
काठमाडौँ । सोमबार दिनभर केही मिडिया हाउससँगै व्यापारिक प्रतिष्ठान र नेताका घरअगाडि शंकास्पद रूपले पार्क गरिएका सवारीसाधनको विषय निकै चर्चामा रह्यो । भित्रबाहिर गर्नै असहज हुने गरी कान्तिपुर, अनलाइन खबर र हिमालयन टेलिभिजनको गेटैमा पार्क गरिएका ती गाडी किन र कुन उद्देश्यका साथ त्यसरी राखियो भन्नेबारे हालसम्म आधिकारिक तथ्य बाहिरिएको छैन । तर, उक्त घटनाले सूचना तथा सञ्चार क्षेत्रमाथि मनोवैज्ञानिक दबाब दिनुका साथै प्रेस स्वतन्त्रता हनन गर्ने प्रयास गरेको भन्दै सञ्चारगृह तथा प्रेससम्बद्ध संगठनहरूले आपत्ति जनाएका छन् ।
सोमबार बिहान कान्तिपुर मिडिया ग्रुपको गेटमा बाग्मती प्रदेश ०१–०३४च८४८० नम्बरको गाडी पार्क गरेर छाडिएको थियो भने अनलाइन खबरको कार्यालयअगाडि बा१२च ८५४५ नम्बरको गाडी र हिमालय टिभीमा बा२च १२५५ नम्बरको गाडी बेवारिस पार्किङ गरेर छाडिएको थियो । त्यस्तै, कांग्रेस सभापति गगन थापाको रातोपुलस्थित निवासको गेटमा बिएसी ९५७५ नम्बरको र अनामनगरस्थित भाटभटेनी सुपरमार्केटअगाडि ०३३च४२७५ नम्बरको हुन्डाई क्रेटा गाडी पार्किङ गरेर बिहानदेखि छाडिएको थियो । तर, यस विषयमा प्रहरीले जानकारी पाउँदा पनि वास्ता गरेको देखिएन । सबैतिरबाट बेलैमा प्रहरीलाई सम्पर्क गरिए पनि निकै ढिलो गरी मात्र उक्त पार्किङ गरिएको ठाउँमा पुगेको र त्यसपछि पनि दिउँसो मात्र ती गाडीहरू हटाउने काम भएको थियो । प्रहरी प्रशासनको सुस्तता र बेवास्ताका कारण उक्त गतिविधिमा राज्यकै समर्थन देखिएको विश्लेषण पनि गरिएको छ ।
कान्तिपुर मिडियाको गेटअगाडि राखिएको बाग्मती प्रदेश–०१–०३४च८४८० नम्बरको गाडी सानिमा बैंकको नाममा रहेको र उक्त गाडी एसटी मोटर्सले लिएको विवरण प्राप्त भएको छ भने हाल उक्त गाडी रवि जयसवालले चलाउने गरेको पुष्टि भएको छ । जयसवाल रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्यसमेत हुन् । उनका बुबा कन्थमणि जयसवाल भने रौतहटको गरुडा नगरपालिकाका मेयर हुन्, उनी एमाले नेता हुन् । बुद्धनगरस्थित अनलाइनखबरको गेटअगाडि पार्क गरिएको बा१२च ८५४५ नम्बरको गाडी सुनील पौडेलको नाममा रहेको भेटिएको छ । पौडेल काठमाडौँको गोकर्णेश्वरमा शंखडोल आई क्लिनिक एन्ड अप्टिकल हाउस नामक आँखा क्लिनिक सञ्चालन गर्दै आइरहेका छन् ।
त्यस्तै, मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजनअगाडि छाडिएको बा१०च १२५५ नम्बरको गाडी डिआर अटोमोटिभ्स, धुम्बाराहीको नाममा रहेको पाइएको छ ।
विशेष गरी गत बिहीबार राहदानी विभागअगाडि मुगुका गणेश नेपालीले पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेको र त्यसपछि उनको निधन भएपछि काठमाडौँमा पार्किङ र महानगर प्रहरीको भूमिकामाथि निकै टिकाटिप्पणी सुरु भएको थियो । यसै विषयलाई विपक्षीले उठाएर सरकारको विरोध र आत्मदाहको प्रयासमाथि राजनीति सुरु गरेका थिए । सरकारसमर्थित केही समूह तथा व्यक्तिहरू यसबाट रुष्ट बनेका थिए । त्यसैको सांकेतिक विरोध स्वरूप सोमबार मिडिया हाउसको गेटैअगाडि त्यही रुष्ट समूहले गाडी पार्क गरेको देखिन्छ । अनलाइन खबरको गेटअघि पार्किङ गरेका व्यक्तिसँग अनलाइन खबरले सम्पर्क गर्दा ती व्यक्तिले दिएको जबाफले पनि उक्त कुरा पुष्टि गर्छ ।
चौथो अंगलाई संकुचित पार्न खोज्ने प्रवृत्ति अस्वीकार्य : रास्वपा
यस विषयमा निकै हलचल मच्चिएपछि सोमबार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति निकालेर प्रेस स्वतन्त्रता हननका गतिविधि स्वीकार्य नहुने भन्दै दोषीमाथि कारबाही हुनुपर्ने माग अघि सारेको छ । रास्वपा महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमका कार्यालयबाहिर सवारीसाधनहरू शंकास्पद रूपमा राखिएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाए । साथै, राज्यको चौथो अंगका रूपमा रहेका आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य मान्यताका ठाडो उल्लंघन भएको बताइएको छ । ‘कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई किमार्थ स्वीकार्य छैनन् भन्ने स्पष्ट पार्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
०००
मिडियामाथि नियन्त्रण गर्ने र मुख थुन्ने प्रयास : पत्रकार महासंघ
सञ्चारगृहका गेटअगाडि शंकास्पद रूपमा राखिएका सवारीको सूचना पाएलगत्तै पत्रकार महासंघका प्रतिनिधिहरू पनि त्यसबारे चासो राख्दै सम्बन्धित ठाउँमा पुगेका थिए । यस विषमा निरन्तर फलोअप गरिरहेको नेपाल पत्रकार महासंघले बिहान ७ बजेदेखि नै शंकास्पद रूपमा छाडिएका गाडी दिउँसो २ बजेसम्म पनि राज्यले हटाउन पहल नगरेको तथा प्रहरी मूकदर्शक भएर बसेको अवस्थाले राज्यकै संलग्नतामा यो आतंक सिर्जना गरिएको हुन सक्ने आशंका व्यक्त गरेको छ । सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सम्बद्ध निकायसँग माग गर्दै महासंघले सञ्चारमाध्यम र पत्रकारले आफ्नो अधिकारको प्रयोग गर्न पाउने वातावरणमा अवरोध पु¥याउने त्यस्ता घटनाको तत्काल छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्नसमेत माग गरेको छ । महासंघले भनेको छ, ‘राज्यले मिडियामाथि नियन्त्रण कायम गर्ने र मुख थुन्ने प्रयास गरेकामा महासंघ घोर भत्र्सना गर्दछ । यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गरिएको यो भौतिक हमलाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दछ ।’
यसैबीच, नेपाल मिडिया सोसाइटीले पनि सञ्चारमाध्यमहरूलाई त्रसित बनाउने र जनताको सुसूचित हुने संवैधानिक अधिकारलाई कुण्ठित गर्ने उद्देश्यले गरिएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाचार संकलन, प्रकाशन तथा प्रसारण कार्यमा प्रत्यक्ष अवरोध सिर्जना गर्ने र मिडिया हाउसहरूलाई डर र त्रासको वातावरणमा राख्ने यस्ता उच्छृंखल गतिविधिका दोषीहरूमाथि तत्काल अनुसन्धान गरी हदैसम्मको कारबाही गर्न सोसाइटीले माग गरेको छ । साथै, स्वतन्त्र प्रेसको मर्यादा र सुरक्षामा आँच पु¥याउने यस्ता गतिविधिहरू पुनः नदोहो¥याउन सम्बन्धित पक्षलाई चेतावनीसमेत दिएको छ ।
मिडियालाई त्रसित बनाउनेमाथि कारबाही गर्न संसदीय समितिको निर्देशन
सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समिति बैठकमा यो विषय उठान भएको थियो । बैठकमा घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै समितिले मिडियालाई त्रसित बनाउनेमाथि कारबाही गर्न निर्देशन दिएको छ । समिति सभापति समीक्षा बास्कोटाले सञ्चारमाध्यमलाई त्रसित बनाउने कार्य स्वीकार्य नहुने भन्दै घटनाको गम्भीर अनुसन्धान गरी आवश्यक कारबाही गर्न निर्देशन दिइन् । ‘यो विषयमा हामीले सरकारको गम्भीर ध्यानाकर्षण गरायौँ । मिडियालाई त्रसित बनाउने कार्यमा संलग्न जोकोही होस्, यसलाई गम्भीर रूपमा लिएर भोलिको दिनमा पनि उचित छलफल गर्नुपर्छ,’ बास्कोटाले बैठकमा भनिन् ।
राज्यको चौथो अंगका रूपमा रहेका आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य मान्यताको ठाडो उल्लंघन हो । कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई किमार्थ स्वीकार्य छैनन् भन्ने स्पष्ट पार्न चाहन्छौँ । – राष्ट्रिय स्वतन्त्र पार्टी
०००
बिहान ७ बजेदेखि नै शंकास्पद रूपमा छाडिएका गाडी दिउँसो २ बजेसम्म पनि राज्यले हटाउन पहल नगरेको तथा प्रहरी मूकदर्शक भएर बसेको अवस्थाले राज्यकै संलग्नतामा यो आतंक सिर्जना गरिएको हुन सक्ने देखिन्छ । राज्यले मिडियामाथि नियन्त्रण कायम गर्ने र मुख थुन्ने प्रयास गरेकोप्रति महासंघ घोर भत्र्सना गर्दछ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गरिएको यो भौतिक हमलाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दछ । – नेपाल पत्रकार महासंघ
०००
सञ्चारमाध्यमहरूलाई त्रसित बनाउने र जनताको सुसूचित हुने संवैधानिक अधिकारलाई कुण्ठित गर्ने उद्देश्यले गरिएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । समाचार संकलन, प्रकाशन तथा प्रसारण कार्यमा प्रत्यक्ष अवरोध सिर्जना गर्ने र मिडिया हाउसहरूलाई डर र त्रासको वातावरणमा राख्ने यस्ता उच्छृंखल गतिविधिका दोषीहरूमाथि तत्काल अनुसन्धान गरी हदैसम्मको कारबाही गर्न सोसाइटी माग गर्दछ । – नेपाल मिडिया सोसाइटी
०००
प्रतिक्रिया