एड्सको आशंकामा श्रीमतीको हत्या

काठमाडौं, १३ चैत । टेलिभिजनमा प्रसारण भएको एचआइभी एड्ससम्बन्धी विज्ञापनबाट सशंकित भएर राष्ट्रिय अनुसन्धान विभागका एक असईले श्रीमतीको हत्या गरेका छन् ।
सोलुखुम्बुको सल्यान–२ घर भई हाल धोबीधारामा बस्दै आएका ४२ वर्षीय  पुण्यप्रसाद निरौलाले श्रीमती ३१ वर्षीया रमिला निरौला (अधिकारी)को हत्या गरेका हुन् । निरौलाले सिलौटाले टाउकामा प्रहार गरेपछि घाइते भएकी रमिलाको बल्खुस्थित शिवज्योति अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।
प्रहरीका अनुसार निरौलाले सात वर्षका छोरा साइन्सलाई समेत सिलौटाले टाउकामा प्रहार गरेका थिए । साइन्स भने बच्न सफल भएका छन् । उनको अवस्था अहिले सामान्य छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी धीरजप्रताप सिंहका अनुसार निरौलाले ४ चैतमा धोबीधारास्थित आङ्खनै कोठामा रातको १.१५ बजे सिलौटाले टाउकामा प्रहार गरेका थिए । डिएसपी सिंहले भने, ‘घटनालगत्तै फरार रहेका उनलाई ५ चैतमा बिहान ८ बजे कमलपोखरीबाट पक्राउ गरियो ।’
उनी राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय काठमाडौंमा कार्यरत थिए । उनले नेपाल टेलिभिजनमा प्रसारण भएको एचआइभी एड्ससम्बन्धी विज्ञापन हेरेर सशंकित भएपछि श्रीमती र छोरासहित आफू पनि मर्ने उद्देश्यले सिलौटो प्रहार गरेको बयान दिएका छन् ।
प्रहरीलाई दिएको बयानअनुसार उनी घटना हुनुभन्दा तीन दिनअघि परिवारसगै बसेर टिभी हेर्दै थिए । त्यहीबेला टिभीमा एचआइभी संक्रमण भएपछि शरीरमा देखिने लक्षणबारे विज्ञापन प्रसारण भयो । प्रसारण भएजस्तो लक्षण आङ्खनो शरीरमा पनि भएको शंका लागेपछि उनी काठमाडौं मेडिकल कलेजमा रगत जचाउन पुगे । अस्पतालले गम्भीर रोग लागेको भनेपछि उनी आफूमा एड्स नै भएको निष्कर्षमा पुगे । तनाबमा परेका उनले श्रीमतीबाट एड्स सरेको आशंका गर्न लागे । उनी श्रीमतीप्रति भित्र–भित्रै क्रुद्ध बनेका थिए । उनले त्यहीबेला आफूसहित सबैलाई ‘सिध्याउने’ योजना बनाए । योजनाअनुरूप उनले गत ४ गते राति छोरा र श्रीमतीलाई सुतेको मौकामा सिलौटाले प्रहार गरे । उनले आफूमाथि भने प्रहार गर्न सकेनन् ।
प्रहरीका अनुसार उनले श्रीमतीको हत्या एड्स रोगको आशंकाका कारण नै गरेको दाबी गरेका छन् । डिएसपी सिंहले भने, ‘टिभीमा प्रसारण भएको एड्सको विज्ञापनबाट प्रभावित भएपछि परीक्षण गर्न उनी मोडल अस्पताल पुगे, आवेगमा आएका उनले त्यसपछि हत्याको योजना बनाएको देखिन्छ ।’ उनका अनुसार श्रीमती हत्याको अरू कुनै कारण देखिदैन ।
उनीविरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा दायर गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया