खेलकुदबारे प्रजिअमार्फात प्रमलाई ज्ञापन

दीपक ओली, कैलाली, ९ फागुन । यही १४ देखि २१ फागुनसम्म सुदूरपश्चिममा हुने छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि धनगढीमा निर्माण भएका भौतिक संरचना तथा अरू कार्यक्रमको विवरण आयोजकले पारदर्शी रूपमा सार्वजनिक नगरेको भन्दै कैलालीमा क्रियाशील राजनीतिक दलहरूले विरोध जनाएका छन् ।
एमाले पार्टी कार्यालय धनगढीमा मङ्गलबार एकीकृत माओवादीबाहेक अन्य १७ राजनीतिक दलको संयुक्त रूपमा बसेको बैठकले प्रेस विज्ञप्ति निकाली त्यसरी विरोध गरेका हुन् । छैटौँ खेल आयोजक सचिवालयका पदाधिकारी तथा राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वले अपारदर्शी र स्वच्छेचारी रूपमा काम गरिरहेको व्यापक जनगुनासो सुन्नु परिरहेको र सञ्चारमाध्यममा समेत तिनै कुरा आइरहेको हुँदा गम्भीर ध्यानाकर्षण भएकाले संयुक्तरूपमा बैठक बसेको एमालेका जिल्ला सचिव दीर्घ सोडारीले बताए ।
सो बैठकले प्रतियोगिताका लागि विनियोजित बजेट सिलिङ सार्वजनिक, तयारी सन्दर्भमा भइरहेको खर्चको विवरण सार्वजनिक, भौतिक संरचनाको गुणस्तर तथा गुरुयोजना अनुसार भए÷नभएको छानबिन हुनुपर्ने, अपारदर्शी रूपमा गठन गरिएका उपसमितिहरूको गठनको आधार स्पष्ट पार्नुपर्ने माग गरेको छ ।
त्यस्तै, प्रतियोगितामा सहभागी खेलाडीलाई सरकारको तर्फबाट दिइने सेवासुविधा सार्वजनिक गरी पाए÷नपाएको अनुगमन हुनुपर्ने र प्रतियोगिताका लागि भनेर सुदूरपश्चिमका जिल्ला विकास समिति, नगरपालिका, गाउँ विकास समिति, विभिन्न सङ्घसंस्थाबाट सङ्कलन गरिएको रकम सार्वजनिक गर्नुपर्ने माग छ ।
उल्लेखित मागको ११ गतेभित्र खेल आयोजक युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद् गम्भीर भई पारदर्शी रूपमा प्रस्तुत हुन नसके त्यसबाट विकसित हुने घटना क्रमको जिम्मेवारी र जवाफदेही ती दुई निकाय स्वयम् हुनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिले संयुक्त रूपमा कैलालीका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयमार्फत प्रधानमन्त्रीको कार्यालय र युवा तथा खेलकुद मन्त्रालयलाई खेलकुदमा भइरहेको वास्तविक कुरा सार्वजनिक गर्न भनेर ज्ञापनपत्र पनि बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ बजिमयले आजै सम्बन्धित निकायमा पत्र पठाउने र उताको निर्देशनबमोजिम अघि बढ्ने बताए ।

छानबिन गर्न सात सदस्यीय समिति गठन
सोही बैठकले हालसम्म भएका सम्पूर्ण कुराको छानबिन गर्न नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा कैलाली जिल्ला भलिबल सङ्घका अध्यक्ष नारायणदत्त भट्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिका अन्य पदाधिकारीमा एमालेका रणबहादुर चन्द, तमलोपाका राजीव गुप्ता, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय थरूहटका सन्तोष चौधरी, राष्ट्रिय जनमोर्चाका राजबहादुर सिंह, सद्भावना (आनन्दी) की निर्मला रिजाल र जनमोर्चा नेपालकी मीना पाण्डे छन् ।
यो समितिले मङ्गलबारबाटै स्थलगत रूपमा भौतिक संरचना र अन्य कामको विवरण लिने छानबिन समितिका संयोजक भट्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया