नेपाल ६ विकेटले पराजित

दुबई, ६ चैत । आइसिसी विश्व ट्वान्टी–ट्वान्टी छनोट प्रतियोगिताअन्तर्गत समूह ‘ए’ मा सोमबार भएको एक महत्वपूर्ण खेलमा नेपाल प्रतिद्वन्द्वी नेदरल्यान्ड्सबाट ६ विकेटले पराजित भएको छ । पराजित भए पनि नेपालको सेमिफाइनल प्ले अफ खेल्ने झिनो सम्भावना कायमै छ ।
नेपालले आफ्नो अन्तिम खेल मङ्गलबार क्यानाडासँग खेल्नेछ । अङ्क तालिकामा अफगानिस्तान १२ अङ्क शीर्षस्थानमा छ भने नेदरल्यान्ड्स १० अङ्कसहित दोस्रो स्थानमा छ । क्यानाडाको आठ तथा नेपालको ६ अङ्क छ । दुई समूहका शीर्ष टोलीबीच फाइनल हुनेछ भने दोस्रो र तेस्रो हुने टोलीहरूले सेमिफाइनल प्ले अफ खेल्नेछन् । टस हारेर पहिले ब्याटिङ गर्न पठाइएको नेपालले अत्यन्तै फितलो सुरुआत गर्दै निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर केवल ८५ रन मात्र बनाउन सकेको थियो । सामान्य लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सले चार विकेट गुमाएर ३७ बल बाँकी छँदै अर्थात् १३.५ ओभरमै विजय हात पारेको थियो ।
नेपालका लागि ए के मन्डल र प्रदीप ऐरीले इनिङको सुरुआत गरेका थिए । तर ऐरी फेरि एकपटक असफल साबित हुँदै ६ बल खेलेर एक रनको निजी स्कोरमा आउट भए । शरद भेषवाकर, आइतबार बर्मुडाविरुद्धको विजयका नायक कप्तान पारस खड्का, महबुब आलम, पृथु बास्कोटा र शक्ति गौचन सबैले ‘आयाराम गयाराम’ जस्तो मात्र प्रदर्शन गर्न सके ।
टिम स्कोर २५ रन हुँदा पाँच विकेट गुमाइसकेको नेपालका लागि विकेटकिपर ज्ञानेन्द्र मल्लले ३२ को निजी स्कोरमा रनआउट हुनुअघि पृथु बास्कोटा (८ रनआउट) सित मिलेर २० रनको साझेदारी गर्दै स्कोर ४५ सम्म पु¥याए । पुनः मल्लले वसन्त रेग्मी (२० नटआउट) सित मिलेर इनिङको सबैभन्दा लामो साझेदारीको रूपमा ३६ रनको महत्वपूर्ण साझेदारी गरे । चौथो विकेटको रूपमा पेभेलियन फर्केका ओपनर मण्डल (११), मल्ल र रेग्मीबाहेक अन्य कुनै नेपाली खेलाडीले दोहोरो अङ्क छुन सकेनन् । भेषवाकर १ रन, पारस १ रन र आलम १ रनमा आउट भए भने शक्ति गौचन २ रनमा नटआउट रहे । चन्द्र साउद र सन्जम रेग्मीले ब्याटिङ गरेनन् । आठ रन अतिरिक्त पाएको नेपाली इनिङमा केवल ६ वटा चौका (मण्डल १, मल्ल २ र रेग्मी ३) मात्र प्रहार भएका थिए ।
टिमस्कोर पाँच रन हुँदा ऐरीको रूपमा पहिलो विकेट गुमाएको नेपालले सातमा दोस्रो (भेषवाकर), १० मा तेस्रो (खड्का), १७ मा चौथो (मण्डल),
२५ मा पाँचौं (आलम), ४५ मा छैटौं (बास्कोटा) र ८१ रनमा सातौं (मल्ल) विकेट गुमाएको थियो । मल्ल बीसौं ओभरको पहिलो बलमा आउट भएका थिए । नेदरल्यान्ड्सका लागि एम आर स्वार्टले १३ रन खर्चेर २ विकेट, मुद्दस्सर बुखारीले ९ रन खर्चेर १ विकेट, पी बोरेनले १४ रन खर्चेर १ विकेट र टी कुपरले ९ रन खर्चेर १ विकेट लिएका थिए ।
सामान्य लक्ष्य भेटाउने क्रममा नेदरल्यान्ड्सले ६.२१ औसतमा तेज गतिमा रन बनाउँदै नेपाली बलिङलाई ‘केटौले’ साबित गरिदियो । स्पिनर शक्ति गौचनले इनिङको पहिलो ओभर गरेका थिए तर कुनै उल्लेखनीय सफलता हात परेन । उनले इनिङको पाँचौं ओभरमा टिमस्कोर २२ पुगेको बेला ओपनर एस जे मायबर्ग (१५) लाई बोल्ड गरेका थिए । ११ बल खेलेका मायबर्गले १ छक्का र
१ चौका हानेका थिए ।
सहजरूपमा अगाडि बढेको नेदरल्यान्ड्सको दोस्रो विकेट ३९, तेस्रो ६० र चौथो ७८ रनको स्कोरमा ढलेको थियो । उक्त तीनवटै विकेट वसन्त रेग्मीले लिएका थिए । विजयी टोलीका लागि ओपनर एम स्वार्टले १६ रन, डब्ल्यु बारेसीले १४, ए केरभेजीले १५ रन बनाए भने टी कुपर १८ र पी बोरेन ५ रनमा नटआउट रहेका थिए ।
दुई–दुई ओभर बलिङ गरेका चन्द्र, सन्जम र पारसले डच ब्याट्सम्यानमाथि कुनै प्रभाव पार्न सकेनन् । नेदरल्यान्ड्सका एम स्वार्ट ‘प्लेयर अफ द म्याच’ भए । सोमबार नै भएका अन्य खेलमा बर्मुडाले पपुवा न्युगिनीलाई तीन रनले, क्यानाडाले डेनमार्कलाई ५५ रनले, अफगानिस्तानले हङकङलाई नौ विकेटले र स्कटल्यान्डले इटालीलाई सात विकेटले पराजित गरे । त्यस्तै, केन्याले अमेरिकालाई नौ विकेटले, आयरल्यान्डले युगान्डालाई १२ रनले र नामिबियाले ओमानलाई ३६ रनले पराजित गरेका छन् । एजेन्सी

प्रतिक्रिया