साग स्वर्णविजेता राजकुमार पराजित

महेन्द्रनगर, २० फागुन । छैटौं राष्ट्रिय खेलकुदअन्तर्गत उसुको ५२ केजीमा १० औं सागका स्वर्णपदक विजेता मध्यमाञ्चलका राजकुमार रसाइली पराजित भएका छन् । उनी पिएलएका राजकुमार राईसँग पराजित भएका हुन् । सो स्पर्धामा एपिएफका वीरेन्द्रसिंह कोटारी तथा मध्यपश्चिमाञ्चलका सरोज पुन तेस्रो भए ।
थाउलोतर्फ ११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेताद्वय आङबाबु लामा र विनिता महर्जन भने आ–आफ्नो इभेन्टमा सफल भए । मध्यमाञ्चलका यी दुई खेलाडीमध्ये आङबाबुले पुरुष तथा विनिताले महिलाको थाइची अलराउन्डमा स्वर्ण जितेका हुन् ।
आङबाबुले १७.४५ अङ्क जोडे । १७ अङ्कसाथ मध्यमाञ्चलकै हरिप्रसाद गोले दोस्रो तथा १४.१० अङ्कसाथ पश्चिमाञ्चलका ध्रुवराज न्यौपाने तेस्रो स्थानमा रहे । विनिताले १५.८० अङ्क बटुलिन् । पिएलएकी इरिका लामा दोस्रो भइन् भने सुदूरपश्चिमाञ्चलकी गङ्गा थापाले तेस्रो स्थानमा चित्त बुझाइन् । इरिकाले १३.०५ तथा गङ्गाले १२.४० अङ्क बटुले ।
पुरुषको छाङछ्वान अलराउन्डमा पिएलएका निराजन आलेमगरले ११ औं सागका रजतविजेता विकास गुरुङलाई पछि पार्दै स्वर्ण हात पारे । निराजनले ८.९५ तथा पश्चिमाञ्चलका विकासले ८.९० अङ्क जोडे । तेस्रो भएका पूर्वाञ्चलका विकास राईले ८.७० अङ्क बटुले । महिलामा मध्यमाञ्चलकी सुस्मिता तामाङ ८.५० अङ्कसाथ पहिलो भइन् । अघिल्लो दिन चियनसु छियाङसुमा स्वर्ण जितेकी पिएलएकी समी लामाले रजतमा चित्त बुझाइन् । समीले ८.१० अङ्क बटुलिन् । ७.१५ अङ्क जोडेकी पूर्वाञ्चलकी फूलमाया इजामले कांस्य हात पारिन् ।
सान्सौंको ४८ केजीमा पूर्वाञ्चलका अशोक राई पहिलो भए । फाइनलमा उनले मध्यपश्चिमाञ्चलका सन्तोषकुमार नेपालीलाई हराए । पश्चिमाञ्चलका कमलेश थारू र पिएलएका ज्ञानबहादुर पाख्रिन तेस्रो भए । एपिएफका जुगुराम चौधरीलाई हराउँदै पिएलएका युवराज गुरुङ ५६ केजीमा च्याम्पियन बने । सुदूरपश्चिमाञ्चलका नरेश चौधरी तथा पूर्वाञ्चलका प्रदीप सिवाकोटी तेस्रो स्थानमा रहे ।
६० केजीमा एपिएफका मङ्गलप्रसाद थारू पहिलो, पिएलएका प्रेमचन्द्र दर्लामी दोस्रो तथा पूर्वाञ्चलका पदम राई र पश्चिमाञ्चलका निमपासाङ शेर्पा तेस्रो भए । ६५ केजीमा मध्यमाञ्चलका सोमवीर तामाङले स्वर्ण, पिएलएका राजु श्रेष्ठले रजत तथा पश्चिमाञ्चलका राम गुरुङ र पूर्वाञ्चलका अजय बुढाथोकीले कांस्य जिते । ७० केजीमा मध्यमाञ्चलका पुरुषोत्तम रिजालले बाजी मारे । ११ औं सागका रजतधारी पुरुषोत्तमले सुदूरका श्यामबहादुर तामाङलाई निराश पारे । पूर्वाञ्चलका चित्रसिंह ठकुरी तथा मध्यपश्चिमाञ्चलका भूपेन्द्र सिंह तेस्रो भए ।
७५ केजीमा एपिएफका तेजबहादुर पल्लीले पहिलो स्थान हात पारे । फाइनलमा उनले पिएलएका चित्रप्रसाद श्रेष्ठको चुनौती पन्छाए । पूर्वाञ्चलका रामकुमार राजवंशी र पश्चिमाञ्चलका धनबहादुर थापाले तेस्रो स्थानमा चित्त बुझाए ।
इजामलाई छात्रवृत्ति
उसु प्रतियोगिताको थाउलोतर्फ महिलाको छाङछ्वान अलराउन्डमा कांस्यपदक विजेता पूर्वाञ्चलकी फूलमाया इजामलाई काठमाडौंको स्वयम्भूस्थित इन्टरनेसनल पिस एकेडेमीले निःशुल्क छात्रवृत्ति प्रदान गर्ने भएको छ । एकेडेमीका संस्थापक पञ्चमान महर्जनले शनिबार सो जानकारी गराएका हुन् । फूलमाया हाल मोरङको पथरीस्थित श्री चन्द्र किरातेश्वर माविमा कक्षा सातमा अध्ययनरत छिन् ।

