पोलार्डको शतकपछि इन्डिजलाई अग्रता

सेन्ट लुसियाः किरोन पोलार्डको विस्फोटक शतकपछि वेस्टइन्डिजले अस्ट्रेलियाविरुद्धको पाँच एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत चौथो खेलमा शनिबार ४२ रनको जित हात पारेको छ । पछिल्लो खेलमा रोमाञ्चक बराबरी हुनुअघि दोस्रो खेलमा जित हात पार्दै शृङ्खलामा फर्किएको घरेलु टोली वेस्टइन्डिजले दोस्रो जितसँगै २-१ ले अग्रता लिएको छ ।
पोलार्डको ७० बलमा १ सय २ रनको इनिङपछि टस जिती पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा २ सय ९४ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा पाहुना टोली अस्ट्रेलिया ४६ ओभर तीन बलमा २ सय ५२ रनमा समेटियो । अस्ट्रेलियालाई लक्ष्यपूर्व नै सीमित गर्ने क्रममा केमार रोच, ड्वायन ब्राभो, ड्यारेन सामी र आन्द्रे रसेलले समान दुई विकेट हात पारे ।
अस्ट्रेलियाका लागि ब्रेट लीले आक्रामक इनिङ खेल्दै ५९ रन जोडे भने डेभिड हसीको नाममा पनि ५७ रन रह्यो । आठां नम्बरमा ब्याटिङमा उत्रिएका लीले ४८ बल खेल्दै पाँच चौका र पाँच छक्का प्रहार गरे । ६२-३ को स्थितिमा चौथो विकेटका लागि ४९ रनको साझेदारी भए पनि डेभिड हसी र लीबाहेक कुनै पनि खेलाडीले अर्धशतकीय इनिङ खेल्न सकेनन् ।
यसअघि वेस्टइन्डिजको इनिङ पोलार्डको आक्रामक इनिङवरिपरि रहेर करिब तीन सयको नजिक पुगेको थियो । दोस्रो एकदिवसीय शतक बनाउने क्रममा पोलार्डले सातां विकेटका रूपमा लीको बलमा माइकल हसीबाट समातिनुअघि पाँच चौका र आठ छक्का प्रहार गरेका थिए । उनले छैटा विकेटका लागि रसेल -३४) सँग ९४ रनको साझेदारी गरेका थिए । कप्तान ड्यारेन सामीले पनि आक्रामक इनिङ खेल्दै १३ बलमा तीन चौका र दुई छक्कासहित ३१ रन बनाए ।
यसअघि वेस्टइन्डिजको सुरुआत बलियो रह्यो । पहिलो विकेटका लागि १० ओभर एक बलमा ५६ रन जोडेको वेस्टइन्डिजका ड्वायन ब्राभो शून्यमै आउट भएपछि मध्यक्रमतिर घरेलु इनिङ केही धर्मराएको थियो । प्रारम्भिक ब्याट्सम्यानद्वय जोन्सन चाल्र्सले ३७ र एडि्रयन बाराथले ४१ रनको योगदान गरे । शृङ्खलाको पाँचौं तथा अन्तिम म्याच आइतबार हुनेछ ।

प्रतिक्रिया