गणतान्त्रिक उत्साहित

काठमाडौ, १३ चैत । माओवादी पार्टीको आन्तरिक विवाद नेपाली खेलकुदमा फेरि प्रतिविम्बित हुन थालेको छ । सार्वजनिक लेखा समितिले राष्ट्रिय खेलकुद परिषद्लाई छैटौ राष्ट्रिय खेलकुदको पेस्की फछ्यौट गर्न आठ दिनको समय दिएको एक दिनपछि सोमबार उपाध्यक्ष मोहन वैद्य समूहनिकट रहेको नेपाल गणतान्त्रिक खेलकुद महासंघले पनि पत्रकार सम्मेलनको आयोजना गर्दै निष्पक्ष छानबिनको माग गरेको छ । आइतबार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि डिएसपी अर्जुन चन्दको नेतृत्वमा तीन सदस्यीय छानबिन आयोग गठन गरेको थियो ।
सोमबार पत्रकार सम्मेलनमा बोल्दै महासंघ अध्यक्ष जयन्द्र चन्दले आफ्नै माउपार्टीको नेतृत्वमा खेलकुद रहे पनि त्यहाँ भइरहेको भ्रष्टाचारका विरुद्धमा आन्दोलन गर्ने चेतावनी दिए । आन्दोलनको स्वरूप भने सरकारले गरेको छानबिनको निष्कर्ष सार्वजनिक भएपछि मात्र प्रस्ट पार्ने  चन्दले बताए । महासंघले पाँचवटै क्षेत्रमा भएका क्षेत्रीय छनोट खेलमा पनि भ्रष्टाचार भएको दाबी गर्दै छानबिनको माग गरेको छ । पत्रकार सम्मेलनमा भ्रष्टाचारको विषय प्राथमिकताका साथ उठाइए पनि यसलाई माओवादीको भ्रातृसंस्थाको आन्तरिक कलहको एउटा पाटोको रूपमा  हेरिएको छ ।
आफ्नै माउसंस्थाको नेतृत्वमा युवा तथा खेलकुद मन्त्रालय रहे पनि प्रतिपक्षझै रहेको चन्द नेतृत्वको महासंघ र परिषद्बीचको कलह भने युवराज लामा सदस्य-सचिव भएदेखि नै सुरु भएको थियो । हितमान तामाङले मन्त्रालय सम्हालेको केही समयमा लामालाई सदस्य-सचिव बनाइएपछि खेलकुदमा लागेकालाई पार्टीले बेवास्ता गरेको आरोप चन्दले लगाएका थिए । चन्द समूह लामा कार्यकारी प्रमुख रहेको खेलकुद परिषद्को विरुद्धमा रहेपछि लामाले पनि महासंघका पूर्वअध्यक्ष ध्रुवविक्रम मल्ललाई निकट राखेका थिए ।
बालाजु कराते एकेडेमीका प्रमुखसमेत रहेका मल्लको सहयोगमा लामाले अफिसियल करातेका तीन स्टाइललाई एकीकृत गरे । यस क्रममा नेपाल सोतोकान कराते महासंघ, नेपाल गोजुरियो कराते महासंघ र नेपाल बादोरियो कराते महासंघ गठन भएका थिए । तर, चन्द पक्षधर भने त्यो समयमा पनि विपक्षीझैं थियो । नेपाल सितेरियो कराते संघ विघटन गर्दै दावा गुरुङलाई अध्यक्ष बनाइएपछि विवाद झनै चुलिएको थियो । कराते खेलाडी तथा कराते महासंघका उपाध्यक्ष रहेका सभासद् किरण राईलगायतको एउटा ठूलो समूह दावालाई सितेरियो कराते संघको अध्यक्ष बनाएका कारण एकदमै आक्रोशित थियो । राईसहितको समूह आक्रोशित भएपछि दुई पक्षको दूरी अझै धेरै बढेको हो ।
यसको लगत्तै सरकारमा आएको परिवर्तनसँगै खेलकुद मन्त्रालयको जिम्मेवारी ओनसरी घर्तीले पाएकी थिइन् । रोल्पाकी ओनसरी खेलकुदमन्त्री भएपछि लामाले चन्दलाई नजिक राखेका थिए । ‘जयन्द्र’ पार्टीमा वैद्य समूहका प्रभावकारी नेता नेत्रविक्रम चन्दका दाइ हुन् । ओनसरीपछि मन्त्रालयको जिम्मेवारी कमला रोकाले पाएपछि चन्द पक्ष र लामाको दूरी फेरि बढेको थियो जसका कारण चन्द आफ्नै पार्टीको सरकार हुँदा पनि फेरि विपक्षीझैं रहेका थिए ।
पार्टीको केन्द्रीय समितिमा कुलप्रसाद केसी खेलकुद विभाग प्रमुख हुंदा भ्रातृसंस्थाको नेतृत्व गर्ने अवसर पाएका चन्दका लागि केसी हटेर टोपबहादुर रायमाझी प्रमुख बन्नु झन् असहज परिस्थितिको कारण बन्यो । रायमाझीको उपस्थितिमा भेला बसेर रणसंग्राम विष्टलाई महासंघको अध्यक्ष बनाइएपछि दुवै समूह परिषद्परिसरमै साइनबोर्ड टाँगेर आ-आफू आधिकारिक भएको दाबी गर्दै आइरहेकै छन् । समय-समयमा असन्तुष्टिको आवाज उठाउने गरेको चन्द नेतृत्वको महासंघका लागि अख्तियार र लेखा समितिको कदम परिषद् नेतृत्वको विरुद्धमा खरो उत्रनेे अवसरसमेत भएको छ । महासंघको अध्यक्षको रूपमा चन्द देखिए पनि उनलाई माओवादीका पूर्वखेलकुद विभाग प्रमुख केसी र सभासद् राईको बलियो समर्थन भएका कारण एउटा शक्तिकै रूपमा हेरिएको छ ।
लामाको विरुद्धमा चन्द नेतृत्वको नेपाल गणतान्त्रिक खेलकुद महासंघ मात्र होइन, परिषद्कै केही अधिकारी पनि रहेका छन् । छैटौं राष्ट्रिय खेलकुदको समयमा नै आफ्नो भूमिका गौण देखेपछि परिषद्का केही सदस्य राष्ट्रिय खेलकुदको बीचमै काठमाडौं फर्किएका थिए ।
राष्ट्रिय खेलकुद महोत्सवलगत्तै सदस्य-सविच लामाले कोषाध्यक्ष इन्द्रबहादुर थिङलाई कार्यवाहक दिएर बिदा बसेपछि परिषद्भित्रकै एउटा समूह भने उत्साहित छ । ‘उनी हामीले जे भन्यो त्यो मान्ने गरी आए फेरि सदस्य-सचिव हुन्छन् । नत्र हामीले नै उनलाई बिदा गर्नेछौ ।’ बिरामी बिदामा रहेका लामालाई इंगित गर्दै एक परिषद् सदस्यले भने ।

प्रतिक्रिया