मुस्कान

झ्यालनजिकै बसेर मोबाइलमा गेम खेलिरहेकी थिएँ । मुमा निदाइरहनुभएको थियो । सँगैको ओछ्यानको बिरामी घर जाने तरखर गर्दै थियो । आफ्नो रोग निर्मूल पारी ऊ हँसिलो भई बिदा हुँदै थियो । उसकी श्रीमती  औषधिका सिसी तथा ट्याब्लेट झोलामा कोच्दै थिइन् ।  मचाहिँ उता ध्यान नदिएर मोबाइलको खेलमै मस्त थिएँ । तर खेलमा धेरै ‘स्कोर’ गर्न सकेको पनि होइन । बीचैमा मोबाइलले  ‘तिमीले गुमायौ । नयाँ खेल खेल्ने ?’ भनी सोध्यो र म नयाँ खेल खेल्न सुरु गर्थें । यसपालि त पक्कै जित्नेछु भन्ने आशयका साथ खेल्थेँ तर अहँ, मोबाइलको मस्तिष्क मेरो मस्तिष्कभन्दा छिटो थियो । मैले जहिले पनि बीचैमा खेल छाड्नुपथ्र्यो ।  मोबाइलको खेलको मजा नै यस्तैमा छ त्यसो त ।
मेरो ध्यान तब मात्र भंग भयो, जब छेउको बिरामी र उसकी श्रीमतीले मलाई नमस्ते गर्दै भने-‘नमस्ते है । हामी त डिस्चार्ज भयौँ । जान लागेका ।’
म आफू बसेको ठाउँबाट जुरुक्क उठेर नमस्ते फर्काएँ । ‘आमा त निदाइसक्नु भएछ । गयौँ भनिदिनोस् है ?’ श्रीमतीचाहिँले भनिन् ।
‘हस्, म भनिदिन्छु नि ।’ भनेर मैले पुलुक्क मुमातिर हेरेँ ।
सायद सलाइनको असरले उहाँ मस्तसित निदाइरहनु भएको थियो । ओछ्यानसँगै ठड्याइएको डन्डीमा झुन्ड्याइएको स्लाइनको सिसीबाट उहाँको शरीरभित्र तरल पदार्थ छिर्दै थियो, तप्तप्… चुहिँदै । मैले ब्युँझाइरहनु जरुरी सम्झिनँ । उनीहरू बिस्तारै त्यहाँबाट गए ।
उनीहरू त्यहाँबाट जानासाथ अचानक अस्पतालमा ठूलो हल्लीखल्ली मच्चियो । सहरमा बम पड्कियो भन्ने खबरले । बम पनि एउटा दुइटा हो र, शृखलाबद्ध पड्कियो रे ठाउँठाउँमा । कोही भन्दै थिए- चार ठाउँमा पड्कियो ।
कोही भन्दै थिए- ६ ठाउँमा पड्कियो । कोही भन्थे- बम विस्फोटले थुप्रै मानिसको मृत्यु भयो । दसजना, पाँचजना, दुईजना… …मान्छे अनुसारको खबर आउन थाल्यो ।
अब मलाई आफ्नोभन्दा पनि अरूको पीर पर्न थाल्यो ।  को-को कहाँ-कहाँ छन् र के-कस्तो स्थिति छ उनीहरूको-मेरा श्रीमान्, मेरो छोरा, मेरी छोरी तीनैजनाको चिन्ता लाग्यो । अनि झटपट एक-एकलाई सम्पर्क गरेँ मोबाइलबाट । श्रीमान् अफिसमै रहेछन् । छोराछोरी घरमै बसेर एमटिभी हेर्दै रहेछन् ।
अब ढुक्क भयो । कसैलाई केही भएको रहेनछ ।
मानव स्वभाव गजबको छ-हामी आफू निश्चिन्त भएपछि संसारका सब ठीक रहेछन् भनी सोच्दछौँ ।
एकछिनपछि  मेरो मोबाइलमा एकपछि अर्को फोन आउन सुरु भइहाल्यो- विराटनगरबाट भाइले गरेको रहेछ-‘दिदी, टिभीले बे्रकिङ न्युज दिइरहेको छ, ६ जनाको मृत्यु भयो भनेर …।’
मुमाले पनि  आँखा खोल्नुभयो- ‘के भयो नानी ?’
