बूढीगण्डकीको सम्भाव्यता अध्यन गर्न ६ परामर्शदाता छनोट

भीम गौतम, काठमाडौँ, ९ फागुन । अठ्ठाइस वर्षपछि नेपाल विद्युत प्राधिकरणले बहुचर्चित बूढीगण्डकी जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनका लागि ६ अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गरेको छ ।
चौबिस वटा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त निवेदन प्राप्त भएकामा ६ वटालाई छनोट गरिएको नेपाल विद्युत् प्राधिकरण इन्जिनियरिङ महाशाखाका महाप्रबन्धक उपेन्द्रदेव भट्टले बताए । उनका अनुसार, सरकारले गरेको प्रस्तावना आह्वानमा २४ वटा कम्पनीले डिसेम्बर १९ भित्र आवेदन दिएका थिए ।
छनोटमा ढिलाइ भएको गुनासो आइरहेको बेला केही दिनअघि बसेको प्राधिकरण बोर्ड बैठकले उक्त कम्पनी छनोट गरेको थियो । आवेदन दिएकामध्ये लामेर इन्टरनेसनल जर्मनी, ट्रयाक्क बेल फ्रान्स, यमडब्लुएस अमेरिका, इडिएफ फ्रान्स, इएलसी इटाली तथा संयुक्त कम्पनी स्नेक अस्ट्रेलिया र नोर कन्सल्ट्यान्स युरो रहेका छन् । छनोट भएका सबै कम्पनीलाई मङ्गलबार नै प्राधिकरणले विस्तृत प्रस्ताव माग गर्न चिट्ठी पठाएको छ । उनीहरूलाई ५६ दिनभित्र विस्तृत प्रस्ताव पठाउन भनिएको छ ।
छ कम्पनीबाट प्राप्त हुने विस्तृत प्रस्तावको आधारमा एक कम्पनीलाई छनोट गरेपछि आगामी साउनदेखि अध्ययन सुरु हुने भट्टले जानकारी दिए । एक अर्बको लागतमा हुने सम्भाव्यता अध्ययन आगामी सन् २०१३ को डिसेम्बरमा सकिने र सन् २०१४ भित्र बूढीगण्डकी विद्युत् आयोजना नै सुरु हुने प्राधिकरणको दाबी छ । स्रोतले बताए अनुसार गोर्खा र धादिङको दोसाँधमा रहेको सो आयोजना निर्माणको क्रममा ५० वर्ग किलोमिटर डुबानमा पर्ने र करिब तीन हजार घरलाई विस्थापित गर्नुपर्ने भएकाले बाधाअवरोध आउने सम्भावना छ, तर अवरोध पन्छाउन सके सन् २०२० भित्रै योजना पुरा गर्ने लक्ष्य प्राधिकरणले लिएको छ ।
छ सय मेघावाट क्षमताको सो आयोजना काठमाडाँैबाट सबैभन्दा नजिकको आयोजना हो । पूर्व सम्भाव्यता अध्ययनपछि थन्काएर राखिएको सो आयोजना दुई वर्ष अघिदेखि निर्माण प्रक्रिया सुरु गरिएको थियो । यो नेपालकै सबैभन्दा ठूलो जलाशययुक्त आयोजना हो ।

प्रतिक्रिया