मधेसी दलमा बबन्डर

काठमाडौं ९ बैसाख । कृषि तथा सहकारीमन्त्रीबाट गत १३ चैतमा बर्खास्त भएका नन्दनकुमार दत्त आफू मधेसी समुदायमा अल्पसंख्यक जातिको भएकाले बर्खास्त गरिएको बताउछन् । यादव अथवा अरू कुनै ‘सम्भ्रान्त जाति’को भए आफूलाई मन्त्री पदबाट हटाउने निर्णय पार्टीमा नहुने ठोकुवा पूर्वमन्त्री दत्तको छ । उनी भन्छन्, ‘म अल्पसंख्यक जातिको भएकाले  हटाइएको हो । यसमा अरू कारण छैन ।’
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका बहुमत सभासद्को हस्ताक्षरसहितको पत्र पाएपछि प्रधानमन्त्रीले मन्त्री पदबाट बर्खास्त गरेका उनी आफू अल्पसंख्यक जातिको भएकै कारण पटक–पटक प्रहार हुने गरेको तर्क गर्छन् । ‘तपाईंहरूले मधेसी भनेर एउटा समुदायलाई मात्र चिन्नुहुन्छ तर मधेसी समुदायभित्र पनि एउटा जातिले अर्को जातिलाई सिध्याउने खेल भइरहेको हुन्छ,’ उनले भने ।
यसरी तीतो यथार्थ पोख्नेमा दत्त एक्ला होइनन्, उनीजस्ता मधेसी नेताको लामै लर्को छ । पार्टीभित्र जातीय विभेद हुने गरेको, एउटा जातिका नेताले अर्को जातिमाथि घोचपेच र अन्याय गर्ने गरेको उनीहरूको भनाइ छ ।
फोरम लोकतान्त्रिकका एक चौथाइभन्दा बढी केन्द्रीय सदस्य थारू समुदायका छन् । पार्टीका अध्यक्ष विजय गच्छदार थारू जातिको भएकाले पार्टीमा थारूकै वर्चस्व रहेको अन्य नेताको दाबी छ । उसको पार्टी कार्यालय र संसदीय दलको कार्यालयमा अधिकांश कर्मचारीसमेत थारू नै छन् । दलको कार्यालयमा पियन पदमा रहेका गैरथारू असर्फी साहलाई हटाएर हालै दीपक चौधरीलाई नियुक्त गरिएको छ । यसैगरी, सानेपास्थित पार्टी कार्यालयमा टाइपिस्ट, पिएन र अन्य कर्मचारीसमेत थारू समुदायकै छन् । ७१ सदस्यीय केन्द्रीय समितिमा गच्छदारबाहेक रामजनम चौधरी, देवी चौधरी, मंगल थारू, भूपेन्द्र चौधरी, भक्तिनाथ माझी, कृपासुन्ध चौधरी, हरिनारायण चौधरी, वासुदेव थारूलगायत थारू समुदायका छन् । यसैगरी, भीमराज राजवंशी चौधरी, मंगल थारू र हरिनारायण चौधरी पनि थारू नै हुन् । यीमध्ये रामजनम दलको प्रमुख सचेतक र भक्तिनाथ गच्छदारका अघोषित सल्लाहकार हुन् । गच्छदारले दुईपटकको मनोनयनमा थारू समुदायबाट नियुक्ति गरेका थिए । पार्टीको महाधिवेशन एकपटक पनि हुन नसकेकाले केन्द्रीय सदस्यहरूको मनोनयन अध्यक्षले नै गरेका हुन् ।
‘मधेसी दलमा जातिवाद पलाएको छ । पार्टी अध्यक्ष जुन जातको छ । उसले पार्टीमा त्यही जातिकालाई मात्रै राख्ने र अरूलाई उपेक्षा गर्ने प्रवृत्ति बढेको छ,’ फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य तथा सभासद् प्रमोद गुप्ताले भने, ‘यो प्रवृत्ति हाम्रो पार्टीमा झन् बढी छ ।’
फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य उमेशलाल दास आफू जातिकै कारण राजनीतिमा पछि परेको बताउछन् । ‘उच्च  जाति भनेकाले मलाई सधै पछि पारे,’ उनी भन्छन्, ‘मधेसी नेताहरू हामीमाथि विभेद भयो भन्छन् र आफैभित्र एक जातले अर्को जातमाथि विभेद गर्छन् ।’
फोरम नेपाल विभाजन हुनुअघि अध्यक्ष् उपेन्द्र यादवमाथि पार्टीमा ‘यादववाद’ हावी गरेको भनेर अन्य नेताले केन्द्रीय समिति बैठकमै पटक–पटक आक्रोश पोखेका थिए । अध्यक्ष यादवमाथि पार्टीमा यादववाद हावी गरेको, माओवादीको पछि लागेको र पार्टीलाई स्वेच्छाचारी ढंगले चलाएको भनी तीनवटा आरोप गच्छदार, शरत्सिंह भण्डारीलगायत नेताले लगाएका थिए । त्यसबेला यादवनिकट मानिएका रेणु यादव, बिपी यादव, राजकिशोर यादव, राजलाल यादव, चन्द्रिका यादव सबै यादव जातकै थिए । फोरम नेपाल दोस्रोपटक फुट्दा राजकिशोर, राजलाल र बिपी यादवहरू भने फोरम गणतान्त्रिकमा लागे ।
तराई–मधेस लोकतान्त्रिक पार्टीबाट छुट्टिएर तराई–मधेस लोकतान्त्रिक पार्टी नेपाल जन्मनुमा जातीय कारण नै प्रमुख भएको नेताहरूको भनाइ छ । तमलोपाको नेतृत्व ‘उच्च सभ्रान्त जाति’को भन्दै महेन्द्र यादव, दानबहादुर चौधरी, गोविन्द चौधरीलगायतले तमलोपा नेपाल गठन गरेका थिए ।
त्यसो त मधेसी सर्वसाधारण फोरम नेपाललाई यादव, तमलोपालाई बाहुन र भूमियार (ठाकुर), फोरम लोकतान्त्रिकलाई थारू, तमलोपा नेपाललाई यादव र चौधरीको पार्टी भनेर संज्ञा दिन्छन् । तमलोपाको नेतृत्वमा ठाकुर, त्रिपाठी, शुक्ल र सोनाल समुदायका व्यक्ति छन् । ‘तमलोपाबाट तमलोपा नेपाल विभाजन हुनुमा जातीय कारण नै  प्रमुख हो । बाहुन र भूमियारहरूबाट यादव, चौधरीहरू अलग्गिएका हुन्,’ फोरम नेपालका राजनीतिक समिति सदस्य तथा मधेसविज्ञ अर्जुन थापा भन्छन्, ‘मधेसी दलमा जातीय घोचपेच बढेको छ, जुन राम्रो होइन ।’मधेसी दलमा यादव, ठाकुर, राजपुत (मिश्र, त्रिपाठीलगायत), साह तेली (गुप्ता, महतो) मुसलमान, थारूलगायतको बाहुल्य छ ।

प्रतिक्रिया