गोल्फले गुडाएको जिन्दगी

एउटा सानो बालक आफ्नो घर अगाडि उभिइरहन्छ र बाटोपारि हेरिबस्छ । काठमाडौंको सिनामंगलमा छ त्यो घर । बाटोपारि अलि माथि लागेपछि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल     छ । र, त्यसकै छेउमा दशकौंदेखि बिस्तारिएको छ नेपाल गोल्फ क्लबको मैदान । त्यो बालक घरबाट त्यही गोल्फकोर्समा अनेकथरि मानिसलाई पातलो लामो लट्ठीले सानो बल हान्दै खेल्ने गरेको देखिरहन्थ्यो । खेल्ने, खाने र पढ्ने उमेर थियो त्यो । तर त्यो बालकलाई किताबभन्दा त्यही गोल्फ मैदानले अनौठो गरी तानिरह्यो । अनि एउटा इच्छा पन्पियो- ओह, म पनि त्यसरी नै गोल्फ खेल्न पाएँ !
त्यही इच्छाले डोर्‍याउँदा-डोर्‍याउँदै त्यो बालक गोल्फ खेल्न एकोहोरिंदै गयो । उसका पिता त्यही गोल्फ कोर्समा सामान्य रेखदेखको काम गर्थे । पिताका कुराबाट उसले गोल्फका ‘जार्गन’ सिक्दै गयो, खास शब्द र अर्थ बुझ्दै आयो । तर फुच्चे भएकाले गोल्फकोर्समा छिर्न पाउँदैन थियो । उसले साथी बटुल्यो अनि बाहिर बाटामा, बाटाको छेउछाउमा र टाढा खेतहरूमा आफ्नो अर्थको ‘गोल्फ’ खेल्न थाल्यो । उमेर बढ्दै गएपछि उसले गोल्फ क्लबमा मैदानको सरसफाइमा सघाउने काम पायो, अरुले खेल्दा उनीहरूको बल टिपेर ल्याउने ‘बल ब्वाइ’ बन्यो, अनि ‘क्याडी’ बन्यो, क्याडी च्याम्पियनसिप जित्यो, एमेच्योर बन्यो र धेरै उपाधि जित्यो । अन्ततः प्रोफेसनल खेलाडीमा फेरियो । आज त्यही बालकलाई दुनियाँ शिवराम श्रेष्ठ भनेर चिन्छ, जो पछिल्ल् तीन वर्षदेखि वरियतासूचीमा नेपालका नम्बर वान गोल्फर हुन् ।
शिवराम मानौं गोल्फ खेल्नकै लागि जन्मिएका हुन् । उनी भन्छन् पनि त्यही, ‘मेरो अरु केही सपना र जपना छैन । गोल्फ खेल्नेभन्दा पर मैंले अरु केही सोचेको पनि छैन । उमेरले भ्याएसम्म र शरीरले थामेसम्म म जीवनभरि गोल्फ खेलिरहने छु ।’ कहाँसम्म भने अहिलेसम्म अविवाहित नै रहेका २७ वर्षीया शिवराम आफ्ना सन्तानलाई पनि गोल्फ खेलाडी नै बनाउने इच्छा साँचेर बसेका छन् ।

