तिम्रो सम्झना भइरहनेछ

काठमाडौं, २९ फागुन । राष्ट्रिय फुटबल टोलीका लागि निकै ‘हाइ–फाई’ मानिँदै आएका बेलायती प्रशिक्षक ग्राहम रोबर्ट्सले पदबाट राजीनामा दिएका छन् । चालु एएफसी च्यालेन्जकप, २०१२ अन्तर्गत सोमबार तुर्कमेनिस्तानविरुद्ध नेपाल ३–० ले पराजित भएपछि पोस्टम्याच प्रेस कन्फेरेन्समा उनले हातले लेखेको तीन पृष्ठ लामो तर निकै सङ्क्षिप्त राजीनामा पढेर सुनाएका थिए ।
कुनै समय इंगलिस प्रिमियर क्लब टोटनह्याम हट्सपरबाट खेलेका ५३ वर्षीय रोबर्ट्सले करिब एक वर्ष नेपाली राष्ट्रिय टोलीलाई प्रशिक्षण दिए । गतवर्ष एसिया कपको फाइनलको बेला उनी नेपाल आउने समाचार सार्वजनिक भएको थियो ।
‘आज नेपाली टोलीसितको मेरो अन्तिम म्याच थियो । मैले पूर्ण लगनशील भई इमानदारीसाथ आफ्नो जिम्मेवारी निर्वाह गरें । मैले यहाँ बिताएका हरेक क्षणहरूलाई पूर्ण ‘इन्ज्वाय’ गरें । मलाई कसैसित केही गुनासो छैन,’ रोबर्ट्सले भने । तर उनले नेपाली सेनाले विना कुनै सूचना अचानक शनिबार राति होटलमा पसेर राष्ट्रिय टोलीका दुईजना खेलाडी राजु तामाङ र विकास मल्ललाई ‘अपहरण’ गरेर लगेकोप्रति निकै आक्रोश र खेद व्यक्त गरे । उनले भने, ‘यो घटना युरोपतिर भएको भए यस कार्यमा संलग्न अधिकारीहरूलाई कोर्टमार्सल हुन्थ्यो । तर यो नेपाल हो र सायद यहाँ सेना निकै प्रभावशाली छ ।’
उनले एन्फासमेत टोली म्यानेजर कृष्णभक्त मानन्धर र सहायक प्रशिक्षकद्वय उपेन्द्रमान सिंह र मेघराज केसी तीनजनालाई नामै उल्लेख गर्दै विशेष धन्यवाद दिए । उनले अब स्वदेश फर्किने र केही समय बिदा मनाउने योजना रहेको सुनाए र भने, ‘म फेरि छिट्टै नेपाल फर्कनेछु र एन्फा अध्यक्ष अनि पदाधिकारी र सबै फुटबल खेलाडीलाई भेट्नेछु ।’
उनी निकै गम्भीर थिए । सायद हाँस्न कहिल्यै नजाने जस्ता । पहिरन उही सधंैजस्तै हल्का आकासे रङको टि–सर्ट र ट्र्याकसुटको ट्राउजर । अनि उनले पत्रकारसामु आफ्ना गर्विला क्षण र उपलब्धिको चर्चा गर्दै भने, ‘यो एक वर्षको अवधिमा विश्व फुटबल वरीयता सूचीमा नेपाल दक्षिण एसियामा पहिलो नम्बरमा छ । यो गर्व गर्ने विषय हो । पछिल्लो समय भारतमा भएको नवौं साफ फुटबल च्याम्पियनसिपमा सहभागी भएको नेपाली टोली अहिलेसम्मकै श्रेष्ठ टोली थियो । हामीसित गोल गर्न सक्ने स्ट्राइकर भइदिएको भए यही एएफसी च्यालेन्जकपमा पनि परिणाम अर्कै हुने थियो ।’
एक प्रश्नको जवाफमा उनले खेलाडी राष्ट्रिय टोलीको क्याम्पमा रहँदासम्म ‘फिट’ रहने र क्लब फुटबलमा लागेपछि उनीहरूको स्टामिना पचास प्रतिशतसम्म ह्रास हुने गरेको अनुभव सुनाए । रोबर्ट्सको आगमनपछि नेपाली फुटबल शैलीमा उल्लेखनीय परिवर्तन आएको भने निश्चय पनि हो । उनले डिफेन्डरहरू पर्खालझंै भरपर्दो मात्र होइन आक्रमणमा पनि धारिलो हुुनुपर्छ भन्ने मान्यता स्थापित गरे । उनको उपस्थितिमा नेपाली टोलीका हरेक रक्षक स्टारको रूपमा चर्चित भइरहे– सागर थापा, रोहित चन्द र सन्दीप राई केही उदाहरण मात्र हुन् । अङ्ग्रेजी खेल शैलीलाई चिनाउने प्रयास गरेका उनले गर्दा विङ्गर खेल्ने रविन श्रेष्ठ र विराज महर्जनले अन्तर्राष्ट्रिय खेलमा छाइरहने अवसर पाए ।
