फगत अर्को एक वर्ष


पाँच फिटभन्दा थोरै अग्ला एकजना ७४ वर्षीया खल्बाट बूढा विस्तारै कुर्सीबाट उठे, माइकछेउ उभिए र दशरथ रंगशालामा चारैतिर हेरे । फिस्स एउटा खेलमय मुस्कान वातावरणमा छर्दै पहिलो वाक्य उच्चारण गरे- ‘नोमेस्कार’ । उपस्थित हजारौं मानिसले समवेत स्वरमा उनको समर्थन र उत्साहमा ताली बजाए । उनी खासै जोसिएनन्, होसपूर्वक नै बोलिरहे- ‘सबै किसिमका विचार, वाद र सिद्धान्त बोक्ने फरकफरक व्यक्तित्व र पदासीनहरूलाई, अनि विभिन्न जात-जाति, रंग-वर्ण-लिङ्ग र उमेरसमूहका मानिसलाई एकै थलोमा कुनै कुराले ल्याउँछ भने त्यो काम केवल फुटबलले मात्र गर्न सक्छ …।’
मञ्चमा बसेका नौथरि पार्टीका वरिष्ठ नेताहरूको उपस्थितिमा उनी यस्तै अरूअरू कुरा पनि भन्दै थिए । सानो कद तर सामाजिक एवं वैश्विक उचाइ अथाह भएका ती खल्बाट बूढा विश्व फुटबल महासंघ -फिफा)का अध्यक्ष सेप ब्लाटर थिए । उनी पहिलोपटक नेपाल आएका थिए र एएफसी च्यालेन्जकप फुटबल प्रतियोगिताको उद्घाटनका प्रमुख अतिथि बनेका थिए । उनी एन्फा अध्यक्ष गणेश थापासितै दुई दिन सोल्टी होटलको विलासी ‘लिमोजिन’ मा गुडेर त्यत्तिकै दंग पनि परेका थिए । यसै वर्ष मात्र फिफा अध्यक्षमा चौथोपटक निर्विरोध निर्वाचित भएका यी विश्व फुटबलका सबैभन्दा प्रभावशाली व्यक्तित्व ब्लाटरको नेपाल भ्रमण नेपाली खेलकुद इतिहासमा ठूलो घटना थियो । अझ, पर्यटन वर्ष मनाइरहेको नेपालले उनको त्यो भ्रमणले विश्वव्यापी चासो पनि पाएको सन्दर्भ त्यत्तिकै उल्लेखनीय छ । त्यसो त फिफा अध्यक्ष नेपाल आएको यो पहिलोपटक थिएन, धेरै दशकअघि तत्कालीन अध्यक्ष जाओ हाभलान्जे पनि एकपटक नेपाल आएका थिए तर त्यसले खासै चर्चा भने पाएको थिएन ।
ब्लाटरले भनेझैं फुटबल मात्र त्यो क्षेत्र होइन, अपितु समग्र खेलकुद हो जसमा एउटा सिङ्गो राष्ट्रका आकांक्षा, आशा, सपना, उत्साह र हुटहुटीहरू एकोहोरिएका हुन्छन्- सफलतामा खुसीका सगरमाथाहरू ठडिन्छन्, असफलतामा दुःख र निराशाहरू सुसेलिन्छन् । हाहा र हूहूको मिश्रति स्वर हावामा फिँजिन्छ । तर पख्नुस्, यस्ता क्षणहरू नेपाल र नेपालीले बितेको एक वर्षमा कति अनुभव गर्न
पाए ? लेखाजोखा गर्नु अप्रासंगिक हुँदैन ।