पन्ध्र वर्षको उमेरमा ‘बल ब्वाइ’ बनेका शिवरामले पछिल्ला दस वर्षमा गोल्फ खेलेर मात्र झन्डै पच्चिस लाख रुपियाँ पुरस्कार राशि जितिसकेका छन् । उनले प्रोफेसनल गोल्फ खेल्ने क्रममा सिजन २०११- २०१२ मा मात्र  ९ लाख ०९ हजार ६ सय रुपियाँ, सिजन २०१०-२०११ मा ५ लाख ८८ हजार   रुपियाँ, सिजन २००९-२०१० मा १ लाख ५३ हजार २ सय ५० र सिजन २००८-२००९ मा ४ लाख ९८ हजार ६ सय ६७ रुपियाँ पुरस्कार जितेका थिए । शिवराम र अन्य गोल्फरमा फरक कहाँसम्म छ भने गोल्फबाट पुरस्कार रकम कमाउनेमा दोस्रो स्थानमा रहेका वर्तमान नेपाल नम्बर दुई रवि खड्काको ‘करिअर अर्निङ’ केवल ११ लाख ०५ हजार ७ सय ६६ रुपियाँ मात्र छ ।
प्रोफेसनल भएरै शिवरामले मार्च २०१२ सम्ममा सत्रवटा उपाधि जितिसकेका छन् । एमेच्योर भएर खेल्दा उनले नेपालमा हुने सबै एमेच्योर उपाधि जितिसकेका थिए । अब नेपालमा प्रोतर्फ उनले जित्न बाँकी एउटै मात्र प्रतियोगिता ‘सूर्य नेपाल मास्टर्स’ मात्र हो, जुन हालसम्म एकजना नेपाली -दीपक थापा मगर, सन् २००७ मा) ले मात्र जितेका छन् । त्यसो त शिवरामले उच्च स्थान हासिल गरेको सबैभन्दा ठूलो प्रतियोगिता सूर्य नेपाल मास्टर्स ओपन हो जसमा सन् २०११ र २०१२ दुवै वर्ष दक्षिण एसियाका सवा सयभन्दा बढी प्रतियोगीबीच उनी तेस्रो स्थानमा रहेका थिए । यसै वर्षदेखि सूर्य मास्टर्सले पिजिटिआई -प्रोफेसनल गोल्र्फस टुर अफ इन्डिया) सित आबद्धता पाएपछि त्यसको र्‍याङकिङमा राखिने भएको छ, जसले गर्दा यो ओपन झन् प्रतिस्पर्धात्मक बन्दै गएको छ ।
उनले जितेकै ठूलो प्रतियोगिताचाहिं काठमाडौ मेडिकल कलेज -सिएमसी) ओपन हो, जुन सूर्य मास्टर्सपछि नेपालको दोस्रो ठूलो प्रोफेसनल प्रतियोगिता पनि हो । शिवरामले यो ओपन सन् २००७, २०११ र २०१२ गरी तीनपटक जितिसकेका छन् । यी सबै सफलता र खेलेरै लाखौँ रुपियाँ कमाउन सक्ने भएका शिवरामको परिश्रमका जरा गहिरो गरी भुइँमा गाडिएका छन् ।