‘ए …पुचेले फोन गरेको रहेछ । मुमालाई कस्तो छ भनेर ।’ बम विस्फोटको कुरा उहाँलाई भनिनँ मैले ।
केहीबेरपछि अघि बिरामी डिस्चार्ज भएको ओछ्यानमा बमले घाइते पारेको मान्छे ल्याउने भन्न् हल्ला चल्यो । मुमाको ओछ्यानको छेउकै ओछ्यान थियो त्यो । त्यसैले मुमालाई थाहा त हुने नै भयो भनेर मैले उहाँलाई भनिदिएँ-‘बम पड्केको रहेछ, मुमा ! त्यहाँ एकजना घाइते ल्याउँदैछ रे ।’
मुमालाई नभनुञ्जेल मलाई कस्तोकस्तो भइरहेको थियो । आँखा चिम्लिरहनु भएकी उहाँले मेरो कुरा सुन्नु भयो कि भएन कुन्नि । तर भनिसकेपछि मेरो आङचाहिँ हलुंगो भयो । मेचमा थचक्क बसेँ र खुइय्य … सास फेरेँ ।
सोच्न थालेँ-‘बम फुटाएको छ । मान्छे मारेको छ । के खोजेका हुन् यिनीहरूले ? केको इच्छा हो ? के लक्ष्य हो ?’
हाम्रो काम यस्तै सोच्ने त हो नि ! गर्नेहरूले गरिनै रहेका छन् । देशको दुर्गति भएको भएकै छ ।
साँच्चिकै अस्पतालका दाइदिदीले आधा घन्टा जति पछि त्यो ओछ्यानमा एकजना किशोरी ल्याएर सुताए । त्यो किशोरीसँगै ५-६ जना नर्सहरू, दुई तीनजना डाक्टर अनि आठ-दसजना त्यस किशोरीका आफन्त पनि आएका थिए । एक किसिमको हुल नै भयो ।
म् पनि यसो हेर्न गएँ । कोही चिनेको मान्छे हो कि भनेर । होइन रहेछ । भर्खरकी  किशोरी बमले घाइते भएर ल्याएकी रे । कुन्नि कुनचाहिँ विद्यालयमा  प्लस टुकी विद्यार्थी रे । बस कुरिरहेको ठाउँमा त्यहीँ बम पड्कियो रे । सँगैको साथी त ‘स्पट डेथ’ नै भई रे । ऊचाहिँ घाइते मात्र ।
त्यो किशोरी ‘अइया… अइया…’ गरी कराइरहेकी थिई । मलाई उसको अवस्था देखेर साह्रै माया लाग्यो । आँखामा टलपल टलपल आँसु आयो । नेपालीहरूले यस्तो नियति कहिलेसम्म भोग्नुपर्ने ? मैले मनमनै प्रश्न गरेँ ।
नर्सले एउटा सुई दिएपछि त्यो किशोरी मस्त निद्रामा सुती । किशोरीको अनुहारमा बमको छिर्का परेको थिएन । केही भएकै छैन जस्तो-सग्लो । आँखा चिम्लेर किशोरी सुतिरहेकी देख्दा मलाई देशको भविष्य यिनको अनुहारमा छ जस्तो लाग्यो ।
मैले त्यो हुलमा आएकामध्ये एकजनालाई सोधेँ — ‘के भएको रहेछ, भाइ ?’
