राजनीतिको भुमरीमा फसिएछ

मेरै दृष्टिमा म
वास्तवमा कुनै व्यक्तिको मूल्यांकन अरू व्यक्तिले गर्नुपर्ने हो । आफैँले गर्दा अनेक भावनाको संवेगमा बगिन्छ, ठक्कर खाइन्छ । म कुनै खास आकांक्षा भएको र त्यसका लागि मरिहत्ते गर्ने मान्छे होइन, जनता र सम्पूर्ण मानवजातिकै लागि काम गर्ने चाहना भएको मान्छे मात्र हुँ । अरूले मेरो कति मूल्यांकन कसरी गरे, त्यो मलाई थाहा छैन ।
निजी जिन्दगीका सुखदुःख
सुखी पनि छु, खुसी पनि छु र दुःखी पनि छु । म कहिले सुन्दर बगैँचामा र कहिले चर्को चट्याङमा पनि गुज्रेको छु । मेरो मात्र कहाँ हो र ! सबैको जिन्दगी उस्तै हो ।
मेरो स्वभाव निर्माणमा प्रभाव पर्नेहरु
केटाकेटी हुँदा घरमा भजन-कीर्तन खुब हुन्थ्यो । पिताजी हार्मोनियम बजाउँदै गीत गुनगुनाउनुहुन्थ्यो । सानोमा ठान्थेँ- मेरो पिताजी एकदमै राम्रो गायक हुनुहुन्छ । उहाँको स्वर साह्रै मिठो थियो, उहाँ भगवती स्तोत्र पाठ गर्नुहुन्थ्यो । त्यसैले ममा पिताजीको मृदुभाषी स्वभावको प्रभाव बढी रह्यो । सायद मेरो स्वभावमा पिताजी, छिमेकी, परिवार, शिक्षक र स्कुलको प्रभाव छ ।
मलाई दुःख लाग्दा…
आफूले गरेका राम्रा काममा पनि आलोचना भएपछि अलि दुःख लाग्ने गथ्र्याे । आफूले सक्दो सहयोग गरेको मित्र पनि विपक्षमा रहँदा झन् दुःख लाग्थ्यो, अहिले भने ती सबै पचिसकेका छन् ।
बाल्यकाल
बाल्यकालमा असाध्य चन्चले थिएँ, म खेल धेरै रुचाउने, पढाइबाट टाढा भाग्ने, चकचके स्वभावको थिएँ । तर, थोरै लजालु पनि थिएँ । मेरा अग्रजहरू अहिले पनि भन्नुहुन्छ- ‘तँजस्तो लजालु स्वभावको मान्छे राजनीतिमा कसरी लागिस् ?’


मेरो स्वभावको बलियो पक्ष
सबैसँग सुमधुर सम्बन्ध राख्न चाहन्छु, खुला छु, सरल छु अनि सकारात्मक सोचाइ राख्छु ।
मेरा कमजोरी
कसैलाई आक्रमण गर्न नसक्ने, प्रतिरक्षा मात्र गर्ने र कठोर निर्णय त झन् कहिल्यै गर्न नसक्ने । साथीहरू भन्थे-‘राजनीतिमा बगरेको काम गर्नुपर्छ, तपाईं गर्न सक्नुहुन्न ।’ हो, यही मेरो दुर्बल पक्ष हो कि म मेरो चर्को विरोधीको पीडामा पनि मलम लगाउन सक्दो सहयोग गर्छु । म बढी नै भावुक छु ।
यसरी हेर्छु म अरूलाई
म कुनै पनि मान्छेमा भएको दोषलाई पन्छाएर हेर्ने प्रयत्न गर्छु । उसले के भन्छ, कुन सामाजिक, सांस्कृतिक, पारिवारिक पृष्ठभूमिको हो, त्यो पनि हेर्छु । उसले समाजमा के गरिरहेको छ, त्यो पनि हेर्छु । अनि मात्र, त्यस व्यक्तिप्रतिको मेरो समग्र धारणा बन्छ ।
भावुकताका कुरा …
