राजकुमारको ह्याट्रिकले एपिएफ स्तब्ध

सौर्य समाचार, बारा, ९ फागुन । सिमरामा सञ्चालित म्याजिक मोमेन्ट तेस्रो सिमरा गोल्डकपअन्तर्गत मङ्गलबार भएको अन्तिम क्वार्टरफाइनलमा आहा गोल्डकप फुटबल प्रतियोगिताको विजेता मनाङ–मस्र्याङ्दी क्लबले राजकुमार घिसिङको ह्याट्रिकको मद्दतले सशस्त्र प्रहरीको एपिएफ फुटबल टिमलाई एकका विरुद्ध पाँच गोलले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेल सुरु भएको आठौँ मिनेटमा नै मनाङका कप्तान शिव श्रेष्ठको पासलाई सदुपयोग गर्दै राजकुमार घिसिङले पहिलो गोल गरी टिमलाई अग्रता दिलाएका थिए । पहिलो गोल गरेको चार मिनेट पनि बित्न नपाउँदै घिसिङले नै पुनः गोल गरेका थिए ।
एपिएफका अर्जुन सुब्बाले डि–बक्सबाहिरबाट प्रहार गरेको फ्री किक पोस्टबारमा लागी फर्केको बललाई नारायण कटुवालले हेडमार्पmत् आफ्नो टिमका लागि सुरुआती गोल गरेका थिए । उत्तरार्धको १८ औँ मिनेटमा मनाङका कप्तान शिव श्रेष्ठले थप एक गोल र त्यसलगत्तै बुद्ध चेम्जोङले गोल गरेपछि मनाङको पाँच गोल पुगेको थियो । ह्याट्रिक गर्ने घिसिङ म्यान अफ दि म्याच पनि भए ।
मनाङका प्रशिक्षक हरिओम श्रेष्ठले आहा गोल्डकप पनि भर्खर जितेको र यहाँ पनि प्रतियोगिता जित्ने उद्देश्यका साथ आएकाले आफ्नो टिमले जित्ने दाबी गरे ।
एपिएफका प्रशिक्षक जनक सिंहले निर्णायकको गलत निर्णयका कारण गोल खाएपछि खेलाडीमा निराशा छाएकाले हार बेहोर्नुपरेको बताए । मनाङले गरेको दोस्रो गोल विवादास्पद रहेकोमा एपिएफका प्रशिक्षकले आपत्ति जनाएका थिए । बुधबार पोखराको सहारा क्लब र काठमाण्डौँको यति हिमालयन शेर्पाबीच पहिलो सेमिफाइनल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया