आर्सनलका भान पर्सी पिएफए वर्ष–खेलाडी

लन्डन : युरोपस्थित प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) ले इङलिस प्रिमियर लिग क्लब आर्सनलका डच स्ट्राइकर रोबिन भान पर्सीलाई वर्ष–खेलाडी घोषित गरेको छ । यी २८ वर्षीय स्ट्राइकरले चालु सिजनमा आर्सनलका लागि ३४ समेत समग्रमा ३८ गोल गरिसकेका छन् ।
प्रिमियर लिगमा यसपटक सबैभन्दा बढी गोल गर्ने खेलाडीको रूपमा रहेका यी डच इन्टरनेसनलले भने, ‘अरू मानिसले त्यसो भनिरहेका छन् भने त्यो राम्रो हो । अझ तपाईंका विपक्षीहरूले तपाईंलाई राम्रो मान्छन् भने त्यो झन् राम्रो हो । उनीहरूले म श्रेष्ठ खेलाडी हूँ भन्छन् भने त्योभन्दा बेस कुरा कमै हुन्छ ।’
प्रशिक्षक आर्सन वेङनरको टोलीका लागि निरन्तर प्रेरक खेलाडीका रूपमा रहेका भान पर्सीले आफ्ना सहखेलाडीको महत्त्वबारे औंल्याउन बिर्सेनन् । ‘उनीहरूको सहयोगविना मैले त्यो सबै केही हासिल गर्न सक्दिनथें जे आज पाइरहेको छु जस्तो कि, थियो वाल्कटकै प्रसंग भनौं । उनले मैले गरेका गोलमध्ये १२ वटामा सहयोग पुर्‍याएका थिए । म यस्ता सबैको उच्च प्रशंसा गर्छु ।’
सन् २००४ मा आर्सनलमा अनुबन्धित भएयता भान पर्सीको सबैभन्दा सफल सिजन चालु सिजन नै हो । यो सफलता उनलाई सेन्टर–फरवार्डको नयाँ भूमिकामा खेल्न लगाइएकोले पनि प्राप्त भएको हो । पिएफए वर्ष–खेलाडीको पुरस्कार जित्न भान पर्सीले म्यानचेस्टर युनाइटेडका वेयन रुनी, टोटनहयामका स्कट पार्कर र म्यानचेस्टर सिटीका त्रयखेलाडी सर्गियो अग्विरो, जो हार्ट र डेभिड सिल्भालाई पछाडि छोडेका थिए । यसअघि यो पुरस्कार सन् २०१०–११ मा गेराथ बेलले, २००९–२०१० मा वेयन रुनीले, २००८–२००९ मा र्‍यान गिग्स र सन् २००७–२००८ तथा २००६–२००७ मा दुवैपटक क्रिस्टियानो रोनाल्डोले पाएका थिए । टोटनहयाम क्लब र इङल्यान्डका रक्षक कायल वाकर पिएफए वर्ष–युवाखेलाडी घोषित भएका छन् । (एजेन्सी)

प्रतिक्रिया