फागुनको अन्तिम साता नेपालले आयोजना गरेको एएफसी च्यालेन्ज फुटबल प्रतियोगिता राष्ट्रिय सन्दर्भमा इतिहासकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फुटबल आयोजना हो । विश्वकप छनोटचरणका केही खेल एकाधपटक काठमाडौंमा भए पनि यति व्यापक तवरले कुनै अन्य अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता नेपालमा आयोजना भएका थिएनन् । बेग्लै कुरा के हो भने आयोजक देश नेपाल आफूले खेलेका तीन खेलमा एउटै गोल गर्न नसकी लज्जास्पद ढंगले पहिलो चरणबाटै बाहिरिएको थियो । प्रतियोगिता तुर्कमेनिस्तानलाई हराउँदै उत्तर कोरियाले दोस्रोपटक जितेको थियो ।
एएफसी च्यालेन्जकपमा नेपालको पराजयसँगै राष्ट्रिय टोलीमा निकै ‘हाइफाइ’ मानिँदै आएका बेलायती प्रशिक्षक ग्राहम रोबर्टसले ११ महिनापछि असमयमै बिदा लिए र स्वदेश फर्किए ।
तर त्यसअघि भने, राष्ट्रिय फुटबल टोलीका कप्तान डिफेन्डर सागर थापाको एउटा गोल वर्षभरि चर्चित रहयो । यस्तो चर्चा कमै मात्र हुने गर्छ नेपाली सन्दर्भमा । उनले नयाँदिल्लीमा मंसिरमा भएको साफ फुटबल च्याम्पियनसिपको सातौं संस्करणमा बंगलादेेशविरुद्ध पैंतीस यार्ड टाढाबाट हानेको पि|mकिक प्रहार विस्मयकारी ढंगले गोलमा परिणत भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत त्यो गोललाई ‘वन्स इन अ लाइफ टाइम’ भनेर प्रशंसा गरे भने त्यही गोलको भरमा नेपालले १८ वर्षपछि पहिलोपटक बंगलादेशलाई  हराउन सकेको थियो । नेपाल सेमिफाइनलमा अफगानिस्तानबाट पराजित भए पनि स्वदेशमा सागरमाथि लाखौं रुपियाँको पुरस्कार वर्षा भएको थियो ।
एएफसी च्यालेन्जकप चलिरहेकै समयमा र नेपालले आफ्नो अन्तिम खेल खेल्नुभन्दा अघिल्लो राति सेनाले अपहरणशैलीमा दुईजना खेलाडी विकास मल्ल -गोलरक्षक) र राजु तामाङ -मिडफिल्डर)लाई बलात् उठाएर लगेको घटना बितेको वर्ष खेलकुदको कालो धब्बा बनेर रहनेछ । काठमाडौंबाहिरका प्रतियोगितामध्ये चैतमा भएको बुढासुब्बा गोल्डकप उपाधि मनाङ-मस्र्याङ्गदीलाई हराउँदै मेगा थ्रीस्टार क्लबले अढाई लाख रुपियाँसहित चौथोपटक जित्यो । चैतमै भएको भोजपुर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता धनकुटा फुटबल क्लबलाई हराएर रूपन्देहीको गोरखा ब्वाइज स्पोटर्स क्लबले डेढ लाख रुपियाँ नगद कुम्ल्यायो । तेह्र वर्षको अन्तरालपछि महेन्द्र गोल्डकपबाट नाम फेरेर विराट गोल्डकपको नयाँ नामसहित चैतमै आयोजित सो फुटबल प्रतियोगिता अपि|mकन युनाइटेडलाई पराजित गर्दै दुई लाख रुपियाँ नगद पुरस्कारसहित यति हिमालयन शेर्पा क्लबले उपाधि जित्यो । पूर्वराष्ट्रिय कप्तान उपेन्द्रमान सिंहको पहलमा केही वर्षअघि मात्र स्थापित मध्यपुर युथ एसोसिएसन क्लब पहिलोपटक रेडबुल बी डिभिजन लिग जित्दै ए डिभिजनमा प्रवेश भयो । ए डिभिजनमा पुग्ने यो भक्तपुरकै पहिलो क्लब हो ।


