नेपालको सम्भावना कायमै

दुबई, ५ चैत । कप्तान पारस खड्काको विस्फोटक ब्याटिङसँगै आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको आइतबार सम्पन्न खेलमा नेपालले कमजोर प्रतिद्वन्द्वी बर्मुडालाई २४ रनले पराजित गर्‍यो ।
अबुधाबीको शेख जायद क्रिकेट मैदानमा आइतबार भएको खेलमा १ सय ५२ रनको विजय लक्ष्य पछ्याएको बर्मुडाले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रनको योगफल खडा ग¥यो । नेपालका शक्ति गौचनले कसिलो बलिङ गरेपछि बर्मुडाका ब्याट्सम्यान खुलेर खेल्न असमर्थ रहेका थिए । उनले चार ओभरमा १७ रन खर्चिंदै तीन विकेट लिए । बर्मुडाको जेनरियो टर्करले २७ बलमा दुई चौका र एक छक्कासहित ३२ रन प्रहार गरेपछि शक्तिको बलमा बोल्ड भए ।
डायन स्टोभिल र डेडी हेम्पले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरे पनि शक्तिले स्टाभेललाई १६ रनमा आउट गर्दै साझेदारी टुटाएका थिए । त्यसै ओभरमा उनले लियानेल क्याम्पलाई एलबिडब्लु आउट गरे । बर्मुडाका लागि हेम्पले २६ रन जाडे । म्यान अफ द म्याच घोषित नेपालका पारस खड्काले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १ सय ५१ रनको योगफल खडा गर्‍यो । पारसले नटआउट रहँदै ४८ बलमा ६५ रन जोडे । उनले आठ चौका र एक छक्का प्रहार गरे । ३३ रनमा दुई विकेट गुमाएको नेपालका लागि पारसले शरद भेषवाकरसँग मिलेर तेस्रो विकेटका लागि ७५ रनको साझेदारी गरे । शरदले ३७ बलमा ६ चौकाको सहयोगमा ४४ रन जोडे । उनी पिचरको बलमा बोल्ड भए  । प्रदीप ऐरीले १५ तथा वसन्त रेग्मीले १० रन जोडे ।
स्टोभलले चार ओभरमा २५ रन खर्चिंदै चार विकेट लिए । बर्मुडाका अर्का बलर पिचरले दुई विकेट लिए पनि उनी अत्यन्त महङ्गा सावित भए । तीन ओभर बलिङ गरेका पिचरले २९ रन खर्चिए । समूह ‘ए’ मा पाँच खेलपछि ६ अङ्क जोड्दै नेपाल चौथो स्थानमा छ । पाँच खेलपछि दस अङ्क जोडेको अफगानिस्तान पहिलो र आठ अङ्क जोडेको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । नेपालसँगै समान अङ्क भए पनि रनरेटमा अगाडि रहँदै क्यानाडा तेस्रो स्थानमा छ ।
आइतबारका अन्य खेलमा हङकङ
(१०७÷५) ले डेनमार्क (१३५÷९) लाई ३५ रनले पराजित गर्‍यो । इटाली (१३१÷७) ले युगान्डा (११८) लाई १३ रनले तथा नेदरल्यान्ड्स (१४१÷१) ले पपुवा न्युगिनी
(१४०÷७) लाई नौ विकेटले पराजित ग¥यो । अमेरिका (१४१÷७) ले ओमान (१११÷७) लाई ३० रनले हरायो ।
नेपालले सोमबार सशक्त प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्ध खेल्ने कार्यक्रम छ । एजेन्सी

प्रतिक्रिया