राखेप–एनओसी शक्तिसंघर्षको अभिव्यक्ति : संघ विघटन

काठमाडौं, १९ वैशाख । केही दिनअघि मात्र राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीचको विवाद पुन: एकपटक चर्चामा आयो । विभिन्न कारणले आपसी विवादमा आइरहने यी दुई निकायलाई पछिल्लो समय पुन: एकपटक चर्चामा ल्याएको विषय थियो– समानान्तर संघ विवाद ।
एउटै कार्यक्रममा राखेप र एनओसीका तर्फबाट छुट्टाछुट्टै प्रतिनिधि जान खोजेपछि विवाद देखिएको थियो । राखेपद्वारा मान्यताप्राप्त दावा गुरुङ नेतृत्वको कराते महासंघ र एनओसीद्वारा मान्यताप्राप्त पुरेन्द्रविक्रम लाखे नेतृत्वको कराते महासंघले मलेसियामा सञ्चालन हुने भनिएको रेफ्री रिफ्रेसर तालिममा सहभागी हुन छुट्टाछुट्टै टोली पठाउन खोजेपछि समस्या देखिएको थियो । अन्तिम समयमा राखेपको ‘अनुरोध’ पछि दुवै संघका प्रतिनिधि मिलाएर एनओसीले उक्त कार्यक्रममा नेपाली टोली पठाएको थियो ।
त्यस्तै एथलेटिक्समा पनि समानान्तर समितिका कारण केही समयअघि दक्षिण कोरियामा सञ्चालन भएको विश्व च्याम्पियनसिपमा नेपाली खेलाडीको सहभागिता अन्तिम समयमा मात्र निश्चित भएको थियो । एनओसीको शरण लिएको रविराज कर्णिकार महासचिव रहेको कमिटीले पहल नगर्दा नेपाल पुलिसका खेलाडी चन्द्रकला पनेरू र तिलकराम थारू आयोजनास्थल पुगेर पनि सहभागी हुन नसक्ने स्थिति आएको थियो । राखेपद्वारा मान्यताप्राप्त निलेन्द्र श्रेष्ठ अध्यक्ष रहेको एथलेटिक्स संघबाट गएका उनीहरू नेपाल पुलिसले आग्रह गरेपछि रविराज महासचिव रहेको कमिटीले पहल गरेर सहभागी हुन पाए ।
कराते र एथलेटिक्समा मात्र होइन समानान्तर संघ (एउटै संघका दुई कार्यसमिति) का रूपमा रहेका कपर्दी र जिम्न्यास्टिकमा पनि यस प्रकारका समस्या देखिने गरेका छन् जुन अन्तर्राष्ट्रिय रूपमा चर्चाको विषय बन्ने गरेको छ ।
विभिन्न कारण देखाउँदै राखेपले संघ विघटन गरे पनि पुरानो कमिटीलाई एनओसीले मान्यता दिएपछि यस्तो स्थिति देखिएको हो । यसले खेलकुदको सरकारी उच्च निकाय ‘राखेप’ को निर्णय पटक–पटक विवादमा आउने गरेको छ ।
गत वर्ष मात्र राखेपले आर्थिक अनियमितता लगायत विभिन्न आरोपमा पुरेन्द्रविक्रम अध्यक्ष रहेको कराते महासंघलाई विघटन गर्‍यो र यसमा दावा नेतृत्व ल्यायो । तर, पुरेन्द्रविक्रम लाखेले आफ्नै कमिटी आधिकारिक र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको बताउँदै आएका छन् । यस्तै आरोपमा सोही वर्ष रवि राजकर्णिकार महासचिव रहेको एथलेटिक्स संघ पनि विघटन भयो र यसमा निलेन्द्र श्रेष्ठको नेतृत्व आयो ।
रवि राजकर्णिकारले आफ्नो कमिटी नै अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको जिकिर गर्दै आएका छन् । हरिबाबु चौधरी राखेप सदस्य–सचिव रहँदा जिम्न्यास्टिक संघ र कपर्दी संघ विघटन गरियो र तिनमा नयाँ नेतृत्व ल्याइयो । लामो समयदेखि निर्वाचन नगरेको भन्दै हरिबाबु नेतृत्वको राखेप बोर्डले एनओसी अध्यक्ष ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको जिम्न्यास्टिक संघलाई विघटन गर्‍यो र यसमा किशोरबहादुर सिंहको नेतृत्व आयो । उक्त विघटनको केही समयपछि नै सोही विघटित समूहभित्रै खुला निर्वाचन गरेका प्रधानले आफ्नै संघ आधिकारिक र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दाबी गर्दै आएका छन् । ११आंै साग खेलकुदका दौरान तत्कालीन अध्यक्ष सुनील राजकर्णिकारले ढाकाको खेलस्थलमै विवाद गरेको भन्दै कपर्दी संघ पछि विघटनमा पर्‍यो र यसमा लालकुमार लामाको नेतृत्व आयो ।
एनओसीको शरण पाएका समानान्तर संघका राखेप परिसरमा कार्यालय छैनन् न त संघ–संस्था शाखामा उनीहरूबारे केही उल्लेख नै छ यद्यपि उनीहरू अन्तर्राष्ट्रिय गतिविधिमा कामकारबाही भने चलाइरहेका छन् जुन कुरामा राखेप मान्यताप्राप्त संघहरूको पहँुच कमजोर छ । एनओसीकै पदाधिकारी भएका कारण संघ विघटन भए पनि उनीहरूलाई खासै समस्या नभएको जानकार बताउँछन् । पुरेन्द्रविक्रम लाखे, सुनील राजकर्णिकार, रवि राजकर्णिकार एनओसीका नयाँ तथा पुराना समितिसँग आबद्ध थिए । उनीहरूले एनओसीको शरण पाएकाले अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बन्धित खेलको गतिविधि आफूले चाहेअनुसार सञ्चालन गर्दै आइरहेका छन् ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने ओलम्पिक कमिटीले नै संरक्षण दिएपछि एउटै संघका दुई समानान्तर कार्यसमिति आउने गरेको जानकार बताउँछन् । सबै अन्तर्राष्ट्रिय व्यवस्था ओलम्पिक कमिटीको सम्पर्कमा रहने भएकाले राखेपका कतिपय यस्ता निर्णयले समाधान होइन, विवाद निम्त्याएको उनीहरू बताउँछन् ।
‘आइओसीको चार्टर नै एनओसीले लत्याएको छ,’ राखेप सदस्य–सचिव युवराज लामा भन्छन्, ‘२०औं वर्षसम्म पनि निर्वाचन नगरेका र हिसाबकिताब नबुझाएका संघहरूलाई मान्यता दिएर एनओसीले दादागिरी देखाएको छ ।’ एनओसीमा अराजकता हाबी भएको भन्दै उनले राखेपको स्वीकृतिबाहेक अन्यत्रबाट अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा जानेलाई कारबाही हुने बताए । उनले राखेपको नियम परिधिमा नरहेका संघ अवैध भएको र तिनको अस्तित्व नरहेको बताए ।
सदस्य–सचिवले यसो भनिरहँदा राखेप परिसरमा विवादित संघहरूलाई अन्तर्राष्ट्रिय सहभागितामै प्रतिबन्ध लगाउने तयारी भइरहेको चर्चा सुनिन्छ । केही साताअघि सम्पन्न राखेप बोर्डको ९०औं बैठकमा पदाधिकारीले यो प्रस्ताव अघि सारेको चर्चा छ । राखेप पदाधिकारी पनि यस कुरालाई स्वीकार गर्छन् तर छलफल हुनु त्यति ठूलो नभएको तिनको जिकिर छ । ‘विभिन्न पदाधिकारीबाट छलफलका क्रममा यो कुरा उठेको हो तर विषयको उठान महत्त्वपूर्ण कुरा होइन,’ सदस्य–सचिव लामा भन्छन् । स्रोतका अनुसार प्रतिबन्ध नै लगाएपछि मिल्ने बताउँदै राखेप पदाधिकारीबाट यस्तो प्रस्ताव आएको थियो जुन आगामी बैठकमा छलफल हुने गरी स्थगन भएको छ ।
यता नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठले विघटित कमिटीलाई आश्रय दिएको विषयमा जिज्ञासा राख्दा यसबारे राखेपसँग सोध्न भने । ‘यसको जवाफ युवराज लामासँग छ, उहाँलाई नै सोध्नुहोस्,’ राखेपका पूर्वसदस्य–सचिव रहेका श्रेष्ठले भने ।
