शक्ति आइपीएलनिम्ति जयपुर प्रस्थान

काठमाडौं, १६ चैत । भारतमा सञ्चालन हुने टी-ट्वान्टी क्रिकेट प्रतियोगिता इन्डियन पि्रमियर लिग -आइपिएल) खेल्ने महत्वाकांक्षी लक्ष्यका साथ नेपाली भेट्रान स्पिनर शक्ति गौचन बिहीबार जयपुर प्रस्थान गरेका छन् ।
राजस्थान रोयल्सले बुधबार साँझ ‘ट्रायल’ का लागि बोलाएलगत्तै बुटवल निवासी शक्ति बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् । बिहीबार ‘रिपोर्टिङ’ गर्ने गरी राजस्थानले उनलाई बोलाएको थियो । राजस्थानले ‘डेभलपमेन्ट स्क्वाड’ मा राखेर शक्तिको ट्रायल हेर्ने जनाइएको छ । त्यसमा हुने परीक्षणका आधारमा शक्तिलाई आबद्ध गराइने/नगराइने विषयमा राजस्थानले निर्णय लिने नेपाल क्रिकेट संघ -क्यान) ले जनाएको छ ।
आइपिएल पाँचांै संस्करणसम्म आइपुग्दा अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले खेल्ने त परै जाओस्, ट्रायलको सम्म मौका पाएका थिएनन् । केही समयअघि युएईमा सम्पन्न आइसिसी टी-ट्वान्टी विश्वकपको विश्वस्तरको छनोटमा उत्कृष्ट प्रदर्शन गरेपछि शक्ति राजस्थान रोयल्सको नजरमा परेका हुन् । युएईको प्रतियोगितामा एक हयाटि्रकसहित शक्ति १६ विकेट लिएर धेरै विकेट लिने बलरको सूचीमा तेस्रो स्थानमा रहेका थिए । नेपाली टोलीका श्रीलंकन प्रशिक्षक पुवुदु दसानायकको भारतीय सम्पर्कका आधारमा शक्तिलाई यो अवसर मिलेको हो । यस ट्रायलका लागि शक्तिको सम्पूर्ण हवाई खर्च क्यानले व्यहोर्नेछ भने बन्दोबस्तीको जिम्मा राजस्थान रोयल्सले लिएको छ । राजस्थान सन् २००८ मा सुरु भएको आइपिएलको पहिलो संस्करणको विजेता हो । यसको पाँचौं संस्करण आगामी ४ अपि्रलदेखि सुरु हुँदै छ ।

प्रतिक्रिया