भावुकताको कुनै मापदण्ड हुँदैन । भावुक नभएको भए म साहित्यकार बन्दिनथेँ होला । उमेर बित्दै जाँदा मान्छेले संसार चिन्दैै जान्छ र उसको भावनात्मक पाटो पनि बलियो बन्दै जान्छ ।
म पनि उत्तेजित हुन्छु
तुलनात्मक रूपले निकै कम उत्तेजित हुन्छु तर कसैले मलाई नचाहिँदो किसिमले बारम्बार हेप्न थाल्यो भने मात्रै उत्तेजित हुन्छु ।
मलाई रिस उठ्छ
म खासै रिसाउँदिन तर मैले भनेजस्तो, खोजेजस्तो वा सोचेजस्तो नहुँदा रिस उठ्छ । आजभोलि त लाग्छ, मसँग रिसको डिग्री नै छैन ।
टिलपिल-टिलपिल आँसु आउँछ तर झरिहाल्दैन
स्वभावले म संवेदनशील छु र छिट्टै भावुक पनि हुन्छु । रुन त मान्छे जो पनि रुन्छ । तर, म डाको छोडेर रोएका क्षण नगन्य मात्रै छन् जीवनमा । एकपटक द्वन्द्वकालीन कथा लेखेँ तर दोस्रोपटक पढ्न सकिनँ । कुनै भावुक फिल्म हेर्दा वा उपन्यास पढ्दा अनायास आँखाको चेपमा आँसु टिलपिल-टिलपिल गररहेको हुन्छ । तर, आँखाबाट आँसु झरिहाल्दैनन् ।
म नेता कम साहित्यकार बढी
मेरो स्वभावले बढी झुकाव साहित्यमै हो । अझ पनि साहित्यबारे कुरा गर्ने मान्छे पाएँ भने ठुल्ठूला राजनीतिक बैठक पनि छोडिदिन्छु । आफूलाई यस हिसाबले हेर्दा बढी साहित्यकार नै हुँ भन्ने लाग्छ ।
निजी जीवन
पहिलेपहिले राजनीतिमा पूर्ण सक्रिय हुँदा निजी जीवन नै छैन जस्तो लाग्ने गथ्र्याे । राजनीतिकर्मीबाहेक अरू साथीहरूसँग भेटघाट नै हुँदैनथ्यो मेरो ।
अब बूढो भइयो । अहिले त सबै समय आफ्नै
नियन्त्रणमा छ ।
थाहा छ माक्र्सवाद के हो तर…
माक्र्सवाद के हो थाहा छ तर मैले माक्र्सवादको गम्भीर अध्ययन भने गरेको छैन । माक्र्सका केही सिद्धान्तको सामान्य अध्ययन मात्रै गरेको छु ।
पुँजीवाद अर्थात् व्यक्तिवादिता
क्यापिटलिज्मको पनि सामान्य अध्ययन गरेको छु । यसलाई पुँजीवाद नभनेर व्यक्तिवाद भन्ने कि भन्ने मलाई लागिरहन्छ । किनभने, यसमा हरेकको व्यक्तिगत स्वतन्त्रताको मात्र कुरा गरिन्छ ।
राजनीतिको भुमरीमा फसिएछ
आजभोलि त म राजनीतिबाट बाहिरै पुगेजस्तो छु । त्यसैले म अब यसैमा अगाडि बढौंँ भन्ने पनि सोच्दिनँ । प्रचार-प्रसारमा म कहिल्यै रमाइनँ । वास्तवमा ‘राजनीति गर्छु’ भनेर म कस्सिएर लागेको होइन । यसको केन्द्रीय भुमरीमा म कहिल्यै पर्न चाहिनँ, हेर्दाहेर्दै फसियो । अरूकै पहलले म यहाँसम्म आइपुगेको हुँ । राजनीतिमा वा कुर्सीमा टिक्न अरूले जस्तो हत्कन्डा अपनाउँछन्, म त्यतापट्ट कहिल्यै लागिनँ । यही मेरो कमजोरी हो जस्तो लाग्छ । म त किनारमा बसेर माझीले बगिरहेको नदी हेरेजस्तो राजनीतिलाई पनि हेर्न चाहन्छु । म स्वेच्छाले नै राजनीतिबाट बाहिर बसेको हुँ । अब राजनीतिमा कुनै रुचि छैन ।
