अपराजित वीरगन्ज फाइनलमा

काठमाडौं, ५ वैशाख । समूहचरणमा एउटै खेल नहारेको क्षेत्र नम्बर–२ वीरगन्ज यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत सोमबार आङ्खनो तेस्रो तथा अन्तिम खेलमा वीरगन्जले क्षेत्र नम्बर–१ वीराटनगरलाई सात विकेटले पराजित गर्‍यो । पहिलो खेलमा काठमाडौंलाई हराएको वीरगन्जले दोस्रोमा पोखरालाई पराजित गरेको थियो ।
अपराजित यात्रालाई कायम राख्दै फाइनल पुग्ने क्रममा वीरगन्जले सानदार ब्याटिङ गर्‍यो । विराटनगरबाट प्राप्त २ सय १४ रनको लक्ष्य वीरगन्जले ४५.४ ओभरमा केवल तीन विकेट मात्र गुमाएर पूरा गर्‍यो ।
विशाल लक्ष्य पछ्याउने क्रममा वीरगन्जले सानदार सुरुआत गर्‍यो । हसिम अन्सारी (४९) र विजय घलान (७२) ले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गर्दै जितको बलियो आधार तयार गरे । ४४ बलमा अन्सारीले आठ चौका प्रहार गरे । नटआउट खेल्ने क्रममा प्रारम्भिक ब्याट्सम्यान विजयले १ सय ४५ बलमा सात चौका प्रहार गरे । दोस्रो विकेटका लागि शिव तण्डुकार (२५) सग ४७ रनको साझेदारी गरेका विजयले तेस्रो विकेटका लागि सुरज कुर्मी (४३) सग ६५ रनको साझेदारी गरेका थिए ।
यसअघि विराटनगरले राम्रो ब्याटिङ प्रदर्शन गर्दै चुनौतीपूर्ण लक्ष्य तयार गरेको थियो । दुवै प्रारम्भिक ब्याट्सम्यान दोहोरो अंकमा रन नजोडी आउट भएको विराटनगरको इनिङमा सिद्धान्त लोहनीले ५२ रन जोडे । त्यस्तै सुमन श्रेष्ठले २८, हरि चौलागाईंले २०, कमलकिशोर प्रेमी र अमित दाहालले ३०–३० रन बनाएका थिए । विराटनगरले ३३ अतिरिक्त रन पाएको थियो । लोहनीले ६२ बलमा पाच चौका र एक छक्का प्रहार गरे । जित्नैपर्ने दबाबमा उत्रिएको विराटनगरका प्रारम्भिक ब्याट्सम्यानद्वय राजीव विक ७ र अमल दास १ रन बनाई आउट भए । सोही समूहको अर्को खेलमा क्षेत्र नम्बर–७ पोखरालाई तीन विकेटले पराजित गरी लगातार दोस्रो जित हात पारे पनि क्षेत्र नम्बर–३ काठमाडौंको यात्रा अगाडि बढ्न सकेन । पोखराले दिएको १ सय ३८ रनको लक्ष्य काठमाडौंले २५.१ ओभरमा पूरा ग¥यो । काठमाडौंको जितमा पवन श्रेष्ठले अविजित ५४ रनको योगदान गरे । (सौस)

प्रतिक्रिया