उसले पुलुक्क मतिर हेर्‍यो र भन्यो-‘मेरी सानी आमाकी छोरी । बम फुटेर लागेको रे ।’
‘ए…’ -त्यसदेखि बाहेक अरू केही भन्न सकिनँ । त्यो पीडादायी क्षणमा अरू केही भन्नु या सोध्नु उचित लागेन मलाई ।
भोलिपल्ट धेरै कुरा थाहा भयो । कक्षा ११ मा पढ्ने एक छात्रा रहिछ- चञ्चला । स्कुल सिद्धिएपछि घर जान साथीसँग सार्वजनिक बस कुरिरहेका बेला बसस्टपमा राखिएको बम फुट्दा घाइते भएकी रहिछ । बाबुआमाकी साह्रै मन परेकी छोरी । पढाइमा अब्बल । घरको काम धन्दामा पनि पारंगत । भविष्यको कर्णधार भन्छन् नि-हो त्यस्तै रहेछ ।
च्ाञ्चलाको सरलभन्दा सरल अनुहार अनि उसको कठिनभन्दा कठिन पीडाले दिनभरि मलाई गलाइराख्यो ।
दिउँसोतिर ऊ आँखा खोलेर कुरा गर्ने भइसकेकी थिई । चञ्चलाकी आमा चञ्चलालाई ‘ठीक हुन्छ, छोरी । केही धन्दा मान्नु पर्दैन’ भनी छेउतिर लागेर आँसु पुछिरहेकी  थिइन् । उसका बाबु र अन्य आफन्तका अनुहारमा पनि जिन्दगीको सबैभन्दा ठूलो दुःखका रेखा सल्बलाइरहेका थिए, आँखामा आँसु टल्पलाइरहेका थिए ।
चञ्चला आँखा खोलेर कुरा गर्ने के भएकी थिई, अस्पतालमा विभिन्न टेलिभिजन च्यानलका क्यामेरा चञ्चलालाई खोज्दै आउन थाले ।
‘तपाईं कहाँ हुनुहुन्थ्यो ?’-एउटा क्यामेराले सोध्यो ।
‘हामी बसस्टपमा थियौँ ।’-चञ्चलाले सकीनसकी जवाफ दिई ।
‘तपाईं कहाँ जाँदै हुनुहुन्थ्यो ?’-अर्को क्यामेराले सोध्यो ।
‘स्कुल सकेर घर र्फकने क्रममा बस कुरिरहेका थियौँ । अचानक बम पड्क्यो ।’
‘तपाईंलाई कस्तो लाग्छ ? यस्तो बम पड्किनु पर्छ ?’ यो अलि मूर्खतापूर्ण प्रश्न जस्तो लाग्यो मलाई ।
‘हुँदैन । यस्तो बम पड्किनु हुन्न ।’-चञ्चलाको ठोस जवाफ ।
‘यस्तो बम पड्काउनेलाई तपाईं केही भन्न चाहनुहुन्छ ?’-पहिलो क्यामेराको सोधाइ ।
अब चञ्चलाको अनुहारमा मुस्कान आयो, भनी-‘म उहाँहरूलाई अब यस्तो कहिल्यै नगर्नू भनेर सल्लाह दिन्छु । म अब ठीक भइसकेपछि यस्तो बम पड्काउनेहरूको मन सुधार गर्नतिर लाग्नेछु ।’
मेरो मनमा चञ्चलाको त्यो मुस्कान, अनि उसको दृढ प्रण भित्रसम्म गढ्यो- ‘बम पड्काउनेहरूको मन सुधार गर्नतिर लाग्नेछु ।…’
कस्तो असल विचार ! छोरी त यस्ती पो हुनु -सोचेँ मैले । जेहोस् चञ्चला अब ठीक भएर घर जाने भई । उसको मुस्कानले त्यही भन्थ्यो ।
चञ्चलाको त्यो दिन टेलिभिजनहरूलाई अन्तरर्वार्ता दिँदै बित्यो । भोलिपल्ट अचानक चञ्चलाका लागि डाक्टर नर्सहरूको दौडादौड देखेँ मैले । त्यसपछि मेरो आँखाअगाडि त्यो मुस्काइरहेकी चञ्चलाको शान्त मृत्यु भयो ।
आह…! मलाई कसैले थप्पड हानेजस्तो भयो । ओहो ! कसरी ?
नर्सलाई सोधेँ- ‘अनि हिजो त त्यस्तो मुस्कुराइरहेकी थिई । कसरी बाँच्न सकिनन् ?’
‘कहाँ र बहिनी ! यिनको पछाडिको भागमा छाला त छँदै थिएन । बमले पछाडिको छाला स्वात्तै लगिसकेको थियो । हाड देखिन्थे सबै छ्यांगै । बच्ने सम्भावना त कम नै थियो ।’
म हिजोकी चञ्चलाको मुस्कान सम्झेर आहत थिएँ-कत्रो आशा थियो तिनीमा ! तर यो नर्स दिदीको भनाइ- ‘पछाडिको भाग… हाड देखिन्थे छ्यांग…’
म यसरी वास्तविकताको चक्रब्युहमा रन्थनिएको बेला पनि उता मुमाचाहिँ मस्त निदाइ नै रहनुभएको थियो ।

प्रतिक्रिया