बिचरा आयुक्त !

समाचार खोजीको क्रममा आइतबार आयुक्तहरूसँग कुरा गर्न राष्ट्रिय मानवअधिकार आयोग गएकी थिएँ । सुरुकै कोठा आयुक्त डा केबी रोकायको कार्यकक्षमा पुगेँ म । उनका स्वकीय सचिवले भनिन्, ‘डा रोकाय आउनुभएको छैन । आउने नआउने पनि थाहा छैन ।’ त्यसपछि म सचिव विशाल खनालसँग कुरा गरेर डा. लिला पाठकको कार्यकक्षमा गएँ । स्वकीय सचिवले अनुमति मागिदिएपछि म उनको कोठामा गएँ । मेरो नमस्कारको जवाफ कुनै रूपमा पनि नपाएपछि सोफामा गएर बसेँ ।
मेरो नाम स्वकीय सचिवबाट थाहा पाउनेबित्तिकै उनी ममाथि खनिइन् । कारण रहेछ केही दिनअघि सौर्य दैनिकमा उनीसहित डा रोकायबारे ‘कामै नगरी तीन वर्षदेखि तलब खाएको’ भन्ने शीर्षकमा छापिएको समाचार । समाचार छापिएको साता बढी हुँदा पनि उनीहरूको कुनै प्रतिक्रिया आएको थिएन । मसँग उनको यति आक्रोश रहेछ कि उनका शब्द र आवाजले स्वकीय सचिव रहेको कोठामा अन्य कर्मचारीको भेला भएको थियो । म त के गर्नु ? सुनिरहेँ निरन्तर ।  उनी भन्दै गइन्, ‘तपाईं दुई पैसे पत्रकार । एकोहोरो न्युज लेख्ने ? लाज लाग्दैन ? पत्रकारिताको इथिक्स तपाईंलाई थाहा छैन ? मेरो कुरा लेख्ने तपाईंले ? तपाईंलाई कसले दियो अधिकार ? म यहाँ काम नगरी बसेको के प्रमाण छ तपाईंसँग ? त्यही भ्रष्ट सचिवका पछि लागेर जे पायो त्यही लेख्ने ? उसको पैसा खाएर काम गर्ने ? …’ म अक्क न बक्क भएँ । के भनौँ ? उनी टेबुल ठोक्दै यतिसम्म चर्केर बोलेकी थिइन् कि मैले कुनै शब्द बोलेको भए त्यहाँ जे पनि हुन सक्थ्यो ।
‘तपाईंको चित्त नबुझेको कुरा मैले बुझिनँ डाक्टर सा’ब, भन्नुस् न म लेख्छु’ मैले बिस्तारै के भनेकी थिएँ, उनी त उठेर मलाई झम्टुँलाझैँ गर्दै भनिन्, तपाईंले सचिवले भ्रष्टाचार गरेको थाहा नपाएझैँ गरेर हामीलाई भ्रष्टाचारी
भन्ने ? ‘मैले कहाँ त्यस्तो लेखेँ र ? – मैले विस्तारै भनेँ । ‘तपाईंले लेखेको समाचार पढ्नुस्,’ मलाई उनको निर्देशन थियो । अब उनले मलाई धम्की दिन थालिन् । ‘महिला भनेर हेपेको तपार्इंले । कलम छ भन्दैमा मन लाग्दो लेख्न पाइन्छ ? म पनि तपाईंको चरित्र हत्या गरेर कुनै पत्रिकामा छपाउन सक्छु, जे पनि हुन सक्छ तपाईंलाई ।’ मलाई उनको अभिव्यक्तिप्रति दया लाग्यो । ‘म्याडम आयुक्तको कुर्सीमा बसेर मसँग कुरा गर्नुस् न ।’ मैले यसोभन्दा उनी झ्यालतिर बसेर घाम ताप्दै थिइन् । ‘म जहाँ बसे पनि के मतलब’ भन्दै उल्टै मलाई बाहिर निक्लन भनिन् ।  मैलै विनम्रतापूर्वक अरू केही छ कि भनेँ । त्यसपछि उनी हाम्रो पत्रिका र सम्पादकको खोइरो खन्न थालिन् । त्यसपछि आयोगका अध्यक्षदेखि सदस्यहरूलाई गालीगलोज गर्दै विभिन्न आरोप लगाउन थालिन् । यत्तिकैमा उनको टेलिफोनको घन्टी बज्यो । कुरा सौर्यकै समाचारको रहेछ । ‘त्यही त कसरी आयो यो न्युज, म पनि छक्क परेँ ।’ फोन राख्नासाथ फेरि बम्किइन्, ‘म तपाईंको नाममा मुद्दा हाल्छु ।’ अनि मैले ‘खण्डन लेख्नुस् न’ भनेँ  । ‘किन दिने तपाईंलाई ? जसलाई पत्रकारिताको ‘प’ पनि थाहा छैन,’ उनी बम्किन् ।
उनले पटकपटक भनिन्, ‘सचिवको पैसामा समाचार लेखिस् । फेलोसिपमा काम गरिस्’ । जबकि मैले आयोगको फेलोसिप पाउनु त के अहिलेसम्म आवेदन पनि दिएको छैन । यो कुरा उनलाई भन्नुभन्दा नभनेकै ठीक ठानेँ । उनले बेलाबेला अरूको कमजोरी देखाउँदै आफू लामो समय यो देशको प्रशासन चलाएको भन्थिन् । मलाई लाग्यो वास्तवमा यस्ता कर्मचारी भएर त देशको हालत यो स्थितिमा छ । व्यक्तिले विषय र घटनालाई जसरी बुझ्यो त्यसरी नै आफ्नो दृष्टिकोण बनाउँछ र अभिव्यक्त गर्छ । आयुक्तको कुर्सीतिर हेर्दै सोचेँ, संवैधानिक निकायको आयुक्त हुनलाई के उनको योग्यता पुगेको थियो ? बिचरा आयुक्त ।

प्रतिक्रिया