राष्ट्रिय फुटबललाई एडिडासको साथ

काठमाडौँ, ११ फागुन । खेलकुद सामग्री उत्पादन गर्ने विश्वप्रसिद्ध कम्पनी एडिडासले नेपाली राष्ट्रिय फुटबल टिमलाई प्रायोजन गर्ने भएको छ ।
नेपालका लागि एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसनले राष्ट्रिय फुटबल टिमलाई दुई वर्षका लागि प्रायोजना गरेको छ । यसबापत रुट्स फेसनले नेपाली राष्ट्रिय फुटबल टिमलाई ८० जोर ट्र्याकसुट र दुई सय जोर जर्सी निःशुल्क प्रदान गर्नेछ । जुत्ता र मोजा पैसा तिर्नुपरे पनि भारी छुटमा उपलब्ध हुने जनाइएको छ । बिहीबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र रुट्स फेसनबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । आगामी १ मार्चदेखि लागू हुने उक्त सम्झौतामा एन्फाका तर्फबाट अध्यक्ष गणेश थापा र रुट्स नेपालका प्रबन्धनिर्देशक सञ्जीव तुलाधरले हस्ताक्षर गरे । सम्झौता १४ लाख रुपियाँ बराबरको भएको रुट्स फेसनले जनाएको छ । ‘दुई वर्षसम्म हामीले उपलब्ध गराउने किट्सको मूल्य करिब १४ लाख रुपियाँ हुनेछ’, प्रबन्ध निर्देशक तुलाधरले बताए ।
यो सम्झौतासँगै आगामी दुई वर्षसम्म नेपाली टोलीले खेल्ने सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा एडिडासको जर्सी, जुत्ता र मोजा लगाउनेछ । प्रायोजनपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा यही महिनाको अन्त्यतिर हुन लागेको एएफसी च्यालेन्जकपमा नेपाल सहभागी हुदै छ ।
एन्फा अध्यक्ष थापाले चिया पसलमा जाँदा पनि प्रायोजक खोज्नुपर्ने अहिलेको स्थितिमा एडिडासको सहयोग महत्वपूर्ण भएको बताए । ‘चिया खाना जाँदा पनि हामीलाई प्रायोजककै आशा हुन्छ’, सम्झौतापछि बोल्दै थापाले भने, ‘राष्ट्रिय जर्सी किनेर लगाउनुपर्ने स्थितिमा एडिडासको साथले हामीलाई थप सहज बनाएको छ ।’ नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रायोजकका रूपमा डाबर नेपाल रहेको छ । ‘विदेशमा खेल्दा हाम्रो कुनै निश्चित ब्रान्डको जर्सी थिएन ।’ थापाले भने, ‘अब भने हामीले त्यो स्थिति भोग्नु नपर्ने भएको छ ।

प्रतिक्रिया