छैठौ खेलकुदको काम अन्तिम चरणमा

कैलाली, १२ फागुन । १४ गते धनगढीमा उद्घाटन हुने छैठौं राष्ट्रिय खेलकुद कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा पुगेको छैटौं खेलकुद तयारीको सचिवालयले जनाएको छ ।
खेलकुद प्रतियोगितामा आउनु हुने महानुभावहरुको लागि धनगढी बजार र रङ्गशालालाई सजाउने, स्वागत द्वारा बनाउने काम भइरहेको सचिवालयका संयोजक दीपक साउँदले जानकारी दिए ।
उनले खेलका लागि आवश्यक पर्ने पूर्वाधार र सामाग्रीहरु तयारी हालतमा रहेको र धनगढीमा खेलाडी तथा प्रशिक्षक आउने क्रम जारी रहेको बताए । प्रतियोगिताका लागि आउने खेलाडी, प्रशिक्षक र अतिथिलाई वास र खानपिनका लागि होटल बुक गरिसकेको साउदले जनाएका छन् ।
बस्न अपुग भए सरकारी कार्यालयका गेष्ट हाउसमा व्यवस्था गरिएको खानपिन तथा वसोवास समितिले जनाएको छ । प्रतियोगितामा खेलाडी र प्रशिक्षक गरी दुईहजारको हाराहारीमा उपस्थित हुने खेल आयोजक तयारी सचिवालयले जनाएको छ ।
त्यस्तै प्रतियोगिता भरमा कुनैपनि अवान्चित घटना हुन नपाउँस् भनेर ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको सुरक्षा अधिकारीहरुले बताएका छन् । प्रतियोगितामा खेलाडी, प्रशिक्षक एवम् अन्यको सुरक्षाको लागि सुदूरपश्चिमका पहाडी जिल्लाबाट सुरक्षाकर्मीहरु ल्याइएको र दुई हजारको संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिने सुरक्षा अधिकारीहरुको भनाइ रहेको छ ।
खेलको उद्घाटन राष्ट्रपति डाक्टर रामवरण यादवले गर्नुहुनेछ भने कार्यक्रममा प्रधानमन्त्री, सभामुख, मन्त्री लगायतका विशिष्ट महानुभावहरु उपस्थित हुने छन् । प्रतियोगिता १४ देखि २१ गतेसम्म धनगढी, महेन्द्रनगर, टीकापुर लगायत अन्य क्षेत्रमा सन्चालन हुने छन् ।

प्रतिक्रिया