रोबर्ट्सको मुख्य प्रशिक्षणमा नेपालले एएफसी च्यालेन्जकपका तीनसमेत जम्मा १७ म्याच खेल्यो । यसमध्ये २०११ मार्च १७ मा भुटानविरुद्ध पहिलो म्याच खेलेका बेला नेपाल १–० ले र मार्च १९ मा दोस्रो म्याचमा २–१ ले विजयी भएको थियो । त्यसपछि एएफसी च्यालेन्जकप छनोटचरणमा समूह ‘डी’मा रहेको नेपालले अफगानिस्तानविरुद्ध १–० ले हराएको थियो भने उत्तर कोरियाबाट ०–१ ले हारेको थियो र श्रीलङ्काविरुद्ध ०–० ले बराबरीमा रोकिएको थियो ।
त्यसपछि विश्वकप क्वालिफाइङ पहिलो चरणमा पहिलो लेगमा पूर्वी टिमोरलाई २–१ र दोस्रो लेगमा ५–० ले हराएको थियो भने दोस्रो चरण अम्मानमा खेल्दै पहिलो लेगमा जोर्डनसित ०–९ ले हारेको थियो भने दोस्रो लेगमा काठमाडौंमा १–१ ले बराबरीमा रोकिएको थियो । साफ च्याम्पियनसिप तयारीको क्रममा फिलिपिन्ससित मैत्रीपूर्ण म्याच खेल्दा ०–४ ले हारेको थियो । साफ च्याम्पियनसिपमा नयाँ दिल्लीमा खेलेको नेपाल माल्दिभ्स र पाकिस्तानविरुद्ध १–१ ले बराबरीमा रोकिएको थियो । सोही प्रतियोगितामा बङ्गलादेशलाई १–० ले हराएर सेमिफाइनलमा पुगेको नेपाल अफगानिस्तानबाट ०–१ ले पराजित भई घर फर्किएको थियो ।
चालु एएफसी च्यालेन्जकपमा नेपालले समूह ‘ए’ मा रहेर तीन म्याच खेल्यो, एउटा पनि गोल गर्न सकेन र कुल ६ गोल खाएर प्रतियोगिताबाट बाहिरियो । प्रशिक्षक रोबर्ट्सले सोमबार नेपालले तुर्कमेनिस्तानविरुद्ध खेलेको अन्तिम म्याचको ‘चार्ज’ आफूले नलिएको र त्यो जिम्मेवारी उपेन्द्र र मेघराजलाई नै दिएको जानकारी दिए । तर उनले प्यालेस्टाइन र माल्दिभ्सविरुद्धका खेलमा नेपाली प्रदर्शनको लेखाजोखा भने लिखित रूपमै सुनाउन भ्याए ।
प्यालेस्टाइनविरुद्धको म्याचमा नेपालमा ६४ प्रतिशत समय बलमाथि नियन्त्रण कायम गरेको र चारपटक ‘अन टार्गेट’ प्रहार गरेको तर प्यालेस्टाइनले दुईपटक त्यस्तो प्रहार गरेको र दुवैमा गोल गर्न सफल भएको रोबर्ट्सले सुनाए । त्यसैगरी, उनले माल्दिभ्सविरुद्ध खेलअवधिभर नेपालले ९० प्रतिशत बलमाथि नियन्त्रण कायम गरेको र आठपटक ‘अन टार्गेट’ प्रहार गरेको बताए । माल्दिभ्सविरुद्ध सन्तोष साहुखलको हेडर र अनिल गुरुङका दुई प्रहार गोल हुनैपर्ने तर हुन नसकेको निचोड उनले सुनाए ।
नेपाल बसाइमा अक्सर पत्रकारसित उनको सम्बन्ध उस्तो सुखद् रहेन । उनी खाँटी अङ्ग्रेज र स्वभाव पनि त्यस्तै । पत्रकारसित बोल्दा होस् अथवा पत्रकार सम्मेलन नै किन नहोस्, उ नी उही खास ‘अङ्ग्रेजी स्ल्याङ’ अनुरूप ‘फकिङ’ र यस्तै अन्य शब्दशब्दावली सहजै प्रयोग गरिदिन्थे जुन नेपाली परिवेशमा सहज पाच्य हुन सक्दैनथ्यो । उनको गम्भीर आरोप छ पत्रकारहरूप्रति– तिमीहरू खेलाडीलाई सम्मान नै गर्दैनौ… यु पिपल डु नोट ह््याभ डिग्निटी टुवार्ड्स प्लेयर्स… ।’
तर रिसको आवेगमा यस्तो आरोप लगाउने उनलाई कसले भनिदेओस्, खेलाडीलाई स्याबासीको धाप दिने र उनीहरूलाई जनतादेखि नेतासम्म सबै ठाउँ चिनाउने र ‘सेलेब्रिटी स्टाटस’ मा पु¥याउने उनै ‘तिमी पत्रकारहरू’ नै हुन् अरू कोही होइन ।
तर, सोमबार रोबर्ट्सले पोस्टम्याच कन्फेरेन्समा राजीनामा पढिसकेर प्रश्नोत्तर गरेर फर्कन थाल्दा उनै पत्रकारले ताली बजाएर उनीप्रति सम्मान व्यक्त गरे । नेपाली फुटबलले उनलाई ‘मिस’ गर्नेछ । तर, एउटा कुरा भने पक्का हो । विदेशमा भन्दा स्वदेशमा मिलेको पराजय बढी बिझाउने र पोल्ने किसिमको हुन्छ ।

प्रतिक्रिया