सानु र कृष्णलाई टेनिसको स्वर्ण

काठमाडौं, ९ वैशाख । प्रथम सिटिजन्स बैंक भेट्रान्स टेनिस प्रतियोगिताको ३५ वर्षमाथि एकलको उपाधि सानु लामा र ४५ वर्षमाथिको एकल उपाधि कृष्णराज घलेले जिते । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् -राखेप) को टेनिसकोर्टमा भएको फाइनल खेलमा सानुले सुकमान तामाङलाई ६-२ र ६-३ ले हराए । उपाधिसँगै सानुले १० हजार रुपियाँ पुरस्कार जिते । उपविजेता सुकमानले पाँच हजार रुपियाँ पुरस्कार पाए ।
अर्को उपाधि भिडन्तमा कृष्णले सुवर्ण धाख्वामाथि ७-५ र ७-५ को कठिन जित हात पारे । दशरथ रंगशाला टेनिस कम्प्लेक्स म्यानेजमेन्ट कमिटीद्वारा आयोजित प्रतियोगिताको ५५ वर्षमाथिको जोडीमा ज्ञानेन्द्र ताम्राकार र गौतमलाल प्रधानको जोडी पहिलो भयो । फाइनलमा उक्त जोडीले डा. इन्द्रजित राई र रत्न गुरुङको जोडीलाई ६-४ र ६-२ ले हराए । मनोज राणा र सोभितमान श्रेष्ठको जोडीलाई ६-१ र ६-२ ले हराउँदै कृष्णराज घले र सुवर्ण धाख्वाको जोडी ४५ वर्षमाथिको जोडीमा च्याम्पियन बने ।
सिटिजन्स बैंक प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिताको ३५ वर्षमाथिको जोडीमा राजु क्षेत्री र राजेश क्षेत्रीको जोडीले पहिलो स्थान पाए । फाइनलमा उक्त जोडीले चन्द्र शाही र सोभितमान श्रेष्ठको जोडीलाई ६-३ र ६-१ ले पराजित गर्‍यो । यसअघि ५५ वर्षमाथिको एकलमा विदूर विष्ट तथा ६५ वर्षमाथिको एकलमा भिक्ट्री राणाले स्वर्ण चुमेका थिए । विजेतालाई राखेपका सदस्य-सचिव युवराज लामा, सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले पुरस्कार प्रदान गरे । उक्त अवसरमा वरिष्ठ फोटोग्राफर श्याम चित्रकारलाई सम्मान गरियो ।

प्रतिक्रिया