अपराजित युभेन्ट्सलाई अग्रता


मिलान, ११ वैशाख । निकटतम प्रतिद्वन्द्वी एसी मिलान बराबरीमा रोकिएको दिन आइतबार रोमालाई ४–० ले हराउँदै शीर्षस्थानको युभेन्ट्सले इटालियन सेरी ए लिग प्रतियोगितामा तीन अंकले अग्रता लिएको छ । रोमाविरुद्ध जित हात पारेपछि युभेन्ट्स जारी लिगको ३३औं खेलसम्म अपराजित रहेको छ ।
युभेन्ट्सले पछिल्ला ६ खेलमा लगातार जित हात पारेको छ । ‘हेड टु हेड’ मा समेत एसी मिलानभन्दा अगाडि रहेको युभेन्ट्सलाई उपाधि दौडमा थप एक अंकको अदृश्य ‘एडभान्टेज’ छ । समान अंक भएमा इटालियन सेरी ए–मा उपाधिविजेताको टुंगो ती टोलीको ‘हेड टु हेड’ बाट गरिन्छ ।  ३३ खेलपछि युभेन्ट्सको ७१ अंक छ भने एसी मिलानको ६८ । आइतबार राति नै भएको अर्को खेलमा एसी मिलान बोलोनासँग १–१ ले बराबरीमा रोकिएको थियो ।
युभेन्ट्सका प्रशिक्षक एन्टोनिओ कोन्टेले एसी मिलानले के गरिरहेको छ भन्नेमा आफ्नो वास्ता नभएको बताए । ‘हामीले आफ्नो खेल हेर्नुपर्छ, हामी अगाडि छौं र आफ्नो गन्तव्यको हामी मास्टर हां ।’ युभेन्ट्सको अर्को प्रभावशाली जितमा अर्तुरो भिदालले दुई तथा एन्ड्रिआ पिर्लो र क्लाउडिओ मर्चिसिओले एक–एक गोल गरे । २७औं मिनेटपछि १० खेलाडीमा सीमित भएको रोमाविरुद्ध पिर्लोले एक पेनाल्टी अवसर खेर फालेका थिए ।

लिभरपुलको १२औं हार
लिभरपुलले जारी इङलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आइतबार १२औं हार व्यहोरेको छ । गत साता मात्र घरेलु फुटबल प्रतियोगिता एफए–कपको फाइनल प्रवेश गरेको लिभरपुलले वेस्ट ब्रुमविरुद्ध पछिल्लो लिग हार व्यहोरेको हो ।
वेस्ट बु्रमबीचका पिटर ओडेमविंगिएले ७५औं मिनेटमा निर्णायक गोल गरेपछि लिभरपुल १–० ले पराजित भएको हो ।

क्युबामा बार्सा र रियल लोकप्रिय

हवाना, ११ वैशाख । विश्वकै लोकप्रिय खेल फुटबलले क्यारेबियन मुलुक क्युबामा बेसबललाई स्थगन गर्न सक्छ भन्दा पत्याउन गाह्रो पर्ला किनकि बेसबल क्युबामा अत्यन्तै लोकप्रिय छ तर शनिबार राति स्पेनमा भएको बार्सिलोना र रियल म्याड्रिडबीचको खेलले गर्दा धेरै क्युबालीको ध्यान स्थानीय बेसबल लिगले तान्न सकेन ।
प्ले अफमा पुगेको बेसबल लिगलाई मतलब नदिंदै क्युबाली खेल फ्यानहरू अबेरसम्म जम्मा भएर बसेका थिए । ५० डलरबराबरको क्लब–फ्यान जर्सी खरिद गरेर उनीहरू आ–आफ्ना क्लबलाई सहयोग गरिरहेका थिए । यो रकम क्युबाली नागरिकको मासिक आम्दानीको करिब एकतिहाइ अंश हो । गोल–गोलको चिच्याहटबीच फुटबल फ्यानहरू भोड्का र जुसको साथमा मनोरञ्जन लिइरहेका थिए ।
फुटबलले क्यारेबियन मुलुकमा बिस्तारै फ्यानहरू बनाउन सुरु गरेको छ । खासगरी स्पेनिस क्लब बार्सिलोना र रियल म्याड्रिडको प्रभावका कारण फुटबलको क्रेज यस क्षेत्रमा बढ्दो छ । स्पेनिस लिगका खेलहरू क्युबामा स्थानीय एक टेलिभिजनले प्रसारण गर्ने गरेको छ । यहाँको सरकारी टेलिभिजनले सन् २०१० को विश्वकप फुटबल प्रतियोगिता प्रत्यक्ष प्रसारण गर्दै फुटबललाई लोकप्रिय बनाउने प्रयास गरेको थियो ।
‘रियल म्याड्रिडका खेलहरूलाई विश्वभर देखाइन्छ, यसले ती क्लबलाई फ्यानसँग जोड्ने काम गर्छ,’ रियल म्याड्रिडका पूर्वस्ट्राइकर तथा अन्तर्राष्ट्रिय सम्बन्धका निर्देशक इमिलिओ बुत्रागुइनो भन्छन्, ‘हामीलाई थाहा नहुन सक्छ, क्युबा अथवा ट्रिनिडाड एन्ड टोबागोको एउटा बच्चाले क्रिस्टियानो रोनाल्डोलाई जीवनकै एउटा अंश बनाइरहेको हुन्छ ।’
केही समयअघि क्युबाको एक रेडियो स्टेसनले २ हजार मानिसका बीच कुन प्रतिस्पर्धा हेर्न बढी चासो लाग्छ भनी गरेको सर्भेक्षणमा ‘बार्सिलोना र रियल म्याड्रिडबीचको फुटबल भिडन्त’ भन्ने जवाफ अगाडि देखिएको थियो । ४३.५ प्रतिशतले यस खेलमा मत जाहेर गरे तर यस क्षेत्रमा लोकप्रिय मानिएको बेसबल र त्यसमा पनि दुई शक्तिशाली क्युबा र अमेरिकाबीचको भिडन्तमा १८ प्रतिशतको रुचि भएको आँकडाले देखाएको थियो । क्युबामा फुटबल एक सय वर्षको इतिहास भए पनि त्यसले बेसबलको थिचोमिचोमा रहनुपरेको छ । बेसबलमा क्युबाले तीनपटक ओलम्पिक स्वर्णपदक जितिसकेको छ ।

प्रतिक्रिया