मध्यमाञ्चल र पुलिसकै वर्चस्व


धनगढी, १५ फागुन । बिग्रिएको मैदान र खराब ट्र्याकले प्रभावित छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनका एथलेटिक्स स्पर्धाहरू इन्जुरी प्रभावित भएका छन् । दोस्रो दिन एक सय मिटर रिलेको हिटमा चन्द्रकला थापाको बायाँ गोडाको ह्यामस्ट्रिङको चोट फेरि बल्झिएको छ । उनले एक सय र दुई सय मिटर दौडका साथै चारगुणा सय मिटर रिलेको स्पर्धा पनि गुमाउने भएकी छन् ।
यसैगरी, तिलकराम थारूले चारगुणा सय मिटर रिले नखेल्ने भएका छन् भने केशरी चौधरीले पनि सो रिलेमा सहभागिता नजनाउने भएकी छन् । उनले पनि चार स्पर्धामा मात्र सहभागिता जनाउनेछिन् । घाइते खेलाडीको सूचीमा पश्चिमाञ्चलकी महिला भलिबल खेलाडी परीक्षा गुरुङ पनि छिन् । मध्यमाञ्चलसँगको खेलको क्रममा गोडामा चोट लागेपछि उनलाई सात टाँका लगाइएको छ र उनले पनि प्रतियोगिताका बाँकी खेल नखेल्ने निश्चित भएको छ ।
दोस्रो दिनको एथलेटिक्समा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै प्रभाव रह्यो । एक हजार पाँच सय मिटर पुरुष स्पर्धामा नेपाल पुलिसका सिद्धान्त अधिकारी चार मिनेट ०३.२० सेकेन्डका साथ पहिलो भए । उनी पहिलोपटक सो स्पर्धामा सहभागी भएका हुन् । उनले यसअघि सहभागिता जनाउँदै आएको चार सय मिटर दौडमा यसपटक पनि सहभागिता जनाउनेछन् । सो स्पर्धामा सशस्त्र प्रहरीका लक्ष्मण मल्ल ठकुरी चार मिनेट १४.२० सेकेन्ड समयका साथ दोस्रो तथा सोही टोलीका आशनारायण चौधरी चार मिनेट  १६.६० सेकेन्ड समयका साथ तेस्रो भए । महिला एक हजार पाँच सय मिटर दौडमा सशस्त्र प्रहरीकी वृन्दा श्रेष्ठ देशार पाँच मिनेट ०५.०० सेकेन्ड समयका साथ स्वर्ण जित्न सफल भइन् । पश्चिमाञ्चलकी लक्ष्मी पाण्डे पाँच मिनेट ०९.७० सेकेन्ड समयका साथ दोस्रो तथा सशस्त्र प्रहरीकी गीता खत्री पाँच मिनेट १२.३० सेकेन्ड समयका साथ तेस्रो भइन् । महिला हाइजम्पमा नेपाल पुलिसकी केशरी चौधरी १.४३ मिटर उफ्रँदै स्वर्णपदक जित्न सफल भइन् । पश्चिमाञ्चलकी प्रभा चौधरी १.४० मिटर उफ्रँदै दोस्रो तथा सशस्त्र प्रहरीकी शीला चौधरी १.३५ मिटर उफ्रँदै तेस्रो भइन् ।
केशरीको तीन राष्ट्रिय च्याम्पियनसिपमा सो नवौँ स्वर्णपदक हो । ०६२ मा ३५ औँ राष्ट्रिय च्याम्पियनसिपमा मध्यपश्चिमाञ्चलको तर्फबाट सहभागिता जनाउँदै उनले तीन स्वर्ण जितेकी थिइन् । ०६५ को राष्ट्रिय खेलकुदमा उनले पुलिसको तर्फबाट सहभागिता जनाउँदै पाँच स्वर्ण जितेकी थिइन् । दस हजार मिटर पुरुष दौडमा सशस्त्रका अर्जुनप्रसाद ढकाल सशस्त्र प्रहरी ३२ मिनेट ४१.०८ सेकेन्ड समयमा साथ पहिलो, पुलिसका भूमिराज राई ३३ मिनेट १२.०३ सेकेन्ड समयका साथ दोस्रो र सशस्त्रका विकास देसार ३३ मिनेट ३०.०३ सेकेन्ड समयका साथ तेस्रो भए । पुरुष हाइजम्पका सशस्त्र प्रहरीका बालकृष्ण चौधरी १.७५ मिटर उफ्रेर पहिला, पुलिसका धीरेन्द्र चौधरी १.७३ मिटर उफ्रेर दोस्रो तथा मध्माञ्चलका खेमराज चौधरी १.६१ मिटर उफ्रेर तेस्रो भए ।
महिला ज्याभ्लिन थ्रोमा पिएलएकी सीता शाही ३४.९३ मिटर फ्याँकेर पहिलो, सशस्त्रकी अमृता महतो ३२.८३ मिटरका साथ दोस्रो तथा पश्चिमाञ्चलकी अञ्जु चौधरी ३२.१७ मिटरका साथ तेस्रो भए । पुरुष स्पर्धामा पुलिसका नरेन्द्रजङ्ग शाह ५६.९० मिटरका साथ पहिलो, सशस्त्रका बालकृष्ण चौधरी ५२.४५ मिटरका साथ दोस्रो भए ।
भारोत्तोलन, कविता, देवी, मनोज र विकासलाई स्वर्ण
भारोत्तोलनको महिला ५३ किलो तौल समूहमा पूर्वाञ्चलकी कविता चौधरी एक सय तीन किलो वजन उठाउँदै स्वर्णपदक जित्न सफल भइन् । सोही स्पर्धामा पुलिसकी आशा चौधरी ९७ किलोसहित दोस्रो तथा पश्चिमाञ्चलकी टीकामाया थापा ८४ किलो तौल उठाउँदै तेस्रो भइन् ।
५३ किलो तौल समूहमा पुलिसकी देवी चौधरी एक सय ३१ किलो उठाउँदै स्वर्ण जित्न सफल भइन् । उनले क्लिन एन्ड जर्कमा ७६ किलो उठाउँदै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् । तीन वर्षअघि सो कीर्तिमान उनकै नाममा रहेको थियो । देवीले दुवै स्न्याचमा स्वर्णपदकको आशा गरे पनि हातको ब्यालेन्स नमिलेका कारण सफल नभएको बताइन् । सो स्पर्धामा एक सय किलो वजन उठाउँदै मध्यमाञ्चलकी नीता चौधरी दोस्रो भइन् ।
पुरुषतर्फको ५६ किलो समूहमा मध्यमाञ्चलका मनोज यादवले स्न्याचतर्फ ७८ र क्लिन एन्ड जर्कतर्फ ९५ किलो उचाल्दैै कुल एक सय ७३ अङ्कका सार्थ स्वर्णपदक जिते । पुलिसका लक्ष्मण रञ्जितले कुल एक सय ६९ किलोका साथ रजत र सुदूर पश्चिमाञ्चलका सिपकनारायणले एक सय ६४ किलो उचाल्दै कास्यपदक जिते । ६२ किलो स्पर्धामा नेपाल पुलिसका विकास थापाले एक सय सात स्न्याचतर्फ र एक सय २७ क्लिन एन्ड जर्कतर्फ उचाल्दै स्वर्ण जिते । सुदूर पश्चिमाञ्चलका रविलाल चौधरीले ७५ र ९५ किलो उचाल्दै रजत र पिएलएका पुनु तन्डुकारले ७५ र ९० किलो उचाल्दै कास्यपदक जिते ।

ब्याडमिन्टनमा एपिएफ
ब्याडमिन्टनका दुवै टिम स्पर्धामा एपिएफको प्रभाव रह्यो । सशस्त्र प्रहरीले पुलिससँगको प्रतिस्पर्धात्मक खेलमा ३–१ को जीतसहित पुरुष टिम स्पर्धाको स्वर्णपदक जितेको हो । सो स्पर्धामा मध्यमाञ्चल तथा सुदूर पश्चिमाञ्चलले कास्यपदक जिते । महिला टिम स्पर्धामा पनि एपिएफले स्वर्णपदक जित्यो । एपिएफले पश्चिमाञ्चललाई २–० ले हराउँदै स्वर्णपदक जितेको हो । सुदूरपश्चिम र पूर्वाञ्चलले कास्यपदक जिते ।

कराते, कातामा पिएलएकी विमलालाई स्वर्ण
करातेको पुरुषको एकल कातामा मध्यमाञ्चलका परशुराम बास्तोलाले स्वर्ण जिते । सो स्पर्धामा पुलिसका गणेश थिङले रजत तथा पूर्वाञ्चलका अभिषेक मगर र मध्यपश्चिमका दीपक विकले कास्यपदक जिते । महिला एकल कातामा मध्यमाञ्चलकी सुभद्रा श्रेष्ठको लामो समयको एकछत्र राजलाई चिर्दै पिएलएकी विमला तामाङले स्वर्ण जितिन् । उनले सुभद्रालाई सेमिफाइनलमा नै पराजित गरेकी हुन् । फाइनलमा विमलाले पुलिसकी चञ्चल दनुवारलाई पराजित गरिन् । सुभद्रा र पूर्वाञ्चलकी सुस्मिता निरौलाले कास्यपदक जिते ।

महिला कबड्डी र भलिबल
महिला कबड्डी खेलमा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ५०–२४ ले पराजित ग¥यो । नेपाल प्रहरीले पश्चिमाञ्चलसँग ६३–९ को जीत हात पा¥यो । भलिबलको पहिलो दिनको खेलमा पुरुषतर्फ नेपाल पुलिसले मध्यमाञ्चललाई ३–० र  एपिएफले पश्चिमाञ्चललाई ३–० ले पराजितगर्यो । यसैगरी, महिलातर्फ नेपाल पुलिस क्लबले सुदूरपश्चिमलाई ३–० ले  र पश्चिमाञ्चललाई ३–१ ले पराजित गर्यो ।

प्रतिक्रिया