फुटबलकै हाराहारी देशभित्र निकै रफ्तारमा अगाडि बढिरहेको क्रिकेटले भने खासगरी उमेरसमूहमा धेरै राहत दिने काम गर्‍यो, जतिबेला नेपाली किशोरीहरूले एसियन क्रिकेट काउन्सिल -एसिसी)  यु-१९ महिला क्रिकेट प्रतियोगितामा विजयको हयाटि्रक गरे । जितपछि उक्त टोलीका सबै सदस्यलाई सरकारले जनही दुई लाख रुपियाँ नगद पुरस्कार दियो । क्यान र अन्य संघहरूले दिने सम्मान र पुरस्कार आफ्नै ठाउँमा रहे । स्मरणीय छ, सन् २००७ मा एसिसी महिला ट्रफी खेलेर अन्तर्राष्ट्रिय महिला क्रिकेटमा प्रवेश गरेको नेपालले अहिलेसम्म उमेरसमूह -यु-१९) का सबै एसिसी उपाधि जितिसकेको छ । बितेको वर्ष नेपालले हात पारेको उल्लेखनीय उपलब्धि भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल -आइसिसी) यु-१९ विश्वकपमा सहभागिता निश्चित गर्नु पनि हो ।

गत वर्ष सम्पन्न विश्वस्तरको छनोटमा शीर्ष ६ मा स्थान बनाएर नेपालले उमेरसमूहको सबैभ्न्दा ठूलो यस विश्वकपमा चार वर्षपछि पुनरागमन गरेको हो । नेपाल सन् २००० देखि यो प्रतियोगितामा लगातार पाँचपटक सहभागी हुँदै आएको छ, केवल एकपटक सन् २००९ मा नेपाल छनोट हुन सकेको थिएन ।
त्यस्तै, एसिसी टी-२० प्रतियोगितामा सेमिफाइनलमा अफगानिस्तानद्वारा पराजित भए पनि नेपाल आइसिसी टी-ट्वान्टी विश्वकपको विश्वस्तरको छनोटमा प्रवेश गर्‍यो । फागुनमा युएईमा सम्पन्न १६ टिम सहभागी विश्वस्तरको छनोट प्रतिस्पर्धामा नेपालले सातौं स्थान हात पार्‍यो । तर सोही विश्वकप छनोटमा एक हयाटि्रकसहित सशक्त प्रदर्शन गरेका अलराउन्डर शक्ति गौचनलाई भारतको ग्ल्यामरस लिग क्रिकेट आइपिएलको एक पन्चाइज राजस्थान रोयल्सले ‘ट्रायल’का लागि बोलाएपछि शक्तिसँगै नेपालले राम्रै चर्चा पाएको थियो, यद्यपि टेस्टस्तरका टिमसँग नखेलेसम्म नखेलाउने भन्दै शक्तिलाई उक्त क्लबले फिर्ता पठाइदिएको थियो ।

राष्ट्रिय खेलकुद
मुलुकभित्र हुने र भइरहने स्थानीय, क्षेत्रीय र राष्ट्रिय प्रतियोगिताहरू नियमित रूपमा सञ्चालन भई नै रहे । र, यसक्रममा उल्लेखनीय मान्नुपर्ने हुन्छ- छैटौं राष्ट्रिय खेलकुद । सुदूरपश्चिमाञ्चलका धनगढी र कैलालीमा उद्घाटन एवं समापन, अनि केही खेल काठमाडौं, वीरगन्ज र पोखरासमेतमा गरी फागुनमा आयोजित उक्त खेलकुद पाँचौं भएको तीन वर्षपछि आयोजना भयो । तेक्वान्दो युनियन र जनमुक्ति सेना क्लबको नामबाट एकीकृत नेकपा -माओवादी) सहभागी हुने भएपछि नेपाली सेनाले छैटौं खेलकुदमा कुनै पनि किसिमले भाग लिएन । राष्ट्रिय खेलकुद परिदृश्यमा सानदार छवि बनाएका सैनिक खेलाडीको अनुपस्थितिमा छैटौं खेलकुदका थुप्रै खेल नराम्ररी प्रभावित भए, खासगरी एथलेटिक्स, भारोत्तोलन, तेक्वान्दो, पौडी, जुडो, फुटबल, कबड्डी र हकी ।
आयोजनास्थल र बसोबास सम्बन्धमा पनि निकै अव्यवस्थापन रहेको र त्यसका विरुद्धमा नाराबाजी भएका प्रसंग चर्चित रहे । खेल सामग्री खरिद, यातायात र भोजन व्यवस्थापनमा व्यापक भ्रष्टाचार भएको आरोप कति धेरै आयो भने त्यस सम्बन्धमा राखेप नेतृत्वविरुद्ध अहिले अख्तियार र लेखा समितिमा मुद्दा नै चलिरहेको छ ।
बरु नेपाली सेनाको आयोजनामा काठमाडौंमा पहिलो दक्षिण एसियाली सैनिक खेलकुद फागुनमै भव्यतापूर्वक सम्पन्न भयो जसमा भारत पहिलो स्थानमा रहयो । नेपाली सेनाले फुटबलतर्फको स्वर्ण जितेको थियो । पदक तालिकामा नेपालभन्दा अगाडि पाकिस्तान र श्रीलंका रहे । त्यसअघि श्रीलंकामा भएको पहिलो साग बीच खेलकुद प्रतियोगितामा सहभागी बनेको नेपालले इक्वेस्टि्रयन -घोडचढी) तर्फ स्वर्णपदक जित्यो ।
नेपालगन्जमा निजीस्तरको पहलमा पहिलो दक्षिण एसियाली भारोत्तोलन प्रतियोगिता उत्साहजनक ढंगले सफल रहयो । काठमाडौंमा दुई दशकको अन्तरालमा सगरमाथा अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता भयो । त्यसैगरी, कुनै उल्लेखनीय प्राप्ति नभए पनि बास्केटबलको लहरले लगभग वर्षैभरि देशलाई छोइरहयो ।
लन्डनमा हुने ओलम्पिक खेलकुद-२०१२ मा सहभागी हुनका लागि खेलिएका सबै छनोटचरणका प्रतिस्पर्धामा नेपाली खेलाडी असफल रहे । अब त्यसमा सहभागिताका लागि नेपाल ओलम्पिक कमिटीले केही खेलका लागि आइओसीसँग ‘वाइल्ड कार्ड’ निम्ति अनुरोध गरेको छ ।
गोल्फतर्फ नेपाल गोल्फ संघको कार्यक्रमअनुसार सूर्य मास्टर्ससमेत तमाम गोल्फ प्रतियोगिताहरू यथावत् सम्पन्न भइरहे । गोल्फर शिवराम श्रेष्ठ फेरि एकपटक मुलुकभित्र चुनौतीहीन नै रहेको देखियो ।
सधैं एक वा अर्को कारणले विवादमा आइरहने सितेरियो कराते र त्यसकै नियन्त्रण रहेको नेपाल कराते महासंघ र ब्ल्याकबेल्ट कमिटी रकम हिनामिनाको विवादमा परे, परिरहेकै छन् । रकम हिनामिनाको विषयमा मुद्दा नै चलिरहेको छ । लामो समयपछि महासंघमा विवादास्पद पुराना खेलाडी दावा गुरुङको पुनरागमन अर्थपूर्ण मानियो ।
योबाहेक राखेपअन्तर्गतका राष्ट्रिय संघहरूमा नाङ्गो राजनीतिक हस्तक्षेप बितेको वर्षको उल्लेखनीय पक्ष हो । धेरै संघहरू विघटन भए, कति नयाँ बने, केही संघले विदेशमा खेलाडी हराउन सघाएकोले विवादमा परे भने कबड्डी, एथलेटिक्स, कराते आदिमा समानान्तर संघहरू अद्यापि क्रियाशील नै छन् ।
