भलिबल निर्वाचनमा पनि राजनीतिक चासो

काठमाडौं, २७ चैत । खेलकर्मीको चाहनाभन्दा राजनीतिक दलको भागबन्डामा खेल संघलाई राख्ने प्रयास नेपाल भलिबल संघको साधारणसभामा पनि देखियो । नेपाल उसु संघको साधारणसभामा तीन प्रमुख राजनीतिक दल एमाओवादी, एमाले र नेपाली कांग्रेसको भागबन्डामा कार्यसमिति चयन भएको एक दिनपछि भलिबल संघको साधारणसभामा पनि यस्तै प्रयास देखियो ।
लामो समय भलिबल संघको नेतृत्वमा रहे पनि लोकपि्रय हुन नसकेका गंगा थापामगरले अध्यक्षमा उम्मेदवारी नदिने भएपछि अध्यक्षको उम्मेदवार बन्ने चर्चामा रहेका दुई उम्मेदवार गजेन्द्र ताम्ली र दानबहादुर तामाङको प्यानलबीच सहमति गराउने प्रयास सोमबार बिहानैदेखि देखियो । सहमतिमा सकेसम्म आफ्नो दलनिकट व्यक्तिलाई राख्ने दौडमा तीन राजनीतिक दलनिकट खेल प्रशासक बिहानैदेखि भलिबल संघको साधारणसभा भएको इसानी क्लब पुगेका थिए । थापाले दुई कार्यकाल अध्यक्षको रूपमा बिताए पनि उनको कार्यकालमा राष्ट्रिय खेलाडीहरू अत्यन्त असन्तुष्ट रहे । राष्ट्रिय टोलीका कप्तान भरत शाहले त यो कार्यकाल भलिबल खेलकै कालो दिन भएको भनी प्रतिक्रिया दिए । प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव युवराज लामाले साधारणसभाको उद्घाटनपछि सकेसम्म सर्वसम्मतिको प्रयास गराउने र नभए प्यानल निर्वाचन हुनबाट जोगाउने निर्देशन कर्मचारीलाई दिएका थिए । परिषद्का कोषाध्यक्ष इन्द्रबहादुर थिङ र सदस्य रामकृष्ण बानियाँ बिहानैदेखि साधारणसभा स्थलमा थिए । यसैगरी, परिषद् सदस्य मनबहादुर न्यौपाने कांग्रेस समर्थकलाई सकेसम्म बढी कार्यसमितिमा प्रवेश गराउनुपर्छ भन्दै साधारणसभामा व्यस्त रहेका थिए । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष सीताराम मास्केले पार्टी -एमाले) को निकायले आधिकारिक उम्मेदवार तय गरेकाले यसलाई नै सबैले सहयोग गर्नुपर्ने बताउँदै खासखुस गरिरहेका थिए ।
सबैको सर्वसम्मतिको प्रयास राति यो समाचार तयार पार्दासम्म सम्भव भएको थिएन । साधारणसभामा बालगोपाल श्रेष्ठ र तामाङ दुईजनाको अध्यक्षमा उम्मेदवारी पर्‍यो । गजेन्द्र ताम्लीले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरे । यसैगरी, महासचिवमा बुद्धि कटुवाल, जितेन्द्र चन्द र वीरेन्द्र खड्काको उम्मेदवारी पर्‍यो । खड्का पूर्वअध्यक्ष थापा पक्षधर मानिन्छन् । यसैगरी, पूर्वराष्ट्रिय खेलाडी चन्द सुदूरपश्चिममा लोकपि्रय रहेका कारण उम्मेदवारी दिए भने पूर्वकोषाध्यक्ष कटुवालले विगतको कार्यसमितिमा थापा पक्षसँग असहमत धारको प्रतिनिधित्व गर्थे । कोषाध्यक्षमा निरोज मास्के र सुनकेशरी माली उम्मेदवार भएका छन् ।
भलिबल संघको निर्वाचनको चर्चा सुरु भएदेखि नै दुई प्यानलको उम्मेदवारीको तयारी भएको थियो । केही महिना अघिदेखि तत्कालीन अध्यक्ष थापा पक्षधर र उनीसँग असन्तुष्ट पक्षधरबीच प्रतिनिधि चयनमा नै विवाद भएको थियो । क्षेत्रीय भलिबल संघका अध्यक्षले मनोमानी गरेको आरोपमा विवाद भएपछि आइतबार मात्रै प्रतिनिधिको टुंगो लागेको थियो ।
साधारणसभाको उद्घाटनमा पूर्वराष्ट्रिय खेलाडी जगदीश भट्टलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया