हिलो छ्यापाछ्याप र गालीशास्त्र

‘लेनिनः एक परिचय’मा नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरी लेख्छन्, ‘एक जमाना थियो, जब लेनिन कार्ल काउत्स्कीका कट्टर प्रशंसक थिए । त्यस जमानामा लेनिनका नजरमा काउत्स्की माक्र्सवादका सर्वश्रेष्ठ व्याख्याता थिए ।’  त्यही लेनिनका आँखामा सन् १९१७ मा भएका दुइटा क्रान्तिबीच  काउत्स्की पहिले खलनायक भए, पछि गद्दारै घोषित भए । सन् १९१७ को फ्रेबुअरी क्रान्तिकालमा ‘राज्यसत्ता र क्रान्ति’ पुस्तक लेखेर लेनिनले उनलाई प्रमुख खलनायक ठहर्‍याए । त्यसपछि अक्टोबर क्रान्तिताका ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की’ किताब लेखेर उनले काउत्स्कीका गद्दारीको फेहरिस्तै बनाए । हुन त लेनिन र काउस्की दुवै माक्र्सवादका पण्डित थिए तर दुवैले एकले अर्कालाई माक्र्सवादी ठानेनन् । लेनिनले पुँजीवादी राज्य, संसदीय बाटो र अहिंसात्मक तरिकाबाट पनि क्रान्ति र समाजवादको लक्ष्यमा पुग्न सकिन्छ भन्ने काउत्स्कीलाई गद्दारै घोषणा गरे ।
यही आरोपको विन्दुबाट विश्व कम्युनिस्ट आन्दोलनमा एकले अर्कालाई गद्दार ठहर्‍याउने संस्कृति विकास भएको हुनसक्छ । सायद, यो आन्दोलन गद्दारजस्ता गालीदेखि लिएर सुधारवादी र संशोधनवादीजस्ता आरोपविना अगाडि बढ्नै नसकिने हो कि ? अथवा यस्ता गाली र आरोप लगाउन सकिएन भने आफू माक्र्सवादी वा लेनिनवादी वा माओवादी नहोइने भयले आन्दोलनलाई बढाइरहेको छ कि, सोचनीय छ । विश्व कम्युनिस्ट आन्दोलनमा एकले अर्कालाई खलनायक र गद्दार ठान्ने चलन सामान्यजस्तै भइसकेको छ तर, यसको थालनी लेनिनबाट भएको हो कि अन्य नेताबाट, खोजको विषय हुनसक्छ, गालीशास्त्रको अध्ययनमा रुचि भएका व्यक्तिका लागि ।
त्यसो त नेपाली माक्र्सवादी पण्डित मोहनविक्रम सिंहले पनि लेनिनप्रति गुरूभक्ति देखाएका थिए, ‘गद्दार पुष्पलाल’ किताब लेखेर । लेनिनवादी क्रान्तिकारी हुने लोभ बोकेरै सिंहले एक जमानामा नेकपाका एक प्रमुख संस्थापक पुष्पलाल श्रेष्ठलाई गाली गरेको हुनसक्छ, लेनिनकै शब्द सापटी लिएर । हुन त उनले पछि आफ्नो गाली फिर्ता लिएको भनिन्छ, तर त्यसको प्रभाव कति पर्‍यो, स्पष्ट छैन । किताबमार्फत सार्वजनिक रूपमा गरिएको हिलो छ्यापाछ्यापको प्रभाव भने लामो समयसम्म रहन्छ, आत्मालोचना गरे पनि हिलोसफाइ गर्न गाह्रो हुन्छ ।
सिंह आफैं नेपालको त्यस्तो एउटा वैचारिक स्कुल थियो, जुन स्कुलका कक्षाबाट नेपालको एउटा वाम आन्दोलनको धार स्कुलिङ भएको छ । नेकपा-चौमदेखि चौमको विभाजनपछि बनेका मशाल, मसाल, एकताकेन्द्र, एकताकेन्द्र-मसाल र माओवादी तथा हालको एकीकृत माओवादी त्यही स्कुलबाट दीक्षित भएका हुन् । प्रतिस्कुलिङ नभएको अवस्थामा तिनका नेता-कार्यकर्ताको मनमस्तिष्कमा सिंहको स्कुलमा पढिएको पाठको धङ्धङी नहुने कुरै भएन । त्यही स्कुलबाट दीक्षित मोहन वैद्य   किरण र उनका चेला ठानिने प्रचण्डहरू पनि त्यस धङ्धङीबाट मुक्त भएको पाइँदैन । गाली, आरोप र भत्र्सनाको मैदानमा उत्रिएका उनीहरू सबैको मनमस्तिष्कमा आफूलाई क्रान्तिकारी लेनिन र अर्कालाई गद्दार काउत्स्की ठहर्‍याउने मोह अव्यक्त रूपमा प्रकट भइरहेको हुनसक्छ ।
यहाँ जनयुद्धकालमा अरु पार्टी र व्यक्तिलाई मात्रै होइन, आफ्नै पार्टीका नेतालाई पनि किरणदेखि प्रचण्डसम्मले बर्साएका गाली र लगाएका आरोपको फेहरिस्त पेस गर्दै कसैको पनि दिमाग खराब गर्नु उचित होइन तर, शान्ति स्थापनाकालमा,
विशेषतः पछिल्लो चरणमा उनीहरूले एकले अर्कालाई लगाएका आरोप भने उनीहरूकै नेता-कार्यकर्ताको पनि दिमाग खराब गर्ने खालका छन् । यस्तो अवस्थामा आम मानिसका लागि ठुल्ठूला वामपन्थी ‘जार्गन’ले भरिएका गाली र भत्र्सना, आरोप र आलोचना पचाउनै गाह्रो हुनु अनौठो होइन ।
पछिल्लो चरणमा प्रचण्ड-बाबुराम-प्रकाश नेतृत्वको संस्थापन पक्षले वैद्य पक्षलाई जडसूत्रवादी र संकीर्णतावादीको बिल्ला भिडाउँदै आएको छ । र, वैद्य पक्षलाई शान्ति र संविधानको विरोधीको भूमिका खेल्दै आफ्नै सरकार गिराउन लागिपरेको आरोप पनि लगाउने गरेको छ । जनयुद्धलाई जनविद्रोहको रूपमा निरन्तरता दिने कि शान्तिपूर्ण क्रान्तिको बाटो अँगाल्नु उचित हुन्छ भन्ने प्रसंगमा सुरु भएको वैचारिक-राजनीतिक मतभेद अहिले गाली, आरोप र भत्र्सनामा सीमित भइसकेको छ । यसमा संस्थापन पक्षलाई उछिनेको छ, आफूलाई पनि शान्ति र संविधानकै पक्षधर मान्ने जनविद्रोहका पक्षधर वैद्य पक्षले ।
वैद्य पक्षले संस्थापन पक्षलाई संशोधनवादी, अवसरवादी र अभिजात वर्गको नेतृत्व भनी भत्र्सना गर्न थालेको छ । पार्टीभित्र र पार्टीबाहिर पनि सत्ता-शक्तिमा नभएको वैद्य पक्ष यस मामिलामा आक्रामक, जुझारु र क्रियाशील हुनु स्वाभाविकै हो । आफ्नै पार्टीको नेतृत्वमा बनेको सरकारलाई पनि राष्ट्रघाती, जनघाती र कठपुतलीको संज्ञा दिएर वैद्य पक्ष डा. बाबुराम भट्टराईलाई जसरी पनि पदच्यूत गर्न लागिपर्नु त्यसैको परिणति हो ।
हुन त यस्ता आरोप-प्रत्यारोप, गालीगलोजबीच पनि एउटा सम्भावना हुनसक्छ । त्यो हो, एकले अर्कालाई लगाएका आरोपमा सत्यतथ्यको केही अंश हुने सम्भावना । त्यस्तो सम्भावना देखियो भन्दैमा वैचारिक-राजनीतिक संघर्षलाई गालीगलोजले सुधार्ने काम उचित र सही हुन्छ ? उदाहरणका लागि संस्थापन पक्षले लगाएझैं वैद्य पक्ष संकीर्णतावादी र जडसूत्रवादी भए त्यसको उपचार आरोप-प्रत्यारोपको सिस्नोले हान्ने हो र ? वैद्य पक्षले भनेझैं संस्थापन पक्ष संशोधनवादी, अवसरवादी र अभिजात वर्गको नेतृत्व हुन थालेको हो भने त्यसको उन्मूलन क्यान्सर लागेको अंगजस्तै काटेर फ्याँक्ने नै हो त ? ‘एक पार्टी, दुई संगठन, दुई नीति र दुइटै कार्यक्रम’को निरन्तरताले माओवादीभित्र विकसित विभिन्न रोगलाई क्यान्सरजस्तै बल्झाउँदैन ? त्यसले प्रचण्डले स्वीकारेझँै पार्टीलाई मृत्युतिरै धकेल्छ कि निरोगी र स्वस्थ बनाउँछ ?
माओवादीको अस्तित्व र उसका नारालाई नै महारोग ठान्ने अन्य दलमा पनि यस्तो रोग नभएको होइन । उनीहरूमा पनि आफूलाई सही सिद्ध गर्न अरु दल र आफ्नै दलका विपक्षी नेतालाई बेठीक प्रमाणित गर्न गाली, आरोप र भत्र्सनालाई हतियारका रूपमा प्रयोग गर्ने संस्कृति छँदैछ । अरुलाई सुधार्ने र अरुका रोगको उपचार गर्ने नियतले भन्दा पनि आफूलाई सही ठहर्‍याउने मतिले प्रयोग गरिने यस्तो हतियार निकै घातक हुन्छ । हुन त चक्कु त चक्कु नै हो, त्यस हतियारलाई रोग उपचार गर्न पनि उपयोग गर्न सकिन्छ र रोगीलाई नै उन्मूलन गर्न पनि प्रयोग गर्न सकिन्छ ।
तपाईं कुन नियत र नीतिका साथ चक्कु प्रयोग गर्नुहुन्छ, कुन प्रक्रिया र संरचनामा चक्कुको सदुपयोग गर्नुहुन्छ ? हो, त्यसैमा भरपर्छ, रोगको उपचार वा रोगीको उन्मूलनका कुरा तर, नेपालका लागि सामाजिक रूपान्तरणकारी क्रान्तिशास्त्रको खोजका क्रममा गालीशास्त्रको निर्माणले भने यस्ता सबै प्रश्नलाई अर्थहीन बनाइदिन्छ, जसले जेजस्तो अस्त्र प्रयोग गरेर आफूलाई माक्र्सवादी, क्रान्तिकारी, लोकतन्त्रवादी र ‘राष्ट्रवादी’ सिद्ध गर्न खोजे पनि ।

प्रतिक्रिया