सुदूरपश्चिमको आकांक्षा

कैलाली, १३ फागुन । कैलालीमा हुने छैठौ राष्ट्रिय खेलकुदका लागि सबै खेलाडी, प्रशिक्षक, अतिथी तथा निर्णायक आउने क्रम जारी नै छ । धनगढीका प्रायः सबै होटल भरिएका छन् । उद्घाटनका लागि राष्ट्रपति उपस्थित हुने भएका कारण सडक सरसफाइको कामलाई अन्तिम समयमा पनि तिब्रता दिइएको छ । सुरक्षा ब्यवस्था पनि त्यत्तिकै कडा बनाइएको छ ।
धनगढीका चोकचोकमा स्वागत द्वार बनाइएका छन् । दुलही झै सिंगारिएको धनगढीमा मान्छेको चहलपहल अत्यन्त बढ्दो छ । होटल अभावका कारण थुपै्रलाई पूर्व निर्धारित भन्दा फरक होटल तथा निजि र सरकारी गेस्ट हाउसमा राखिएको छ ।
उद्घाटनका लागि सुदूरपश्चिमका झाँकी झल्काउने प्रदर्शन तयारी गरिएको छ । यसका लागि प्रहरी र विद्यार्थी गरी ३ हजारको हाराहारीमा तयार छन् । समारोह व्यवस्थापन समितिका प्रमुख मनु शाहले उद्घाटन भब्य हुने र विगतको झझल्कोलाई समेत विर्साउने बताए । राष्ट्रिय खेलकुदका लागि आवस्यक टर्च ओलम्पियन खेलाडी दीपक विस्टले आइतबार अत्तरियाबाट धनगढी ल्याइ पुर्याउने कार्यक्रम रहेको छ ।
स्थानीय बासीन्दाले सुदूरपश्चिमको गौरवको रुपमा महोत्सबलाई लिएका छन् । स्थानीय ब्यापारी राजिव सिंह भन्छन् आउने अतीथीलाई सेवा सत्कारमा कमी हुन नदिने तथा खेलकुदलाई अबिस्मरणीय बनाउन सके सुदूरपश्चिमको इज्जत बढ्ने बताउछन् । यसैगरी, समाजसेवी कलक खड्का पहिलो पटक ठूलो महोत्सब हुन लागेकोले सुदूरपश्चिमले नै गौरवको महशुष गरेको बताए ।  ‘यो महोत्सब उत्कृष्ट भए यसबाट सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोणमानै फरक हुन सक्ने छ ।’ सुदूरपश्चिमका लागि राष्ट्रिय खेलकुदको आयोजना गर्न पाउनु गर्वको महशुष भएको उनी बताउछन् ।
थुप्र्रै स्थानीयबासी यस महोत्सब पछि खेलकुदमा नयाँ तरङग आउने र पछि यसै क्षेत्रले खेलकुदमा योगदान गर्न सक्ने मत पनि ब्यक्त गर्छन् । पहाडी जिल्ला बझाङबाट खेलकुद प्रतियोगिता हेर्नको लागि धनगढी आइपुगेका सञ्चारकर्मी जगदीस  रोकाया यो महोत्बसका कारण सुदुरपश्चिममा नै खेलकुदको चहलपहल पछि सम्म बढ्ने बताउँछन् । रोकाय जस्तै अन्य  थुप्रै स्थानीय  युवा सुदूरपश्चिमले यो अवसर पाउनुले यस क्षेत्रको खेलकुदलाई नै महत्वपूर्ण परिवर्तन गर्न सक्ने बताउछन् ।
खेल उद्घाटन तथा अन्य व्यवस्थापनको लागि खेलकुद मन्त्री कमला रोका, राखेप सदस्यचिव युवराज लामा र आपूर्ति मन्त्री लेखराज भट्ट लगायतका धनगढी आपुगेका छन् भने अन्य महानुभावहरु आउने क्रम जारी रहेको छ ।

प्रतिक्रिया