मेसीको पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक

रोयटर्स, बर्न, १८ फागुन । लियोनेल मेसीले बुधबार राति स्विट्जरल्यान्डविरुद्ध भएको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरे । स्पेनिस क्लब बार्सिलोनाका लागि एकपछि अर्को ह्याट्रिक गरेर नाम चम्काएका मेसीले आफ्नो देशका लागि गरेको यो नितान्त पहिलो ह्याट्रिक हो । यो ह्याट्रिकसँगै तीनपटक फिफावर्ष खेलाडी भइसकेका मेसीले ‘मेसी बार्सिलोनाका लागि मात्र राम्रो खेल्छन्’ भन्ने आलोचकप्रतिको यो दह्रो जवाफ हो । राष्ट्रिय टोलीका कप्तान २४ वर्षीय मेसीले अन्तर्राष्ट्रिय फुटबलमा आफूमाथि शङ्का गर्नेहरूलाई स्पष्ट हुन सचेत गराएका हुन् ।
‘म लामो समयदेखि यस उपलब्धिको प्रतीक्षामा थिएँ किनभने त्यसमा हरेकपटक मलाई समयले साथ दिएको थिएन ।’ स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनाले ३–१ को विजय हासिल गर्दा पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक गरेका मेसीले खेलपछि भने, ‘तर आज मलाई समयले साथ दियो । यो उपलब्धि विशेष छ किनभने मैले ह्याट्रिक गरें  र हाम्रो टिमले पनि जित्यो ।’
गत विश्वकपमा होस् या कोपा अमेरिकामा, गोल नै गर्न असफल भएपछि मेसीले समर्थकलाई निराश पारेका थिए । यसले राष्ट्रिय टिमप्रति मेसीको प्रतिबद्धताप्रति नै प्रश्न उठाएको थियो । मेसी डिएगो म्याराडोनाको प्रशिक्षणमा समेत राष्ट्रिय टिमका लागि प्रभावी बन्न नसकेको भन्दै उनको तीव्र आलोचना भएको थियो ।
बार्सिलोनाका लागि पाँचपटक घरेलु लिग, तीनपटक युरोपियन च्याम्पियन्स लिग र दुईपटक क्लब विश्वकपको उपाधि जितेका मेसीले राष्ट्रिय टिममा रहेर दुईपटक यु–१९ विश्वकप र ओलम्पिक स्वर्ण मात्र प्राप्तगर्न सफल छन् । ‘बार्सिलोना र अर्जेन्टिना दुई फरक कुरा हुन्,’ राष्ट्रिय टिममा आफ्नो विगतको असफलतालाई बचाउ गर्दै मेसीले भने, ‘अर्जेन्टिनासँग स्तरीय प्रदर्शन गर्न सक्ने खेलाडी भए पनि बार्सिलोनासँग तुलना गर्न मिल्दैन ।’ तर उनले अर्जेन्टिनाले अझै धेरै सुधार गर्नुपर्ने बताए । ‘हामीसँग सर्गिओ अगुइरो र गोन्जालो हिग्विइनजस्ता स्तरीय खेलाडी छन्,’ उनले भने, ‘तर पनि हामी सही ठाउँमा पुग्न अझै धेरै ठूलो चुनौती पार गर्नुपर्छ ।’
अर्जेन्टिनाका प्रशिक्षक अलेसान्द्रो साबेलाले मेसी सदाबहार उत्कृष्ट खेलाडी भएको र उनलाई सबैले सहयोग गर्नुपर्ने बताए । ‘उसले गोल गरेन भने उ नराम्रो खेलाडी हो भनेर भन्नुहँुदैन । उसले धेरै अवसर सृजना गर्छ । धेरै राम्रो खेल्छ । हामी सबैले सहयोग गरेर टोलीले उसबाट फाइदा लिन जान्नुपर्छ ।’ सर्गिओ बाटिस्टालाई विस्थापन गर्दै  गतवर्ष राष्ट्रिय टोलीको प्रशिक्षक बनेका साबेलाले भने । सन् २००५ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गर्ने क्रममा हालसम्म ६७ खेल खेलेका मेसीले २२ गोल गरेका छन् ।

अमेरिकाको ऐतिहासिक जित
जिनोवाः संयुक्तराज्य अमेरिकाले अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक इटालीलाई पराजित गरेको छ । बुधबार राति भएको मैत्रीपूर्ण खेलमा अमेरिकाले इटालीलाई १–० ले पराजित ग¥यो ।
अमेरिकालाई ऐतिहासिक सफलता दिलाउन क्लिन्ट डेम्पसीले निर्णायक गोल गरे । उक्त गोल ५५ आंै मिनेटमा भएको थियो । यो जितसँगै इटालीविरुद्ध अमेरिकाको ७८ वर्ष लामो पराजययात्रा पनि समाप्त भएको छ । झन्डै आठ दशक लामो यस अवधिमा अमेरिका र इटाली ११ पटक भिडेका थिए ।

दुई गोलसहित रोबेन फर्किए
बेम्बलीः गत विश्वकपयता चोटका कारण राम्रो प्रदर्शन गर्न नसकेका आर्यन रोबेनले सानदार प्रदर्शन गरेपछि मैत्रीपूर्ण खेलमा बुधबार नेदरल्यान्ड्सले इंगल्यान्डलाई ३–२ ले पराजित गरेको छ । विश्वकप उपविजेता नेदरल्यान्ड्सको जितमा रोबेनले दुई गोल गरेका थिए ।

प्रतिक्रिया