आजदेखि आइपिएल

चेन्नाई, २१ चैत । विश्वका चर्चित खेलाडीको जमघटसहित भारतको आकर्षक व्यावसायिक क्लब क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल)को पाचांै संस्करण बुधबारदेखि सुरु हुदै छ ।
चेन्नाईमा हुने उद्घाटन खेलमा साविक विजेता चेन्नाई सुपरकिङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । भर्खरै कप्तानमा नियुक्त भएका हरभजन सिंहको नेतृत्वमा उत्रने मुम्बई र भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नाईबीचको खेल अपराह्न पौने ३ बजे सुरु हुनेछ ।
२७ मेसम्म सञ्चालन हुने यस प्रतियोगितामा नौ क्लब सहभागी छन् । गत संस्करणमा १० टोली सहभागी भए पनि कोची टस्कर्स यसपटक सहभागी छैन । सन् २०१० सम्म आठ टोली मात्र सहभागी थिए । राउन्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगितावाट शीर्ष चार टोली अगाडि बढ्ने छन् । शीर्ष दुईबीचको विजेता फाइनल पुग्नेछ । सो खेलमा हार्ने टोली, तेस्रो र चौथो स्थानका टोलीबीचको विजेतासग भिड्नेछ । यस खेलमा विजेता हुने टोलीले उपाधि भिडन्त तय गर्नेछ । प्रतियोगिताका दुवै फाइनलिस्ट च्याम्पियन्स लिग (अन्तरदेशीय क्लब प्रतियोगिता)का लागि छनोट हुनेछन् । यस प्रतियोगितामा एउटा क्लबले बढीमा ११ विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । तीमध्ये बढीमा चारले मात्र एउटा खेलमा खेल्न पाउनेछन् । हाल खेलिरहेका मात्र होइन अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका खेलाडीको प्रदर्शन पनि यस अवसरमा क्रिकेटप्रेमीलाई हेर्ने मौका मिल्नेछ ।
यसपटक सबैको नजर चेन्नाई सुपरकिङ्समाथि पर्ने पक्का छ । पछिल्ला दुई संस्करणको उपाधि जितेर चेन्नाई ह्याट्रिक पूरा गर्ने दाउमा छ । सन् २००८ बाट सुरु भएको यस प्रतियोगिताको पहिलो संस्करणमा चेन्नाई उपविजेतासमेत बनेको थियो । अन्तिम बलमा जित निकाल्दै राजस्थान रोयल्स पहिलो विजेता बनेको थियो । प्रत्येक वर्ष सञ्चालन हुने यो प्रतियोगिता सन् २००९ मा सञ्चालन हुदा डेक्कन चार्जर्सले बाजी मा¥यो, रोयल च्यालेन्जर्स बैंगलोरलाई पछाडि पार्दै ।
सन् २०१० को फाइनलमा मुम्बईलाई हराएको चेन्नाईले गत संस्करणमा बैंगलोरलाई पराजित गरेको थियो । सुरेश रैना, मुरली विजय, रविचन्द्रन आश्विनलगायतका भारतीय राष्ट्रिय टोलीमा सदस्य रहेको चेन्नाईमा अस्ट्रेलियाका माइक हसी, डग बोलिन्जर, बेन हिल्फेनहस छन् भने दक्षिण अफ्रिकाका एफ डु प्लेसिस, न्युजिल्यान्डका स्कट स्टाइरिस, श्रीलंकाका सुरज रान्डिभलगायतका विदेशी खेलाडी पनि छन् । कोलकाता र बैंगलोरलाई पनि बलियो प्रत्यासीका रूपमा हेरिएको छ ।
गौतम गम्भीरको कप्तानीमा रहेको कोलकाता नाइट राइडर्समा अस्ट्रेलियाका ब्राड ह्याडिन, ब्रेट ली, दक्षिण अफ्रिकाका ज्याक कालिस, मर्चन्ट डे ल्याङ, न्युजिल्यान्डका ब्रेन्डन म्याकलम, इङल्यान्डका इओइन मोर्गान र बंगलादेशका सकिब अल हसनलगायत छन् । भारतीय राष्ट्रिय टोलीका युसुफ पठान र मनोज तिवारी पनि कोलकाता टोलीमा छन् । कोलकाता शीर्ष चारसम्म पुगे पनि अहिलेसम्म फाइनल यात्रा तय गर्न भने असफल छ ।
यसअघि दुईपटक फाइनल पुगेको बैंगलोर टोलीमा स्टार खेलाडीको वर्चस्व छ । विराट कोहली, क्रिस गेल, डानिएल भिटोरी, एब डी भिलियर्स, मुथैया मुरलीथरन, तिलकरत्ने दिलसान, जाहिर खान, सौरभ तिवारी, विनय कुमारलगायत अनुभवी र प्रतिभाशाली खेलाडीको जमघट बैंगलोरमा छ । विश्वकै ‘क्रिम’ खेलाडीहरू मात्र अनुबन्धित हुने गरेकाले अन्य टोलीको चुनौती पनि कम भने हुनेछैन ।
विश्वमाझ अहिले निकै राम्रो प्रदर्शन गरिरहेका पाकिस्तानी खेलाडीलाई भने क्रिकेटप्रेमीले यसपटक पनि आइपिएलमा पाउनेछैनन् । पाकिस्तान क्रिकेट बोर्डले घरेलु खेलाडीलाई आइपिएलमा खेल्ने अनुमति दिएको छैन । मुम्बईमा आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध थप बिग्रिएको छ ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई)को प्रावधानअनुसार हरेक टिममा कम्तीमा २२ वर्ष मुनिका चारसहित १४ भार।तीय खेलाडी रहनुपर्नेछ । क्लबमा अनुबन्धित हुने खेलाडीमध्ये २२ वर्षमुनिका भारतीय खेलाडीले कम्तीमा २० हजार अमेरिकी डलर र अन्य खेलाडीले कम्तीमा ५० हजार अमेरिकी डलर प्राप्त गर्छन् । एकै सिजनमा सबैभन्दा बढी कमाउने खेलाडीको सूचीमा भारतीय खेलाडी गौतम गम्भीर सबैभन्दा अगाडि छन् । उनले सन् २०१० को संस्करणमा अहिलेसम्मकै कीर्तिमानी २४ लाख अमेरिकी डलर पाएका थिए । एजेन्सी

प्रतिक्रिया