गोपाल र तारादेवी ‘स्ट्रंगेस्ट म्यान र वुमन’

महेन्द्रनगर, १८ फागुन । छैटौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनको अन्तिम दिन बिहीबार गोपालबहादुर श्रेष्ठ र नेपाल प्रहरीकी तारादेवी पुन स्ट्रंगेस्ट म्यान र वुमन घोषित भएका छन् । त्यसैगरी, भारोत्तोलनमा बढी स्वर्ण जितेका नेपाल प्रहरी खेलाडी नै पुरुष र महिलातर्फ उत्कृष्ट लिफ्टर घोषित भए । प्रहरीका विकास थापा र आफ्नो तौलसमूहमा नयाँ कीर्तिमान राखेकी देवी चौधरी उत्कृष्ट लिफ्टर घोषित भए ।
पिएलए स्पोटर््स क्लबले बिहीबार थप दुई स्वर्ण जित्यो । महेन्द्रनगरस्थित उद्योग वाणिज्य सङ्घको हलमा भएको पुरुषको एक सय पाँच केजीमा ज्ञानबहादुर श्रेष्ठ र एक सय पाँच केजीमाथि गोपालबहादुर श्रेष्ठले पिएलएलाई स्वर्ण दिलाएका हुन् ।
ज्ञानले स्न्याचमा एक सय आठ र क्लिन एन्ड जर्कमा एक सय ३५ गरी कुल दुई सय ४३ केजी भारवहन गरे । नेपाल प्रहरीका विपेन्द्र महर्जन दोस्रो तथा पश्चिमाञ्चलका तेहरिन हसिम तेस्रो भए । विपेन्द्रले कुल दुई सय २० केजी तथा तेहरिनले कुल एक सय ७० केजी भार उचाले ।
गोपालले स्न्याचमा एक सय १२ र क्लिन एन्ड जर्कमा एक सय ५० गरी कुल दुई सय ६२ केजी तौल उठाए । कुल दुई सय १० केजी उचालेका प्रहरीका पुकार गुरुङ दोस्रो भए भने तेस्रो स्थानमा रहेका पूर्वाञ्चलका सञ्जय फुयालले कुल एक सय ४६ केजी भारवहन गरे ।
यसअघि तारादेवीले बुधबार नै ६९ केजी तौलसमूहमा क्लिन एन्ड जर्कमा ९१ केजी र स्न्याचतर्फ ६६ केजी गरी कुल एक सय ५७ केजी उठाउने क्रममा तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।
उक्त दुई स्वर्णसँगै पिएलएको कुल स्वर्ण सङ्ख्या तीन पुगेको छ । पूर्वाञ्चलले पनि तीनवटै स्वर्ण आफ्नो नाममा लेखायो । १५ स्वर्ण समावेश भारोत्तोलनमा कुल सात स्वर्णसहित नेपाल प्रहरी शीर्षस्थानमा रह्यो । सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलले एक–एक स्वर्ण बाँडे । फागुन १५ देखि सुरु भएको भारोत्तोलनमा पाँच नयाँ राष्ट्रिय कीर्तिमान बने । सबै कीर्तिमान महिला खेलाडीले रचे ।
अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित
यसैबीच, दक्षिण एसियाली खेलकुदको भारोत्तोलनका पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ । दस पदक विजेता खेलाडीलाई नेपाल भारोत्तोलन सङ्घले सम्मान ग¥यो । सम्मानित हुनेमा ज्योति पौडेल, सुबोध श्रेष्ठ, कानन चौधरी, जीवन गौतम, सञ्जय महर्जन, रामकुमार श्रेष्ठ, गोपालबहादुर श्रेष्ठ, ज्ञानबहादुर श्रेष्ठ तथा राकेश रन्जित छन् । उनीहरूलाई सभासद् टेकेन्द्र भट्ट तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले ताम्रपत्र प्रदान गरेका थिए ।
त्यस्तै, मरणोपरान्त वरिष्ठ भारोत्तोलक भरत साउदलाई पनि सम्मान गरिएको थियो । भारोत्तोलनका अन्तर्राष्ट्रिय पदक विजेता स्व. साउदका ससुरालाई ताम्रपत्र हस्तान्तरण गरियो । ताम्रपत्रका लागि श्री जगदम्बा इन्डस्ट्रिज प्रालि, बाराले नगद ११ हजार रुपैयाँ प्रायोजन गरेको र नपुग रकम सङ्घले व्यहोरेको प्रमुख भारोत्तोलन प्रशिक्षक तिलक राउतले जनाए ।

प्रतिक्रिया