आफूलाई कसैसँग तुलना गर्न सक्तिनँ
म कुनै महान् मान्छे होइन । हाइस्कुलमा पढुन्जेल महात्मा गान्धी मन पर्दैनथ्यो । त्यसबेला अलिकति क्रान्तिकारी थिएँ कि जस्तो लाग्छ, त्यसैले भारतका गरमदल आजाद हिन्द फौजका नेता सुवासचन्द्र बोस मन पथ्र्यो । तर, पछि बुझ्दै गएपछि गान्धीजी निकै मन पर्न थाल्यो । गान्धीलाई म बढी नै आदर्श ठान्छु, स्वराज्य र प्रजातन्त्र । यो संसारभरिकै समस्या न पुँजीवादले समाधान गर्न सक्छ न माक्र्सवादले । बरु महात्मा गान्धीको हृदय परिर्वतन गर्ने स्टाइलले नै संसार परिर्वतन हुन्छ । म उहाँलाई पछ्याउन चाहन्छु । र, आफूलाई कसैसँग तुलना गर्न सक्दिनँ, उहाँ धेरै महान् हुनुहुन्थ्यो । आवश्यक पर्दा संयमित रहन्छु
म संयमित हुनुपर्छ भन्ने विचारचाहिँ मनभित्र छ । सधैँ संयमित हुन्छु भनेर त कसरी भन्ने ? आवश्यक परेको बेला संयम लिन सक्छु ।
कूटनीतिक छैन म आपसी व्यवहारमा म कूटनीतिक छैन । कूटनीति पनि राजनीतिमातहत नै हुन्छ । तर, पहिले प्रधानमन्त्री हुँदा राजनीति-कूटनीतिमा तालमेल मिलेकै जस्तो लाग्थ्यो ।
मेरा पि्रय लेखक
देवकोटा, दोस्तोयब्स्की, चेखभ, टाल्सटाय, मोपाँसा ।
मन परेको किताब
हुन त धेरैले दोस्तोयब्स्कीको ‘ब्रदर्स कार्माजोब’ लाई बढी नम्बर देलान् । मलाई चाहिँ उहाँकै अर्को आख्यान ‘द इडियट’ बढी मन पर्छ ।
फुर्सदमा…
पहिले किताब बहुतै पढ्थँ। अहिले त खाली छु । तर, बुढ्यौली लागेपछि यो पढ्छु, यसरी पढ्छु भनेर भनेर समय छुट्याउन पनि गाह्रै पर्दोरहेछ । भर्खर मेरो आफ्नै द्वन्द्वकालीन कथासंग्रह ‘पाहुनाघर’को अन्तिम सम्पादन गरेर मुद्रणका लागि प्रेसमा पठाएँ । यसमा सातवटा द्वन्द्वकालीन कथा छन् । अहिले बाइबल पढ्दै छु, धार्मिक क्षेत्रमा मेरो निकै झुकाब छ ।
म होइन, राजनीतिको ‘बार्‍हौँ खेलाडी’
राजनीति अभिमन्युको चक्रव्यूहजस्तो हो, यहाँ भित्र पस्न सकिन्छ, बाहिर निस्कन सकिँदैन । अरूले जे भने पनि राजनीतिको मैदानबाहिर बसेर खेल खेल्ने खेलाडी म होइन, ।
जिन्दगीको अधिकतम सपना
मैले जिन्दगी बुझ्न सकिनँ । म अझै पनि जिन्दगीलाई बुझ्न चाहन्छु । जिन्दगी त अरूले भनेजस्तै यात्रा नै रहेछ । मलाई लाग्छ, यसको यात्राबाट मोक्ष वा निर्वाणमा पुग्न सकिन्छ ।
प्रस्तुतिः दीपक सापकोटा

प्रतिक्रिया