गृहिणी आमा प्यारी  र पिता अर्जुन श्रेष्ठका तीन छोरा सन्तानमध्ये माहिला हुन् शिवराम । कामपा-९ सिनामंगलमा १७ वैशाख २०४१ मा जन्मेका हुन् उनी । भाइलाई पढ्नमा रुचि छ तर दाइ जयराम भने गोल्फ नै खेल्छन् र प्रोफेसनल समेत भइसकेका छन् । तर दाइचाहिं शिवराम जत्तिको ‘गोल्फ क्रेजी’ छैनन् ।
सायद शिवराममा गोल्फप्रति जन्मजात रुचि थियो । त्यसैले अध्ययनप्रति खासै जाँगर नै देखाएनन्, पढाइ सधैँ सामान्य रहिरहयो । अहिले उनलाई लाग्छ- किताबको संसारले के गथ्र्यो कुन्नि, तर गोल्फले उनलाई सबैतिर चिनाएको छ । उनी अहिले जे छन्, त्यो सबै त्यही गोल्फ खेलकै देन हो । उनी भन्छन्, ‘गोल्फ क्लबको छेउमै घर भएकाले गोल्फप्रति अग्घोर रुचि पलाएको थियो । तर खेल्नका लागि क्लब छिर्न पाइँदैन थियो । अनि रहर पूरा गर्न हामीले उपाय निकाल्यौं ।’
उनीहरू केही साथी भेला भए । रुखका हाँगा भाँचे र त्यसलाई बंग्याएर अनि पातलो डोरीले बाँधेर गोल्फको लट्ठी -क्लब) बनाए । पुराना बल पाउन गाह्रो भएन । अनि त्यसरी बाटाघाटा र चौरहरूमा अगाडि बढ्यो उनीहरूको अनौपचारिक गोल्फ यात्रा । त्यतिबेला शिवराम १२ वर्षजतिका थिए । उनी बिहान खेल्थे, साँझ खेल्थे र कहिलेकाहीँं त दिनभरि पनि । रुखका हाँगा बाङ्गो पारेर खेल्न थालेपछि कहिलेकहिले त उनलाई खाना र घरको पनि याद आउँदैन थियो । एक किसिमको बहुलट्ठीपनजस्तो ।
त्यसैगरी केही वर्ष बिते । सायद पन्ध्र वर्ष पुगेका थिए उनी । त्यतिबेलै उनले क्लबमा सिक्न आउनेहरूको बल टिपेर ल्याउने ‘बल ब्याइ’ को काम पाए । करिब डेढ वर्ष उनले त्यही काम गरिरहे तर अब गोल्फ खेल्न भने उनलाई रुखका हाँगा चाहिएन्, उनी क्लबभित्रै पनि गोल्फ स्टिक समातेरै खेल्न पाउने भए । उनको खुसीको ठेगाना थिएन । उनलाई लाग्थ्यो- म जति खुसी, म जति भाग्यमानी यो संसारमा अरु को पो छ होला र !
सत्र वर्षको उमेमा उनी ‘क्याडी’ बने, अर्थात्- गोल्फरको सामान भएको गोल्फ ब्याग बोक्ने । दुई तीन वर्ष त्यसरी नै बिते । अनि उनले २००४ मा क्याडी टुर्नामेन्टमा प्रतिस्पर्धा गरे र उपाधि नै जिते । त्यसपछि उनी एमेच्योर खेलाडीमा रुपान्तरित भए । अनि एकपछि अर्को एमेच्योर उपाधि जित्दै जान थाले । क्रमशः जीवनको परिभाषा फेरिन थाल्यो र उनी सन् २००७ को अन्त्यतिर उपल्लोस्तरमा पुगे । अब उनी प्रोफेसनल ‘टर्न’ भए । उनलाई मुलुकभित्र जित्न सक्ने अर्को खेलाडी नै हुन छाड्यो । अहिले शिवराम र सफलता एकअर्काका पर्यायजस्ता भएका छन् ।
उनीसितै रुखका हाँगा समातेर खेल्ने केटौले साथीहरू सूर्यप्रसाद शर्मा, रवि खड्का, जयराम श्रेष्ठ, धन थापा, पुष्कर राजवाहक, पूर्ण शर्मा सबै प्रोफेसनल गोल्फ खेलाडी भएका छन् ।

भनाइ नै छ- जहाँ इच्छा, त्यहाँ उपाय । शिवरामसित पनि यस्तै भयो । उनको पारिवारिक अवस्थाले उनलाई गोल्फ खेल्न पूर्ण साथ दिन सक्दैन्थ्यो । तर उनको खेल र खेलप्रति उनको लगनशील क्षमता देखेर गोल्फ क्लबकै वरिष्ठ सदस्यहरूले उनीप्रति सहयोगका हात बढाए । उनी भन्छन्, ‘मलाई सबै किसिमले सहयोग गर्ने सर टासी घले हुनुहन्छ । उहाँले नै मलाई विभिन्न तालिमको व्यवस्था मिलाइदिनुभएको हो ।’
उनले एमेच्योर भएलगत्तै टासीकै सहयोगमा २००४ मा भारतको गुडगावँमा डिएलएफ गोल्फ क्लबमा गएर दुई महिना तालिम गरे । त्यसपछि टासीले नै बोलाएका अमेरिकी प्रशिक्षक एरोन बर्गम्यानबाट नेपाल गोल्फ क्लबमै एक महिना तालिम लिए । उनै बर्गम्यान थाइल्यान्डमा प्रशिक्षक भएर बसेका बेला उनैले बोलाएर कहिले तीन महिना, कहिले दुई महिनासमेत पटकपटक गरी नौ महिना जति थाइल्यान्डमै गएर थप एमेच्योर गोल्फ सिक्न पाए उनले । भन्छन्, ‘त्योबेला सबै आर्थिक सहायता टासी सरले गर्नुभएको थियो ।’
फेरि बर्गम्यान भारत आएको बेला शिवरामले एक साताजति भारत बसेर तालिम पाए । पछि सन् २०१० मा बर्गम्यानले अमेरिकाको न्युयोर्क बोलाएर ४० दिन सँगै राखी शिवरामलाई प्रोफेसनल गोल्फर तालिम दिए । त्यहाँबाट फर्केलगत्तै नेपालको नम्बर वान गोल्फरको हैसियतले उनी एसियन टुर टुर्नामेन्टमा सहभागी हुन जापान पुगे, तर त्यसपटक उनी ‘कट मिस’ का रुपमा असफल रहे ।
प्रचण्डबहादुर श्रेष्ठ अहिले नेपाल गोल्फ क्लबका अध्यक्ष हुन् । उनी भन्छन्, ‘शिवरामको शक्ति पनि र कमजोरी पनि उनको ‘एग्रेसिभनेस’ हो । उनमा निकै राम्रो क्षमता छ । तर उनले आफ्नो ‘टेम्परामेन्ट’ सुधार्नुपर्छ ।’ शिवरामको खेल हेर्नेहरू सबै प्रचण्डको यो भनाइसित सहमत छन् ।

