गुमेको साख र्फकने आसमा तेक्वान्दोप्रेमी

काठमाडौं, १२ चैत । ‘लन्डन ओलम्पिक, २०१२’ का लागि भएको छनोट खेलमा नेपाली तेक्वान्दो खेलाडी असफल भए । यो नै नेपाली तेक्वान्दोको पहिलो असफलता भने थिएन । यसभन्दा अघि एसियाडमा पाएको निरन्तर सफलता ग्वाङझाउ एसियाडमा टुटेको थियो । सन् १९८६ को सोल एसियाडदेखि लागातर पदक जितेको नेपाली तेक्वान्दो टोली ग्वाङझाउमा आफ्नो साख जोगाउन असफल भएको थियो ।
सफलताको मापदण्ड राख्ने हो भने नेपाली खेलकुदको नम्बर एक खेल तेक्वान्दो नै हो भन्नेमा विवाद हुन सक्दैन । सन् १९८८ को सोल ओलम्पिकको प्रदर्शनी खेलमा विधान लामाले पाएको कांस्यपदक, विश्व महिला च्याम्पियनसिपमा सीता राईको सफलता, सन् १९९७ मा संगीना वैद्यले प्राप्त गरेको एसियन च्याम्पियनसिपको ताज र सविता राजभण्डारीले बैंकक एसियाडमा पाएको रजतपदकले तेक्वान्दोलाई नेपालको नम्बर एक खेलको रूपमा पुष्टि गरेको छ ।
काठमाडांैमा भएको आठा दक्षिण एसियाली खेलकुदमा १६ मध्ये १४ स्वर्णपदक जितेको नेपाली तेक्वान्दो टोलीले पाकिस्तानमा भएको नवौं सागमा आठमध्येका सात स्वर्णपदक जितेको थियो । तर, अहिले लाग्दै छ, कुनै समय नेपालको सान र गौरव बनेको तेक्वान्दो खेलले आफ्नो साख गुमाइसकेको छ । तेक्वान्दो खेलले साख गुमाउनु नेपाली खेलकुदको निर्विवाद चिन्ता र चासोको विषय हो तैपनि खुसीको कुरा के छ भने त्यो गुमेको साख र्फकने आस भने फेरि तेक्वान्दो वृत्तमा पलाएको छ ।


प्रशिक्षण शैली यथावत् नै रहे पनि नेपालमा राम्रो तेक्वान्दो एकेडेमी नरहनु र राज्य पक्षबाट यस खेलले राखेको सानलाई कायम राख्न पहल नै नहुनु असफलताको कारक रहेको जानिफकार बताउँछन् । त्यसो त पाकिस्तानमा सन् २००३ मा भएको साग खेलमा पदक जितेका प्रायः खेलाडी एकाएक विदेश पलायन भएपछि यो पुस्तान्तरणसँगै नेपाली तेक्वान्दोले आफूलाई सम्हाल्न नै सकेन ।
नेपाल तेक्वान्दो संघका महासचिव तथा मुख्य प्रशिक्षक दीपराज गुरुङ राज्यले खेलकुदको सम्वेदनशीलता नबुझेका कारण तेक्वान्दो मात्र होइन, सबै खेलको अवस्था नाजुक भएको बताउँछन् । राज्य पक्ष पुरानै ढर्राले चलेको, आर्थिक योजना नभएको र नीतिगत अस्पष्टता रहेका कारण संघ पनि योजनाबद्ध ढंगले अघि बढ्न नसकेको गुरुङ बताउँछन् ।
यो असफलताका बाबजुद नेपाली खेलकुदकी सर्वकालीन उत्कृष्ट खेलाडी संगीना वैद्य भने पछिल्लो पुस्ताबाट आशावादी भएकी छन् । ‘विधान दाइको पुस्ताले राखेको सानलाई हाम्रो पुस्ताले जोगायो । हामीपछिको पुस्ता अस्थिर रह्यो । कहिले राम्रो खेलेर आशावादी तुल्याउने र फेरि निराश गर्ने क्रम रही नै रह्यो ।’ आफूपछिको पुस्ताबारे संगीनाले भनिन् । तर, एउटा राम्रो पुस्ता नै अमेरिका गएपछि समस्या बढेकोमा उनी सहमत छिन् । संगीना खेलाडीको इच्छाशक्तिमा आएको कमी नै असफलताको एउटा प्रमुख कारण भएको बताउँछिन् । ‘हाम्रो समयको प्रशिक्षणभन्दा अचेलको राम्रो छ र सुविधा पनि छ । तर, केही गर्नैैपर्छ भन्ने भावनाको चाहिँ कमी छ ।’ ज्ञानी चुनारालगायत छैटौं राष्ट्रिय खेलकुदमा देखिएका केही प्रतिभा साँच्चै प्रतिभाशाली भएको र मिहिनेत गरे यसले गिरेको साख फर्कार्उने सम्भावना प्रबल भएको बताउँदै उनी भन्छिन्, ‘गुमेको आस राष्ट्रिय खेलकुदमा देखेको प्रतिभापछि फेरि जागेको छ ।’
तीन महिनाअघि चितवनमा भएको तेक्वान्दो संघको साधारणसभाले नेपालमा दक्षिण एसियाकै उत्कृष्ट तेक्वान्दो एकेडेमी बनाउने महत्वाकांक्षी योजना पारित गरेको थियो । एकडेमीका योजनाकार संघका उपाध्यक्ष तथा इन्जिनियर सञ्जीव रेग्मी एकेडेमीको निमार्णपछि तेक्वान्दोले कायापलट गर्ने विश्वासमा छन् । नेपाली तेक्वान्दो आर्थिक रूपले सक्षम हुने, प्राविधिक दक्षताका लागि विदेश जानु नपर्ने र प्रशिक्षण सहज हुने भएकोले एकेडेमीको निमार्णसँगै तेक्वान्दो नयाँ युगमा प्रवेश हुने उनले बताएका थिए । महासचिव गुरुङ पनि राज्यले चासो दिएर एकेडेमीको काम चाँडो सके संघ आर्थिक र भौतिक रूपमा सक्षम हुने र आफूहरूसँग भएको प्रतिभाशाली पुस्ताले फेरि उचाइ पाउने कुरामा विश्वस्त छन् ।
प्रतिभाशाली पछिल्लो पुस्ता र एकेडेमीको निमार्णले नेपाली तेक्वान्दो विगतको सफलताको ब्याज मात्र खोज्ने खेलको रूपमा होइन फेरि एकपटक राज्यको साखलाई माथिल्लो उचाइमा पुर्‍याउने खेलकै रूपमा स्थापित हुन सक्नेछ । तर, यो सबै खेलाडीको दृढ इच्छाशक्ति र राज्यको प्रस्ट नीतिले मात्र सम्भव छ ।

प्रतिक्रिया