खासगरी एनओसी र राखेपबीचको शक्तिसंघर्ष नै यी विवादको कारण बन्ने गरेको छ । यसअघि गत वर्ष सम्पन्न १६औं एसियाडमा एनओसीले राखेपभन्दा छुट्टै गरी केही खेलमा नेपालको प्रतिनिधित्व गरेको थियो । यसमा एनओसी अध्यक्ष्य धु्रवबहादुर प्रधान अध्यक्ष रहेको जिम्न्यास्टिक पनि थियो । केही महिनाअघि मात्र लन्डन ओलम्पिक छनोट तयारीमा रहेको तेक्वान्दो टोलीलाई ओलम्पिक कमिटीले सहयोग सामग्री रोक्का गरेको थियो । रुक्मशमशेर राणा अध्यक्ष रहेको सरकारी मान्यताप्राप्त समानान्तर ओलम्पिक कमिटीको अस्त्विका कारण राखेप र धु्रवबहादुर प्रधान अध्यक्ष रहेको ओलम्पिक कमिटीबीच विवाद देखिएको हो । ओलम्पिक छनोटमा खराब प्रदर्शन गरेपछि एक वरिष्ठ तेक्वान्दो प्रशिक्षकले ओलम्पिक कमिटीले तयारीका लागि सहयोग नगरेकोले यस्तो नतिजा भोग्नुपरेको गुनासो गरेका थिए । केही समयअघि मात्र एनओसी अध्यक्ष प्रधानले राष्ट्रिय खेलकुद प्रतियोगिता ओलम्पिक कमिटीले आयोजना गर्न पाउनुपर्छ भनी दिएको अभिव्यक्तिले राखेप र एनओसीबीचको शक्तिसंघर्षलाई थप उचाइ दिएको थियो ।
प्रश्न उठ्छ, राखेपमा नयाँ परिवर्तसँगै सबैभन्दा पहिला संघ विघटन गर्नेतिर नै आँखा किन जान्छन् ? खासमा राखेप पदाधिकारीका लागि संघ विघटन संघ प्रवेशको सुन्दर अवसर बन्ने गरेको छ । पदाधिकारी वा राखेपको ‘इन्ट्रेस्ट’ ले होस् या संघको लापरबाहीले प्राय: संघ एक न एकपटक पुनर्गठन हुनुपरेको छ । कुस्ती संघ हालसम्म चारपटक, जुडो संघ दुईपटक, जिम्न्यास्टिक संघ चारपटक, सुटिङ संघ तीनपटक, बक्सिङ संघ तीनपटक, लनटेनिस संघ दुईपटक, एथलेटिक्स संघ तीनपटक, टेबलटेनिस संघ दुईपटक, क्रिकेट संघ पाँचपटक पुनर्गठन भएको छ ।
आखिर किन कोही संघमा प्रवेश गर्न र जसरी भए पनि बसिरहन खोज्छन् ? वास्तवमा राखेप बोर्ड अस्थायी भएकोले खेलकुदमा लामो समय रहने माध्यम संघ नै हो । ‘खेल क्षेत्रमा प्रवेश गरेपछि यहाँ लामो समय रहने चाहना सबैलाई हुन्छ । त्यो भनेको संघमा छिर्नु नै हो,’ राखेप सदस्य–सचिव युवराज लामा भन्छन् । राम्रो नभए पनि विगतदेखि नै चलिआएकोले यसलाई नौलो मान्न नहुने उनको तर्क छ । ‘विगतमा पनि ९९ प्रतिशत पदाधिकारी संघमा छिरेका थिए,’ उनी थप्छन्, ‘अहिलेका पनि प्रवेश गरिरहेका छन् ।’ यसका लागि आफूले कुनै पनि सदस्यलाई नरोकेको उनको भनाइ छ । ‘तदर्थ समितिमा राख्ने मेरो अधिकार हुन्छ, त्यसैले म राख्छु तर निर्वाचनमा भने दबाब दिन्नँ ।’ खेल क्षेत्रकै मानिस संघतिर छिर्नु राम्रो भएको जिकिर गर्दै उनी भन्छन् तर उनले भनेजस्तो संघ मात्र राखेप सदस्यको आकर्षण होइन, ओलम्पिक कमिटी प्रवेश पनि त्यत्तिकै दाउमा हुने गर्छ । यसअघिका केही राखेप पदाधिकारी संघ हँुदै ओलम्पिक कमिटीमा छिरेको उदाहरण ताजा छ । विदेश भ्रमण र खेलकुदको नाममा आर्थिक चलखेल संघ प्रवेशका खास ‘मोटिभ’ हुन् ।

प्रतिक्रिया