पिता पछिल्ला २५ वर्षदेखि गोल्फ क्लबमा कार्यरत छन् । स्वयं शिवराम पनि त खेल्नेबाहेक त्यहीं आबद्ध छन् । उनी त्यहाँ ‘स्टार्टर’ को पदमा काम गर्छन् । ग्रुप मिलाउने र मार्सलिङ गर्ने काम हो उनको । अर्थात्- नियमहरू बताउने, गेम छिटो खेल्न लगाउने र अर्को टिमलाई खेल्न समय र स्थान मिलाइदिने, गोल्फ ड्रेस लाए नलाएको जाँच गर्ने
-जिन्स लगाउन नपाइने र सफ्ट जिन्स मात्र प्रयोग गर्न पाइने), एक्लै खेल्न नपाउने आदि रेखदेख गर्छन् ।
पाँच फिट ११ इन्च अग्ला शिवरामलाई राशिप्रति ठूलो विश्वास छ । पत्रपत्रिकामा उनी खोजीखोजी सिंह राशि पढ्ने गर्छन् । भन्छन्- त्यसमा लेखिएका धेरै कुरा मिल्ने गर्छन् । र, त्यही राशिअनुसार आउँदो एक-डेढ वर्षमा यी नब्बे किलो शरीरधनीको वैवाहिक ग्रह अत्यन्त अनुकूल छ रे ।

नेपालमा गोल्फ कोर्स धेरै छैनन् । विश्वस्तरको एउटै मात्र कोर्स गोकर्णस्थित गोल्फ मैदान हो । अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको नेपाल गोल्फ कोर्स, धरान र पोखरामा रहेका गोल्फ कोर्स अनि नेपाली सेनाको गोल्फकोर्स- बस् यत्ति पाँचवटा हुन् नेपालमा भएका गोल्फकोर्स । ती ठाउँमा नियमित अनियमित खेल्न जाने गोल्फरको संख्या दुई हजारको हाराहारीमा हुन सक्छ । लिखित तथ्यांक छैन, तापनि भरपर्दो स्रोत यही भन्छ । यिनै दुईहजारमध्ये शिवराम पनि एक हुन् ।
निर्दोष अनुहार र बालसुलभ मुस्कान उनका विशेषता हुन् । गोल्फ खेलसित सम्बन्धित सबै उनलाई माया र सम्मान गर्छन् । र, भन्छन्- शिवराममा नेपाली टाइगर उड्स बन्न सक्ने क्षमता छ । तर अहिले नै उनलाई त्यो उपाधिले सम्बोधन गर्नु ‘अलि हतारो’ नै हुन्छ ।

प्रतिक्रिया