विष्टले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ

काठमाडौं, ३० फागुन । संसदको राज्यव्यवस्था समितिमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्टमगरको राजीनामा मागिएको छ । मुलुकको शिर निहुरिने गरि भिसा नलिएर बिदेश भ्रमणमा गई अध्ययागमनको नियन्त्रणमा बसेको भन्दै समिति सदस्यहरुले मन्त्री विष्टलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका छन् ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले मन्त्री जस्तो उच्च ओहदामा रहेको व्यक्ति भिसा नै नलिएर विदेश यात्रा गर्नु लज्जास्पद रहेको बताए । उनीहरुले यस बिषयमा प्रधानमन्त्री बाबुराम भट्टराईले जवाफ दिनुपर्ने माग गरेका छन् ।
एकीकृत माओवादीका सभासद अमृता थापा, राजमो सभासद चित्रबहादुर केसी, एमाले सभासद राजबहादुर बुढालगायतले मुलुकको बेईज्जती गर्ने मन्त्री विष्टलाई मन्त्री पदमा बस्ने नैतिक आधार नरहेको बताएका छन् ।
बैठक पछि समितिले पर्यटन मन्त्रीको कुटनीतिक राहदानीमा भिषा नलागेको बिषयमा अध्ययन गर्न बनेको छानविन समितिको प्रतिवेदन आउने बित्तिकै समितिमा उलब्ध गराउन पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । छानविन समितिको प्रतिवेदनलाई अध्ययन गरेर पर्यटन मन्त्री विष्टका बारेमा निर्णय गर्ने सभापति रामनाथ ढकालले जानकारी दिए ।
पर्यटन मन्त्री विष्ट जर्मनी जाने क्रममा भिषा नभएका कारण अबुधाबीको अध्यागमनमा झण्डै ३६ घण्टा नियन्त्रणमा बस्नु परेपछि त्यस बिषयमा छानविन गर्न छानविन टोली गठन भईसकेको छ । टोलीले कुटनीतिक रहदानीमा भिसा के कति कारणले नलागेको भन्ने अध्ययन गर्ने छ ।
यसैवीच, राज्य व्यवस्था समितिले नेपाली सेनाले आफ्ना फुटबल खेलाडीलाई फिर्ता बोलाएको बिषयमा लिखित जानकारी माग गरेको छ । समितिले आजै सेनालाई पत्र पठाएर एएफसी च्यालेन्ज कप फुटबलमा आफ्ना खेलाडीलाई खेल्न नदिई फिर्ता बोलाएका बिषयमा जानकारी माग गरेको सभापति ढकालले जानकारी दिए ।
उता, सभामुख सुवासचन्द्र नेम्वाङले आफ्नो युगाण्डा भ्रमण पुनः रद्ध गरेका छन् । जेठ १४ गते नजिकीदै गरेको र संविधान निर्माणमा व्यस्त रहनुपर्ने भएकाले आफ्नो भ्रमण रद्ध गरेको नेम्वाङले बताए । नेम्वाङले अन्तव्र्यवस्थापिकाको बैठक रद्ध गरेको यो पाँचौ पटक हो ।

प्रतिक्रिया