वर्षको अन्त्यतिर बसेको राखेपको ९०औं बोर्ड बैठकले खेलाडीहरूको सुविधाको सम्बन्धमा करोडौं र लाखौं रुपियाँ पुरस्कार राशिको समेत अनौठा प्रतीत हुने माग अगाडि सार्‍यो । ओलम्पिक स्वर्ण जित्नेलाई एक करोड, एसियन जित्नेलाई २५ लाख र साग स्वर्ण जित्नेलाई पाँच लाख रुपियाँ नगद पुरस्कार दिनुपर्ने सिफारिस राखेपले गर्‍यो ।
बितेको वर्षमा ‘फरक क्षमता भएका व्यक्तिहरू’को कुनै उल्लेखनीय राष्ट्रिय वा क्षेत्रीय प्रतियोगिता आयोजना भएन ।

अन्तर्राष्ट्रिय
नेपालबाहिर भएका खेलकुदमा फुटबल र क्रिकेटकै चर्चा नेपाली सन्दर्भमा बढी रहने गर्छ । फुटबलमा स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसी र रियल मेडि्रडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको चर्चा सर्वाधिक रहयो । उनीहरू दुईजनाबीच कसले बढी गोल गर्ने भन्ने प्रतिस्पर्धा नै चलेजस्तो देखिन्छ, यद्यपि मेसीले एकपछि अर्को गर्दै गोलसम्बन्धी कीर्तिमान भंग गर्दै गइरहेका छन् ।
आफ्नो असंयमित व्यवहारले गर्दा म्यानचेस्टर सिटीका अर्जेन्टिनी स्ट्राइकर कार्लोस तेभेजले पत्रकारलाई राम्रै खुराकी प्रदान गरिरहे । ब्राजिलका पूर्वकप्तान एवं विद्रोही व्यक्तित्व डा. सोक्रेटसको निधनले अपूरणीय क्षतिको अनुभव गरायो ।
त्योभन्दा अझ धेरै त भारतीय क्रिकेटर सचिन तेन्दुलकरले २२ वर्ष लामो सक्रिय खेलजीवनमा टेस्ट र एकदिवसीयमा गरी एक सय अन्तर्राष्ट्रिय शतक -महाशतक) बनाएको र ‘ग्रेट वाल अफ इन्डिया’ भनेर चिनिने राहुल द्रविडको सन्न्यास चर्चित प्रसंग बने । भारत इङल्यान्ड र अस्टे्रलियाविरुद्ध उनीहरूकै देशमा खेल्दै चार-चार टेस्टको शंखला ०-४ ले पराजित हुँदै घर फर्कियो, त्यसका साथै टेस्ट र्‍याङ्िकङमा पहिलो स्थान इङल्यान्डलाई सुम्पियो ।
टेनिसमा राफेल नाडाल र रोजर फेडेररको होइन, नोभाक जोकोभिकको अनि महिलातर्फ बेलारुसकी भिक्टोरिया अजारेन्काको रजाइँ चल्यो । जर्मन ड्राइभर सेबास्टियन भेटल फर्मुला वानमा लगातार दोस्रोपटक विश्व च्याम्पियन बने भने भारतमा पहिलोपटक फर्मुला वान ग्राँ-पी आयोजना भयो ।
विदेशमा नियमित प्रतियोगिता र नयाँ खेलाडीको आगमन भइरहे पनि समग्रमा नेपालमा कुनै नयाँ स्टार खेलाडीको उदय हुन सकेको देखिएन, कुनै विशेष उपलब्धि पनि हात लागेन । यसर्थ, बितेको वर्ष नेपालका लागि ‘फगत अर्को एक वर्ष’ मात्र साबित भएको छ ।

;ftf}+

प्रतिक्रिया