तीन वर्षपछि उड्सलाई उपाधि

ओर्लान्डो : ९ सय २३ दिनपछि पिजिए टुरमा टाइगर उड्सले पहिलोपटक उपाधि जितेका छन् । बे हिलमा पाँच सटले विजयी हुँदै उड्सले पिजिए टुरमा ७२आंउपाधि जिते र ज्याक निकोलसको कीर्तिमानी पिजिए टुर उपाधि संख्यालाई बराबरी गर्नबाट एकले मात्र पछि परे । २७ प्रतियोगितायता उड्सलाई यो पहिलो उपाधि हो ।
‘म फर्किरहेको छु,’ जितपछि उड्सले भने, ‘म धेरैपटक उपाधिको नजिक थिएँ, खासगरी अस्ट्रेलियापछि ।’ चोटका कारण गत वर्ष केही प्रतियोगिता गुमाएपछि उड्सको खेल भविष्यलाई लिएर धेरै अड्कलबाजी भइरहेका थिए । उनले बे हिलमा सातौंपटक उपाधि जितेर एउटै पिजिए टुर प्रतियोगितामा आफ्नै नाममा रहेको कीर्तिमान बराबरी गरे । उनले फायर स्टोनमा पनि सातपटक नै उपाधि जितेका छन् ।
‘म कहिले पनि उसको नजिक भइन,’ उड्सका निकटतम प्रतिद्वन्द्वी ग्रीम म्याकड्वेलले भने, ‘उन -उड्स) ले निकै राम्रोसँग पुनरागमन गरेका छन् ।’ उड्सले १६ प्रतियोगितामा कम्तीमा पाँच सटको जित हात पारेका छन् ।
केही वर्षअघि यौन प्रकरणमा फसेपछि धर्मराएको उनको खेलजीवन लय समाउन केही समययता संघर्षरत थियो । उनले अहिलेसम्म ८४ वटा गोल्फ उपाधि जितेका छन् ।

प्रतिक्रिया