साग बक्सिङ रजतविजेता सुशील हारे
छैटौं राष्ट्रिय खेलकुदमा साग पदकविजेताको पराजयको क्रम बक्सिङमा पनि रोकिएन । १० औं सागका रजतपदक विजेता एपिएफका सुशील घले ६४ केजी तौलसमूहको  फाइनलमा नेपाल पुलिस क्लबका भूपेन्द्र थापासँग पराजित भए । उक्त स्पर्धामा मध्यपश्चिमका नरेन्द्र आरसी र पिएलएका उमेश रिजालले कांस्यपदक जिते । ४९ केजीमा सुदूरपश्चिमका लक्ष्मण साउदले स्वर्णपदक प्राप्त गरेका छन् । उनले एपिएफका विक्रम परियारलाई पराजित गरेका थिए । पूर्वाञ्चलका गोपाल बस्नेत र मध्यमाञ्चलका राजकुमार महर्जनले कांस्यपदक प्राप्त गरे ।  ५२ केजीमा प्रहरीका सुदेश मानन्धरले एपिएफका पुरन राईलाई पराजित गर्दै स्वर्णपदक हात पार्न सफल भए । मध्यपश्चिमका केशव गुरुङ र मध्यमाञ्चलका नरेन्द्र देसारलाई कांस्यपदक प्राप्त भयो । ५६ केजीमा एपिएफका कवीन्द्र महर्जनले स्वर्णपदक जिते । मध्यपश्चिमका अर्जुन बस्नेतले रजतमा चित्त बुझाए । कांस्यपदक पुलिसका सुरेन्द्र कठायत र पिएलएका धनकुमार मैनालीले पाए । ६० केजीमा एपिएफका दुर्गाबहादुर लामालाई स्वर्ण र नेपाल पुलिसका सुमन लामालाई रजत मिल्यो । मध्यमाञ्चलका सुरेन्द्र कार्की र पूर्वाञ्चलका राजेश कार्कीले कांस्यमा चित्त बुझाए ।
६९ केजीमा नेपाल पुलिसका रत्न तामाङले प्रथम स्थान हात पार्दै स्वर्णपदक प्राप्त गर्न सफल भए । पश्चिमाञ्चलका कुमार खाँड ठकुरीले रजतमा चित्त बुझाए । एपिएफका विकासबल लामा र मध्यपश्चिमका ताराप्रसाद पुनले कांस्यमा चित्त बुझाए । ७५ केजीमा एपिएफका देवेन्द्र महर्जनले मध्यमाञ्चलका सोभित खत्रीलाई पराजित गर्दै स्वर्णमाथि कब्जा जमाए । पूर्वाञ्चलका ज्योतिप्रसाद लिम्बू र मध्यपश्चिमका रोशनराज भट्टराईले कांस्यपदक प्राप्त गरेका छन् । ८१ केजीमा मध्यमाञ्चलका दीपक महर्जनले एपिएफका मीनप्रसाद जोशीलाई पराजित गर्दै स्वर्णपदक प्राप्त गरेका छन् । मध्यपश्चिमाञ्चलका कृष्ण डाँगी र पूर्वाञ्चलका ओमराज गुरुङलाई कांस्यपदक प्राप्त भयो ।

प्रतिक्रिया