमा यो दोस्रो जित हो र दुवै जित पुणेमाथिको हो । १ सय ८७ रनको लक्ष्य पाएको पुणे पाँच विकेट गुमाउँदै १ सय ७३ रनमा सीमित भयो । पुणेका लागि स्टिभ स्मिथले नटआउट ४७ रन प्रहार गरे पनि टोलीको हार टार्न सकेनन् । उनले २७ बलको सामना गर्दै तीन चौका र दुई छक्का प्रहार गरे । कप्तान सौरभ गांगुलीले पार्टटाइम बलर शिखर धवनको बलमा क्यामरुन ह्वाइटलाई क्याच दिनुअघि ४० बलमा ४५ रन जोडे । माइकल क्लार्कले ३१ बलमा ४१ रन जोडेपछि रनआउट भए ।
पहिलो बलमा अंकित शर्माले मनीष पाण्डेको विकेट लिएपछि गांगुली र क्लार्कले दोस्रो विकेटका लागि ९० रनको साझेदारी गर्दै पुणेको जितको सम्भावना दिलाएका थिए । यी दुवै आउट भएपछि स्मिथले आकर्षक ब्याटिङ गरे पनि अर्को छेउबाट कसैले प्रभावकारी योगदान गर्न सकेनन् । सात बलर प्रयोग गरेको डेक्कनका पार्टटाइम बलर शिखरले महत्त्वपूर्ण विकेट लिए भने आशीष रेड्डीले महत्त्वपूर्ण समयमा डेक्कनलाई सम्हालेका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको डेक्कनको सुरुआत पनि खराब रहयो । २३ रनमा दुई विकेट गुमाएको डेक्कन चार्जर्स कुमार सांगाकारा र क्यामरुन ह्वाइटले तेस्रो विकेटका लागि यस सत्रको आइपिएलकै कीर्तिमानी १ सय ५७ रनको साझेदारी गरेपछि चार विकेटको क्षतिमा १ सय ८६ रन जोड्न सफल भयो । सांगाकारालाई आशीष नेहराले बोल्ड गर्नुअघि श्रीलंकाका यी विकेटकिपर–ब्याट्सम्यानले ५२ बलमा १० चौका र दुई छक्का प्रहार गरे । ह्वाइटले ४५ बलमा चार चौका र चार छक्का प्रहार गरे । उनले गांगुलीको
एकै ओभरमा तीन छक्का प्रहार गरेका थिए ।
यसैगरी सोमबार राति भएको रोमाञ्चक खेलमा कोलकाता नाइटराइडर्सले चेन्नाई सुपर किङसलाई पाँच विकेटले पराजित गर्‍यो । १ सय ४० रनको सामान्य लक्ष्य कोलकाताले पाँच विकेटको क्षतिमा दुई बल बाँकी रहँदा पूरा गर्‍यो । ड्वायन ब्राभोले १९आं ओभरको पहिलो बलमा गौतम गम्भीरलाई आउट गरेपछि ब्याटिङ गर्न आएका देवव्रत दासले चार बलमा ११ रन प्रहार गर्दै कोलकातालाई जित दिलाए । रविचन्द्र आश्विनलाई चौका प्रहार गर्दै खेलको अन्त्य गरेका दास म्यान अफ द म्याच घोषित भए । आउट हुनुअघि ओपनर गम्भीरले ५२ बलमा ६३ रन जोडे ।
कोलकातालाई जित दिलाउने क्रममा दक्षिण अफ्रिकी अलराउन्डर ज्याक कालीसले पनि बल र ब्याट दुवैमा राम्रो गरे । धिमा गतिमा खेल्दै ३१ बलमा २६ रन जोडेका कालीसले बलिङतर्फ चार ओभरमा २१ रन खर्चे । यसक्रममा उनले सुरेश रैना र ड्वायन ब्राभोको विकेट पनि लिए । चेन्नाईको इनिङमा रैनाले सर्वाधिक ४४ रन जोडे । ३४ बलमा चार चौका र एक छक्का प्रहार गरे । महेन्द्रसिंह धोनीले ३० बलमा दुई चौकाको सहयोगले ३४ रन प्रहार गरे । सात बलर उपयोग गरेको कोलकाताको बलिङ आक्रमण अनुशासित रहेको थियो । यस सत्रको आइएपिएलमा जम्न नसकेका युसुफ पठानले एक ओभरमा १० रन र ब्रेट लीले चार ओभरमा ३४ रन खर्चे पनि अन्य पाँचजना प्रभावी रहे ।
खराब सुरुआत गरेको चेन्नाईलाई रोक्ने क्रममा कोलकाताले १० बलसम्म पाँच रन मात्र खर्चिंदै एक विकेट लिएको थियो । १० खेल खेलेको कोलकाता १३ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ । यसैगरी १० खेल नै खेलेको चेन्नाईको नौ र पुणे वारियर्सको आठ अंक छ । नौ खेलमा १४ अंक बटुलेको दिल्ली डेयरडेभिल्स शीर्षस्थानमा छ भने मुम्बई इन्डियन्स नौ खेलमा १० अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया