तेश्रो सिमरा कप मनाङलाई

बारा , १३ फागुन । आहागोल्डकप विजेता मनाङ मस्र्याङगदी फुटबल क्लबले तेश्रो सिमरा गोल्डकप फुटबलको उपाधी पनि हात पार्न सफल भएको छ । शनिबार बाराको सिमरामा भएको फाइनल खेलमा सहारा क्लब पोखरालाइ हराउदै मनाङले उपाधी जितेको हो ।
मनाङले साहरालाइ शुन्यका विरुद्ध एक  गोलले पराजित गरेको हो । दोश्रो हाफको ३६ औं मिनेटमा मनाङका जर्सी नम्बर २१ का खेलाडी शुलभ मास्केले गरेको एक मात्र गोल नै खेलको निर्णायक गोल साबित भयो । जर्सी नम्बर १० का अमीर श्रेष्ठले प्रहार गरेको बललाइ मास्केले हेड गरेर जाली चुमाएका थिए । यसअघि दोश्रो हाफकै ३२ औं मिनेटमा श्रेष्ठले नै प्रहार गरेको बललाइ मास्केले नै हेड गरेर गोल गर्ने कोशीश गरेपनि सफल भएको थिएन ।
तीन तीन जना विदेशी खेलाडी  सहित उत्रिएका दुवै टिमबीचको फाइनल खेल पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक रहेपनि दोश्रो हाफमा भने सहारा माथि मनाङ नै हाबी देखिएको थियो । उपाधीसंगै मनाङले नगद ३ लाख  ३ रुपैया पुरस्कार पाएको छ ।
त्यस्तै उपविजेता सहाराले नगद १ लाख ५० हजार ३ रुपैयामे चित्त बुझाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सहाराका जर्सी नम्बर ७ का बिसन गौचन घोषित भएका छन । उनले नगद १५ हजार ३ रुपैया पुरस्कार पाए ।
उत्कृष्ट खेलाडीको उपाधी भने मनाङका शिव श्रेष्ठले पाएका छन । सर्वाधिक गोलकर्ताको उपाधी प्रतियोगितामा ४ गोल गर्न सफल आरसीटीका अमर डंगोलको पोल्टामा परेको छ । उपाधी विजेता मनाङका प्रशिक्षक हरिओम श्रेष्ठले उपाधी जित्नेमा आफुहरु पहिले देखि नै विश्वस्त रहेकाले सफल भएको बताए । उनले आफना खेलाडीहरुमा आत्म्विश्वास प्रबल रहेको र राम्रो प्रर्दशन गरेका कारण नै उपाधी जित्न सफल भएको बताए । नवजनजागृती युवा क्लबले फागुन २ गते देखि आयोजना गरेको प्रतियोगितामा १२ ओटा टिमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया