बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

बाढीले नयाँपुल–घान्द्रुक सडक खण्डमा पुर्‍याएको क्षति

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आएको बाढीले सोही स्थानमा निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । आयोजनास्थलमा रहेका विभिन्न भौतिक संरचना र उपकरणमा आइतबार लेदोसहितको बाढी पसेको थियो । बाढीले कङ्क्रिट उत्पादन केन्द्र (ब्याचिङ प्लान्ट), गिट्टी प्रशोधन केन्द्र (क्रसर प्लान्ट) लगायत संरचनामा क्षति पुर्‍याएको आयोजनाका प्राविधिक कुमारमधु बेलवासेले जानकारी दिए ।

पहुँच मार्गमा क्षति पुगेपछि आयोजनास्थल आवातजावत गर्न पनि कठिनाइ सिर्जना भएको आयोजनाका प्राविधिक बेलवासेले बताए ।

घान्द्रुक प्रहरी चौकीका प्रहरी सहायक हवल्दार सागर चौधरीले आयोजनास्थलमा निर्माण गरिएका सुरुङ र अस्थायी टहरामा पनि बाढी पसेको बताए । उनले १ करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

बाढीले नयाँपुल–घान्द्रुक सडक खण्डमा पुर्‍याएको क्षति

४२ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना दुई वर्षअघि ठेक्का सम्झौता भई निर्माण सुरु भएको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत १० अर्ब ५७ करोडको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो ।

किम्रुङ खोलाको बाढीले झोलुङ्गे पुलसमेत बगाएको थियो । किम्रुङ खोला हुँदै मोदी खोलामा मिसिएको बाढीले अन्नपूर्ण गाउँपालिका-८ र १० को सीमाना स्याउली बजारमा एक घर, रेष्टुराँ र घान्द्रुक जोड्ने सडकमा क्षति पुगेको थियो ।

प्रतिक्रिया